सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१६

दिनदिनै एकअर्कालाई प्रोत्साहन दिनुहोस्

दिनदिनै एकअर्कालाई प्रोत्साहन दिनुहोस्

“यदि तपाईंहरूसित मानिसहरूका निम्ति प्रोत्साहनका दुई-चार शब्द छन्‌ भने कृपया सुनाउनुहोस्।”—प्रेषित १३:१५.

गीत: १२१, ४५

१, २. प्रोत्साहन दिनु किन आवश्यक छ, बताउनुहोस्।

अठाह्र वर्षीया क्रिस्टिना [१] भन्छिन्‌, “आमाबाबुले मलाई प्रोत्साहन दिनुको सट्टा जहिले पनि मेरो कमीकमजोरी मात्र कोट्टयाउनुहुन्छ। उहाँहरूको कुरा सुन्दा मेरो साह्रै चित्त दुख्छ। यति ठूली भएर पनि कस्तो बच्चाजस्तो, तिमीले त कहिल्यै केही सिकेर खाँदैनौ, मोटी! भनेर गाली गर्नुहुन्छ। उहाँहरूको यस्तो कुरा सुन्दा मलाई रुन मात्र मन लाग्छ र धेरैजसो उहाँहरूसित नबोली बसछु। आफू साह्रै काम नलाग्ने रै’छु जस्तो लाग्छ।” कसैबाट प्रोत्साहन पाएन भने जीवन कत्ति निराशलाग्दो हुन्छ!

अर्कोतर्फ, प्रोत्साहन दिंदा असल काम गर्ने हौसला बढ्‌छ। रूबेन भन्छन्‌, “अयोग्य भावनाविरुद्ध मैले वर्षौंसम्म सङ्‌घर्ष गरें। एक दिनको कुरा हो, म एक जना एल्डरसित प्रचार गरिरहेको थिएँ। त्यो दिन म निराश भएको कुरा उहाँले चाल पाउनुभयो। मैले आफ्नो भावना व्यक्त गर्दा उहाँले सहानुभूति देखाउँदै ध्यान दिएर सुन्नुभयो। त्यसपछि मैले गरेका असल कुराहरूबारे उहाँले मलाई सम्झाउनुभयो। हामी थुप्रै भँगेराभन्दा बहुमूल्य छौं भन्ने येशूका शब्दहरूबारे पनि सम्झाउनुभयो। म बेलाबेलामा त्यो पद सम्झिने गर्छु र अहिले पनि त्यस पदले मेरो मन छुन्छ। ती एल्डरका शब्दहरूले मेरो जीवनमा धेरै ठूलो फरक पाऱ्यो।”—मत्ती १०:३१.

३. (क) प्रोत्साहन दिने विषयमा प्रेषित पावलले के भने? (ख) यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

 नियमित रूपमा प्रोत्साहन देऊ भनी बाइबलले जोड दिएकोमा हामी अचम्म मान्दैनौं। प्रेषित पावलले हिब्रू ख्रीष्टियनहरूलाई यस्तो लेखे: “ए भाइहरू हो, होसियार रहो, नत्र त जीवित परमेश्वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको मन विश्वासरहित र दुष्ट होला। बरु . . . दिनदिनै एक-अर्कालाई अर्ती दिंदै बलियो बनाओ, नत्र त पापको भ्रामक शक्तिले गर्दा तिमीहरूमध्ये कोही-कोही कठोर हुनेछौ।” (हिब्रू ३:१२, १३) यहाँ “अर्ती” भनेर अनुवाद गरिएको मूल भाषाको शब्दले “प्रोत्साहन” भन्ने अर्थ पनि दिन्छ। अरूले दिएको प्रोत्साहनले गर्दा तपाईंले धेरै हौसला पाउनुभएको छ होला! त्यो कुरा विचार गर्नुभयो भने अरूलाई प्रोत्साहन देऊ भन्ने सल्लाह पालन गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर तपाईं बुझ्न सक्नुहुन्छ। अब आउनुहोस्, यी प्रश्नहरू विचार गरौं: प्रोत्साहन दिनु किन महत्त्वपूर्ण छ? यहोवा, येशू र पावलले अरूलाई प्रोत्साहन दिनुभएको तरिकाबाट हामी के सिक्न सक्छौं? अनि कस्तो प्रोत्साहन प्रभावकारी हुन्छ?

सबैलाई प्रोत्साहन चाहिन्छ

४. प्रोत्साहन कसलाई चाहिन्छ, तर आजकल धेरैजसोले एकअर्कालाई किन प्रोत्साहन दिंदैनन्‌?

हामी सबैलाई प्रोत्साहन चाहिन्छ। हुर्कंदै गरेका बच्चाहरूलाई त प्रोत्साहन झनै चाहिन्छ। शिक्षक तिमोथी इभान्स् भन्छन्‌, “बिरुवाहरूलाई पानी चाहिएजस्तै बच्चाहरूलाई प्रोत्साहन चाहिन्छ। प्रोत्साहन पाउँदा बच्चाले अरूले आफ्नो मोल र कदर गरेको महसुस गर्छ।” अहिले हामी असाध्यै कठिन समयमा बाँचिरहेका छौं। मानिसहरू आफैलाई मात्र प्रेम गर्छन्‌, स्वाभाविक स्नेह देखाउँदैनन्‌ र एकअर्कालाई प्रोत्साहन दिंदैनन्‌। (२ तिमो. ३:१-५) कुनै-कुनै आमाबाबुले आफ्ना छोराछोरीको प्रशंसा गर्दैनन्‌, किनभने सानो छँदा उनीहरू आफैले पनि आफ्ना आमाबाबुबाट कहिल्यै प्रोत्साहन पाएनन्‌। साथै काम गर्ने ठाँउमा पनि धेरै जसो कामदारहरूको प्रशंसा गरिंदैन। त्यसैले उनीहरू अरूबाट कहिल्यै प्रोत्साहन नपाएको गुनासो गर्छन्‌।

५. प्रोत्साहन दिनु भनेको के हो?

प्रोत्साहन दिनु भनेको अरूले गरेको राम्रो कामको प्रशंसा गर्नु हो। साथै, तिनीहरूसित भएका राम्रा गुणहरूबारे विश्वस्त पार्नु अथवा ‘निराश भएकाहरूलाई सान्त्वनादायी कुरा गर्नु’ पनि हो। (१ थिस्स. ५:१४) अक्सर “प्रोत्साहन” भनी अनुवाद गरिने ग्रीक शब्दको शाब्दिक अर्थ “कसैलाई आफ्नो छेउमा बोलाउनु” हो। ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित मिलेर यहोवाको सेवा गर्दा हामी प्रोत्साहनका दुई-चार शब्द बोल्ने मौका पाउँछौं। (उपदेशक ४:९, १० पढ्‌नुहोस्) हामी तिनीहरूलाई किन माया गर्छौं र कदर गर्छौं भनेर के हामी मौका पाउनेबित्तिकै बताउँछौं? यस प्रश्नको जवाफ दिनुअघि बाइबलको यो कुरा विचार गर्नु राम्रो हो: “ठीक बेलामा भनिएको कुरा झन्‌ कति असल हुन्छ।”—हितो. १५:२३.

६. दियाबल किन हामीलाई निराश बनाउन चाहन्छ? उदाहरण दिनुहोस्।

सैतान अर्थात्‌ दियाबल हामीलाई निराश बनाउन चाहन्छ, किनभने निराशाले हामीलाई आध्यात्मिक रूपमा र अन्य तरिकामा कमजोर बनाउँछ भनेर त्यसलाई थाहा छ। हितोपदेश २४:१० भन्छ: “सुदिनमा तेरो बल घट्‌यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कत्ति असहाय हुनेछस्।” सैतानले विपत्ति र आरोपलाई एकैसाथ चलाएर असल मानिस अय्यूबलाई निराश बनाउन खोज्यो, तर त्यसको दुष्ट चाल विफल भयो। (अय्यू. २:३; २२:३; २७:५) आफ्नो परिवार र मण्डलीका सदस्यहरूलाई प्रोत्साहन दिइरह्यौं भने हामी दियाबलको चालविरुद्ध लड्‌न सक्छौं। यसो गर्दा हामी आफ्नो घर र राज्यभवनमा आनन्दित भई बस्न सक्नेछौं र सुरक्षित महसुस गर्नेछौं।

प्रोत्साहन दिने सन्दर्भमा बाइबलमा पाइने उदाहरणहरू

७, ८. (क) प्रोत्साहन दिनुलाई यहोवा महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर देखाउने कस्ता उदाहरणहरू बाइबलमा पाउँछौं? (ख) यहोवाको उदाहरण अनुकरण गर्न आमाबाबुले के गर्न सक्छन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

यहोवा। भजनहारले यसरी गाए: “चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश  भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।” (भज. ३४:१८, NRV) यर्मिया डराएको र निराश भएको बेला यहोवाले ती वफादार भविष्यवक्ताको आत्मबल बढाउनुभयो। (यर्मि. १:६-१०) वृद्ध भविष्यवक्ता दानियललाई बल दिन परमेश्वरले एक जना स्वर्गदूत पठाउँदा तिनी कत्ति प्रोत्साहित भए होलान्‌, कल्पना गर्नुहोस् त! त्यस स्वर्गदूतले तिनलाई “अति प्रिय मानिस” अर्थात्‌ “अति सम्मान गरिएका मानिस” भने। (दानि. १०:८, ११, १८, १९) त्यसरी नै के तपाईं पनि प्रकाशकहरू, अग्रगामीहरू र बल घट्‌दै गएका वृद्ध साक्षीहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ?

यहोवाले आफ्नो प्यारो छोरा येशूसँग युगौंयुगसम्म काम गरिसक्नुभएको थियो। त्यसैले पृथ्वीमा छँदा येशूलाई प्रशंसा गर्नु र प्रोत्साहन दिनु आवश्यक छैन भनेर यहोवाले कहिल्यै सोच्नुभएन। आफ्नो बुबाले स्वर्गबाट दुई पटक यसो भन्नुभएको येशूले सुन्नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्न छु।” (मत्ती ३:१७; १७:५) यसरी परमेश्वरले येशूको प्रशंसा गर्नुभयो र उहाँले राम्रो गर्दै हुनुहुन्छ भनेर विश्वस्त पार्नुभयो। पृथ्वीमा आफ्नो सेवाको सुरुमा र आफ्नो जीवनको अन्ततिर येशूले यी शब्दहरू दुई पटक सुन्न पाउँदा कत्ति प्रोत्साहित हुनुभयो होला। आफ्नो मृत्युको अघिल्लो रात येशूलाई असह्य पीडा भइरहेको बेला उहाँलाई बलियो बनाउन यहोवाले स्वर्गदूत पठाउनुभयो। (लूका २२:४३) हामी आमाबाबु हौं भने आफ्ना छोराछोरीलाई नियमित तवरमा प्रोत्साहन दिएर र छोराछोरीले राम्रो काम गर्दा तिनीहरूको प्रशंसा गरेर यहोवाको उदाहरण पछ्याऔं। साथै, तिनीहरूले स्कुलमा दिनदिनै विश्वासको परीक्षा सामना गरिरहेका छन्‌ भने तिनीहरूलाई अझ धेरै हौसला दिनु आवश्यक छ।

९. येशूले आफ्ना चेलाहरूसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौं?

येशू। येशूले स्मरणार्थको सुरुवात गर्नुभएको रात आफ्ना चेलाहरूमा एउटा दुर्गुण देख्नुभयो। त्यो थियो, घमन्ड। येशूले नम्र भई तिनीहरूको खुट्टा धोइदिनुभयो, तर चेलाहरू भने आफूहरूमध्ये को ठूलो भनेर वादविवाद गरिरहेका थिए। पत्रुसले चाहिं आफू अति विश्वस्त भएको कुरा देखाइरहेका थिए। (लूका २२:२४, ३३, ३४) तैपनि, वफादार चेलाहरूले परीक्षाको बेला येशूलाई साथ दिएकोमा उहाँले तिनीहरूको प्रशंसा गर्नुभयो। चेलाहरूले आफूले भन्दा अझ ठूला-ठूला काम गर्नेछन्‌ भनेर येशूले भविष्यवाणी गर्नुभयो र परमेश्वरले माया गर्नुहुन्छ भनेर तिनीहरूलाई विश्वस्त पार्नुभयो। (लूका २२:२८; यूह. १४:१२; १६:२७) हामी आफैलाई सोध्न सक्छौं, ‘आफ्ना छोराछोरी र अरूको कमीकमजोरीमा ध्यान दिनुको सट्टा तिनीहरूले गरेको राम्रो कामको प्रशंसा गरेर के मैले येशूको उदाहरणको अनुकरण गर्नु पर्दैन र?’

१०, ११. अरूलाई प्रोत्साहन दिनु महत्त्वपूर्ण ठानेको कुरा प्रेषित पावलले कसरी देखाए?

१० प्रेषित पावल। पावलले आफ्नो पत्रमा सङ्‌गी ख्रीष्टियनहरूबारे धेरै राम्रा कुराहरू लेखेका छन्‌। तिनीहरूमध्ये केहीसित त तिनले यात्राको क्रममा वर्षौं सँगै बिताएका थिए। त्यसैले पावललाई तिनीहरूको कमीकमजोरी थाहा थियो। तर पनि तिनले तिनीहरूको विषयमा राम्रा कुराहरू बताए। पावलले तिमोथीलाई “प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा” भने, जसले सङ्‌गी ख्रीष्टियनहरूको साँचो चासो राख्ने थिए। (१ कोरि. ४:१७; फिलि. २:१९, २०) प्रेषित पावलले तीतसको तारिफ गर्दै कोरिन्थको मण्डलीलाई यस्तो लेखे: “तिनी मजस्तै तिमीहरूको भलाइको लागि काम गर्ने मेरा सहकर्मी हुन्‌।” (२ कोरि. ८:२३) आफूबारे पावलले के सोच्छन्‌ भनेर थाहा पाउँदा तिमोथी र तीतस कत्ति प्रोत्साहित भए होलान्‌!

११ पावल र बर्णाबासले कतिपय ठाउँमा भीषण आक्रमण सहेका थिए। तैपनि तिनीहरू आफ्नो ज्यानको खतरा मोलेर ती ठाउँहरूमा फर्किए। जस्तै: पावल र बर्णाबासले लिस्त्रामा कठोर विरोधको सामना गर्नुपरे तापनि त्यहाँका नयाँ चेलाहरूलाई विश्वासमा रहिरहने प्रोत्साहन दिन लिस्त्रा गए। (प्रेषि. १४:१९-२२) एफिससमा पावलले आक्रोशित भीडको सामना गर्नुपऱ्यो। प्रेषित २०:१, २ भन्छ: “हूलदङ्‌गा थामिएपछि पावलले चेलाहरूलाई बोलाएर प्रोत्साहन दिए अनि उनीहरूसित बिदाबारी भएपछि तिनी म्यासिडोनियाको यात्रामा निस्के। त्यस ठाउँको चारैतिर गई त्यहाँका चेलाहरूसित धेरै कुरा गरेर उनीहरूलाई प्रोत्साहन दिएपछि तिनी ग्रीस पुगे।” अरूलाई  प्रोत्साहन दिनु पावल असाध्यै महत्त्वपूर्ण ठान्थे।

एकअर्कालाई प्रोत्साहन देऔं

१२. एकअर्कालाई प्रोत्साहन दिन सभाहरूले कस्तो भूमिका खेल्छ?

१२ स्वर्गमा बस्नुहुने बुबाले हाम्रो लागि सभाहरूको मायालु प्रबन्ध गरिदिनुभएको छ। त्यसैले हामी नियमित रूपमा सभाहरूमा भेला भएर एकअर्कालाई प्रोत्साहन दिएको उहाँ चाहनुहुन्छ। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्) येशूका सुरु-सुरुका चेलाहरूजस्तै हामी पनि यहोवाबारे सिक्न र एकअर्कालाई प्रोत्साहन दिन एक ठाउँमा भेला हुन्छौं। (१ कोरि. १४:३१) यस लेखको सुरुतिर उल्लेख गरिएकी क्रिस्टिना भन्छिन्‌: “सभाहरूबारे मलाई सबैभन्दा मन पर्ने कुरा भनेको त्यहाँ पाइने माया र प्रोत्साहन हो। राज्यभवन पुग्दा म कहिलेकाहीं निराश भइरहेकी हुन्छु। तर दिदीबहिनीहरू मलाई अङ्‌गालो हाल्दै यसो भन्नुहुन्छ, ‘तिमी कत्ति राम्री देखिएकी छ्यौ। हामी तिमीलाई माया गर्छौं र तिम्रो आध्यात्मिक प्रगति देख्दा खुसी छौं।’ उहाँहरूको प्रोत्साहन सुन्दा मेरो मन हलुका हुन्छ।” त्यसैले हामी प्रत्येकले “एकअर्कालाई प्रोत्साहन” दिनु कत्ति महत्त्वपूर्ण छ!—रोमी १:११, १२.

१३. लामो समयदेखि यहोवाको सेवा गरिरहेकाहरूलाई समेत किन प्रोत्साहन चाहिन्छ?

१३ लामो समयदेखि यहोवाको सेवा गरिरहेकाहरूलाई समेत प्रोत्साहन चाहिन्छ। यहोशूको उदाहरण विचार गर्नुहोस्। तिनले वर्षौंदेखि वफादार भई यहोवाको सेवा गरिरहेका थिए। तैपनि तिनलाई प्रोत्साहन दिन यहोवाले मोशालाई यसो भन्नुभयो: “यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्यो चाहिं यी मानिसहरूका अगुवा भएर जानेछ, र त्यसले नै तिनीहरूलाई तैंले देखेको त्यस देशको अधिकारी बनाउनेछ।” (व्यव. ३:२७, २८) प्रतिज्ञा गरिएको देशमाथि अधिकार गर्ने ठूलो जिम्मा यहोशूले पाएका थिए र तिनले नै इस्राएलीहरूलाई त्यहाँसम्म डोऱ्याउनु पर्ने थियो। त्यहाँसम्म पुग्न तिनले अनेकन्‌ बाधाअडचन भोग्नुपर्ने र एकपटक युद्धमा हारसमेत बेहोर्नुपर्ने थियो। (यहो. ७:१-९) यसकारण यहोशूलाई साँच्चै प्रोत्साहन र हौसला चाहिएको थियो भन्न सक्छौं। त्यसरी नै, परमेश्वरको बगालको हेरचाह गर्न कडा परिश्रम गरिरहेका एल्डर र क्षेत्रीय निरीक्षकहरूलाई हामी पनि प्रोत्साहन देऔं। (१ थिस्सलोनिकी ५:१२, १३ पढ्‌नुहोस्) एक जना क्षेत्रीय निरीक्षकले यसो भने, “हाम्रा दाजुभाइ दिदीबहिनीले भ्रमणबाट लाभ उठाएको कुरा व्यक्त गर्न धन्यवादको पत्र लेख्नुहुन्छ। हामी ती पत्रहरू राखिराख्छौं र निराश भएको बेला पढ्‌ने गर्छौं। त्यसबाट साँच्चै प्रोत्साहन पाउँछौं।”

छोराछोरीलाई मायालु तरिकामा प्रोत्साहन दियौं भने तिनीहरू फस्टाउनेछन्‌ (अनुच्छेद १४ हेर्नुहोस्)

१४. सल्लाह दिंदा प्रशंसा गर्नु र प्रोत्साहन दिनु प्रभावकारी हुन्छ भनेर कस्ता उदाहरणहरूले देखाउँछ?

१४ बाइबलबाट कुनै सल्लाह दिनु पर्दा उक्त व्यक्तिले त्यो सल्लाह लागू गरेको चाहन्छौं भने प्रशंसा गर्नु र प्रोत्साहन दिनु प्रभावकारी भएको कुरा एल्डर र आमाबाबुहरूले महसुस गरेका छन्‌। कोरिन्थका भाइबहिनीहरूले पावलको सल्लाह लागू गरेकोमा तिनले उनीहरूको प्रशंसा गरे। यस्तो प्रशंसा पाउँदा सही कुरा गरिरहन उनीहरू अझ प्रोत्साहित भएको हुनुपर्छ।  (२ कोरि. ७:८-११) दुई छोराछोरीका बुबा आन्ड्रियास भन्छन्‌: “प्रोत्साहन दिंदा छोराछोरी आध्यात्मिक र भावनात्मक रूपमा बलियो हुँदै जान्छन्‌। साथै, प्रोत्साहन दिंदा उनीहरू सल्लाह लागू गर्न उत्सुक हुन्छन्‌। हुन त हाम्रा छोराछोरीलाई सही के हो भनेर थाह छ। तर प्रोत्साहन दिइरह्यौं भने थाह भएको कुरा गर्ने उनीहरूको बानी नै बस्छ।”

कस्तो प्रोत्साहन प्रभावकारी हुन्छ?

१५. अरूलाई प्रोत्साहन दिने एउटा तरिका के हो?

१५ हाम्रा सङ्‌गी विश्वासीहरूको प्रयास र तिनीहरूका असल गुणहरूको कदर गर्नुहोस्। (२ इति. १६:९; अय्यू. १:८) हामी प्रत्येकको परिस्थिति फरक भएको हुँदा आफूले गर्न सक्ने प्रयास र दिन सक्ने कुरा पनि एकैनासे हुँदैन। तैपनि हामीले परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई समर्थन गर्न जे-जति गर्छौं, त्यसको यहोवा र येशू एकदमै कदर गर्नुहुन्छ। (लूका २१:१-४; २ कोरिन्थी ८:१२ पढ्‌नुहोस्) उदाहरणको लागि, हाम्रा केही प्यारा वृद्ध साक्षीहरूलाई नियमित तवरमा सभा धाउन र प्रचारकार्यमा भाग लिन सजिलो छैन। के हामीले तिनीहरूको प्रशंसा गर्नु अनि तिनीहरूलाई प्रोत्साहन दिनु पर्दैन र?

१६. अरूलाई प्रोत्साहन दिनदेखि हामी किन कहिल्यै पछि हट्‌नु हुँदैन?

१६ अरूलाई प्रोत्साहन दिन मौका खोज्नुहोस्। कसैले केही प्रशंसायोग्य कुरा गरेको देख्यौं भने किन चुपो लागेर बस्ने? पावल र बर्णाबास पिसिदियाको एन्टिओकमा छँदा के भएको थियो, विचार गर्नुहोस्। सभाघरका पदाधिकारीहरूले तिनीहरूलाई यसो भने: “भाइहरू हो, यदि तपाईंहरूसित मानिसहरूका निम्ति प्रोत्साहनका दुई-चार शब्द छन्‌ भने कृपया सुनाउनुहोस्।” त्यसपछि पावलले तिनीहरूलाई एउटा प्रोत्साहनदायी भाषण दिए। (प्रेषि. १३:१३-१६, ४२-४४) यदि हामी प्रोत्साहनका दुई-चार शब्द बोल्न सक्छौं भने किन केही नभनी बस्ने? अरूलाई प्रोत्साहन दिने बानी बसाल्यौं भने उनीहरू पनि हामीलाई प्रोत्साहन दिन अग्रसर हुनेछन्‌।—लूका ६:३८.

१७. कस्तो किसिमको प्रशंसाले ठूलो फरक पार्छ?

१७ साँचो मनसायले तोकेरै प्रशंसा गर्नुहोस्। अरूलाई प्रोत्साहन दिनु र प्रशंसा गर्नु राम्रो हो। तर तोकेरै प्रशंसा गर्नु अझ राम्रो हो भनेर येशूले थिआटीराका ख्रीष्टियनहरूलाई भन्नुभएको कुराबाट स्पष्ट हुन्छ। (प्रकाश २:१८, १९ पढ्‌नुहोस्) उदाहरणको लागि, हामी आमाबाबु हौं भने आफ्ना छोराछोरीले गरेका आध्यात्मिक प्रगतिको कुन चाहिं कुरा मन पऱ्यो भनेर तोकेरै तिनीहरूलाई बताउन सक्छौं। एक्ली आमाले गाह्रो परिस्थितिको बाबजुद छोराछोरी हुर्काउन गरिरहेको कस्तो प्रयासले हाम्रो मन छोयो, त्यसबारे तोकेरै प्रशंसा गर्न सक्छौं। यस्तो प्रशंसा र प्रोत्साहनले ठूलो फरक पार्छ!

१८, १९. निराश भएकाहरूको हौसला बढाउन हामी के गर्न सक्छौं?

१८ यहोशूलाई प्रोत्साहन दिन र बलियो बनाउन यहोवाले मोशालाई भन्नुभयो। तर अहिले उहाँ हामी प्रत्येकसित त्यसरी प्रत्यक्ष कुरा गर्नुहुन्न। हामी आफै अग्रसर भएर सङ्‌गी विश्वासी र अरूलाई प्रोत्साहन दिंदा उहाँ खुसी हुनुहुन्छ। (हितो. १९:१७; हिब्रू. १२:१२) उदाहरणको लागि, भाषणद्वारा आफूलाई चाहिएको सल्लाह पाएको वा कुनै शास्त्रपद बुझ्न सकेको कुरा हामी जनवक्तालाई बताउन सक्छौं। जनभाषण दिन आएका वक्तालाई एउटी बहिनीले यस्तो लेखिन्‌: “हुन त हामीले छोटो कुराकानी गरेका थियौं, तर म निराश भएको कुरा बुझेर तपाईंले मलाई सान्त्वना दिनुभयो। त्यसले गर्दा मेरो मन हलुका भयो। तपाईंले मञ्चबाट भाषण दिंदा मात्र होइन, भेटेर कुरा गर्दा पनि मायालु तरिकामा बोल्नुभयो। मेरो लागि त्यो यहोवाले दिनुभएको उपहार थियो।”

१९ पावलले यस्तो सल्लाह दिए: “एकअर्कालाई सान्त्वना दिइरहो अनि एकअर्काको उत्थान गरिरहो; भनौं भने, तिमीहरूले त्यसै गरिरहेका पनि छौ।” (१ थिस्स. ५:११) हामी पावलको यो सल्लाह लागू गर्न कटिबद्ध छौं भने अरूको आध्यात्मिक उत्थान गर्ने थुप्रै तरिका पाउनेछौं। हामी सबैले दिनदिनै एकअर्कालाई प्रोत्साहन दियौं भने यहोवा पक्कै खुसी हुनुहुनेछ!

^ [१] (अनुच्छेद १) केही नाम परिवर्तन गरिएका छन्‌।