अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१६

 जीवनी

“सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”

“सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”

“बप्तिस्मा गऱ्यौ भने म तिमीसित बस्दिनँ!” भनेर बुबाले आमालाई धम्की दिनुभयो। यो सन्‌ १९४१ को कुरा हो। यस्तो धम्कीको बाबजुद आमाले यहोवालाई आफ्नो जीवन समर्पण गर्नुभयो र बप्तिस्मा गर्नुभयो। त्यसपछि बुबा साँच्चै हामीलाई छोडेर जानुभयो। त्यतिखेर म आठ वर्षको मात्र थिएँ।

त्यसअघि नै बाइबलको सत्यमा मेरो चासो जागिसकेको थियो। आमाले बाइबलमा आधारित प्रकाशनहरू पाउनुभएको थियो। मलाई ती प्रकाशनहरू असाध्यै मन पर्थ्यो, विशेषगरि त्यसमा भएका चित्रहरू। आफूले सिकिरहेको कुरा आमा मलाई बताउनुहुन्थ्यो। तर त्यसो गरेको बुबालाई पटक्कै मन पर्दैन थियो। मलाई बाइबलमा चासो थियो। त्यसैले आमालाई प्रश्नहरू सोधिरहन्थें। बुबा घरमा नहुनुभएको बेला आमा मलाई बाइबल अध्ययन गराउनुहुन्थ्यो। पछि मैले पनि आफ्नो जीवन यहोवालाई समर्पण गर्ने निर्णय गरें। सन्‌ १९४३ मा दस वर्षको हुँदा मैले इङ्‌गल्यान्डको ब्ल्याकपुल भन्ने ठाउँमा बप्तिस्मा गरें।

यहोवाको सेवा गर्न थाल्दा

त्यस समयदेखि आमा र म सँगै मिलेर नियमित तवरमा प्रचारकार्यमा भाग लिन थाल्यौं। बाइबलको सन्देश सुनाउन हामी फोनोग्राफ प्रयोग गर्थ्यौं। फोनोग्राफ धेरै गह्रौं हुन्थ्यो, लगभग साढे चार किलोग्राम। एउटा सानो केटोले त्यत्रो गह्रौं सामान बोक्नुपर्दा कस्तो भयो होला, कल्पना गर्नुस् त!

 म १४ वर्ष पुग्नुअघि नै मेरो मनमा अग्रगामी सेवा गर्ने इच्छा जागिसकेको थियो। आमाले यसबारे पहिले क्षेत्रीय निरीक्षकसित कुरा गर्न प्रोत्साहन दिनुभयो। आफ्नो खर्च धान्न कुनै सीप सिक्न क्षेत्रीय निरीक्षकले मलाई सल्लाह दिनुभयो। मैले त्यसै गरें। दुई वर्ष काम गरेपछि अर्को क्षेत्रीय निरीक्षकलाई अग्रगामी सेवा गर्नेबारे सोधें। उहाँले “हुन्छ, सुरु गर!” भन्नुभयो।

सन्‌ १९४९ अप्रिलमा आमा र म म्यानचेस्टर सहरनजिकैको मिडलटनमा सऱ्यौं र त्यहाँ अग्रगामी सेवा सुरु गऱ्यौं। पहिले भाडामा बसेको घरमा भएका कुनै-कुनै फर्निचर बेच्यौं अनि कुनै चाहिं अरूलाई दियौं। चार महिनापछि मैले एक जना भाइलाई अग्रगामी साथीको रूपमा छानें। शाखा कार्यालयले हामीलाई इरलाममा भर्खरै स्थापना भएको नयाँ मण्डलीमा सर्ने सुझाव दियो। आमाले भने अर्को मण्डलीमा एउटी बहिनीसित अग्रगामी सेवा गर्नुभयो।

त्यतिखेर म १७ वर्षको मात्र थिएँ। तर म र मेरो साथीलाई मण्डलीका सभाहरू सञ्चालन गर्ने जिम्मेवारी दिइयो। किनभने त्यस नयाँ मण्डलीमा दक्ष दाजुभाइहरू थोरै मात्र थिए। पछि मैले बक्सटन मण्डलीमा सर्ने निम्तो पाएँ। त्यहाँ एकदम थोरै प्रकाशक भएकोले मदतको खाँचो थियो। मैले ती सुरु-सुरुका अनुभवहरूलाई भविष्यमा सँभाल्नुपर्ने असाइनमेन्टहरूको लागि तालिमको रूपमा लिएँ।

सन्‌ १९५३ मा न्यु योर्कको रोचेष्टरमा अरूहरूसित जनभाषणको विज्ञापन गर्दै

मैले सन्‌ १९५१ मा वाचटावर बाइबल स्कुल अफ गिलियडको लागि फारम भरें। तर मलाई सन्‌ १९५२  डिसेम्बरमा सैन्य सेवाको लागि बोलाइयो। पूर्ण-समय सेवक भएकोले सैन्य सेवा गर्न नपरोस् भनेर बिन्ती गरें। तर अदालतले म पूर्ण-समय सेवक भएको कुरा मानिलिएन र छ महिना जेल सजाय सुनायो। जेलमा छँदा गिलियड स्कुलको २२ औं कक्षाको लागि निम्तो पाएँ। त्यसैले सन्‌ १९५३ जुलाईमा जोर्जिक भन्ने जहाज चढेर न्यु योर्कतिर लागें।

त्यहाँ पुगेपछि सन्‌ १९५३ को ‘नयाँ विश्व समाज सम्मेलन’-मा उपस्थित भएँ। त्यसपछि रेल चढेर न्यु योर्कको साउथ लान्सिङ गएँ, जहाँ गिलियड स्कुल थियो। जेलबाट छुट्‌नेबित्तिकै यात्रा सुरु गरेकोले मसित खासै पैसा थिएन। रेलबाट ओर्लेपछि साउथ लान्सिङ जाने बस चढें। तर त्यहाँसम्म पुग्नको लागि थोरै बस भाडा पनि थिएन। त्यसैले एक जना यात्रुसित सापटी लिएर तिरें।

विदेशी भूमिमा असाइनमेन्ट

मिसनरी काममा “सबै किसिमका मानिसहरूका लागि सबै कुरा” बन्न गिलियड स्कुलबाट धेरै राम्रो तालिम पायौं। (१ कोरि. ९:२२) हामी तीन जना—पल ब्रुन, रेमोन्ड लिच र मलाई फिलिपिन्स खटाइयो। भिसाको लागि हामीले महिनौं पर्खनुपऱ्यो। त्यसपछि हल्याण्डको रोटरड्‌याम अनि भूमध्य सागर, स्वेज नहर, हिन्द महासागर, मलेशिया र हङकङ हुँदै ४७ दिनसम्म समुद्रमा यात्रा गरेपछि बल्ल फिलिपिन्स पुग्यौं! यसरी सन्‌ १९५४ नोभेम्बर १९ मा मनिला आइपुग्यौं।

म र मिसनरी साथी रेमोन्ड लिच जहाजमा ४७ दिन यात्रा गरेर फिलिपिन्स पुग्यौं

अब भने एकपछि अर्को छाँटकाँट गर्नुपर्ने भयो—नौलो ठाउँ, नौलो मानिस र त्यसमाथि भाषा पनि नयाँ। सुरुमा हामी तीन जनालाई क्वेजन सहरको एउटा मण्डलीमा खटाइयो। त्यस सहरका धेरैजसो मानिस अङ्‌ग्रेजी भाषा बोल्थे। त्यसैले छ महिना बितिसक्दा पनि हामीलाई टगालोग भाषाको दुई-चार शब्द मात्र बोल्न आउँथ्यो। तर त्यसपछिको नयाँ असाइनमेन्टले गर्दा भाषाको समस्या पनि सुल्झिने थियो।

सन्‌ १९५५ मे महिनाको कुरा हो, भाइ लिच र म प्रचारबाट घर फर्कंदा हाम्रो कोठामा चिठीहरूको एउटा प्याकेट थियो। चिठी पढेपछि हामीलाई क्षेत्रीय निरीक्षकको रूपमा खटाइएको कुरा थाह पायौं। त्यतिखेर म २२ वर्षको मात्र थिएँ। तर यो असाइनमेन्टले गर्दा मैले अर्कै तरिकामा “सबै किसिमका मानिसहरूका लागि सबै कुरा” बन्ने मौका पाएँ।

बिकोल भाषाको क्षेत्रीय सम्मेलनमा जनभाषण दिंदै

उदाहरणको लागि, क्षेत्रीय निरीक्षकको रूपमा मैले आफ्नो पहिलो जनभाषण गाउँको एउटा पसल अगाडिको खुल्ला मैदानमा दिएँ। त्यतिबेला फिलिपिन्समा सार्वजनिक ठाउँमा जनभाषण दिने चलन रहेछ भनेर मैले बुझिहालें! विभिन्न मण्डलीहरूको भ्रमण गर्दा मैले बजारमा, सरकारी भवनको अगाडि, बास्केट बल कोर्टमा, बगैंचामा र अक्सर गल्लीहरूको चौबाटोजस्ता ठाउँहरूमा भाषण दिएँ। एक चोटिको कुरा हो, बेस्सरी पानी परेकोले सान्‌ पाब्लो सहरको बजारमा भाषण दिन सम्भव भएन। त्यसैले मैले जिम्मेवार भाइहरूलाई राज्यभवनमा जनभाषण दिने सुझाव दिएँ। यस सभालाई जनसभाको रूपमा लिन सकिन्छ कि सकिंदैन भनेर पछि ती भाइहरूले मलाई सोध्नुभयो किनभने त्यो सार्वजनिक ठाउँमा दिइएको थिएन!

भ्रमणको बेला मेरो बास सधैं दाजुभाइ दिदीबहिनीको घरमा हुन्थ्यो। उहाँहरूको घर साधारण भए पनि सफा हुन्थ्यो। म अक्सर उहाँहरूको काठको भुइँमा गुन्द्री बिछ्याएर सुत्थें। खुला ठाउँमा नुहाउनुपर्ने भएकोले साह्रै असजिलो थियो। तर त्यस्तो अवस्थामा पनि नुहाउन सिकें। म जीप र बसमा यात्रा गर्थें। कहिलेकाहीं चाहिं अरू टापुहरूमा जान डुङ्‌गा चढ्‌थें। यतिका वर्षको दौडान मेरो आफ्नै कार भने थिएन।

क्षेत्र सेवामा भाग लिएर र मण्डलीहरूको भ्रमण गरेर मैले टगालोग भाषा सिकें। मैले भाषा सिक्ने कोर्स भने कहिल्यै लिइनँ। तर प्रचारकार्य र सभामा दाजुभाइ दिदीबहिनीको कुराकानी सुनेर भाषा सिकें। उहाँहरू मलाई सिकाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँहरूको धैर्य र मलाई दिनुभएका राम्रा सुझावहरूको म कदर गर्छु।

समय बित्दै जाँदा नयाँ असाइनमेन्टहरूले मलाई अझ धेरै छाँटकाँट गर्न सिकायो। सन्‌ १९५६ मा भाइ नेथन नोर आउनुहुँदा मलाई राष्ट्रिय अधिवेशनमा (पूरै देशका  प्रकाशकहरू एकै ठाउँमा भेला हुने अधिवेशन) जनसम्पर्कसम्बन्धी जिम्मेवारी दिइयो। यस काममा मेरो कुनै अनुभव थिएन। त्यसैले अरूहरूले झर्को नमानी मलाई सिकाउनुभयो। त्यसको एक वर्ष नबित्दै अर्को राष्ट्रिय अधिवेशन आयोजना गरियो। त्यसको लागि मुख्यालयबाट भाइ फ्रेडरिक फ्रान्ज आउनुभएको थियो। त्यस अधिवेशनमा मैले अधिवेशन निरीक्षकको रूपमा काम गर्ने जिम्मा पाएको थिएँ। त्यतिबेला भाइ फ्रान्जले स्थानीय मानिसहरूको चलनअनुसार छाँटकाँट गर्नुभएको देखें। यसबाट मैले छाँटकाँट गर्नुको महत्त्व अझ राम्ररी बुझें। त्यतिबेला भाइ फ्रान्जले फिलिपिन्सको पहिरन बारोङ टगालोग लगाएर जनभाषण दिनुभयो। यो देखेर त्यहाँका दाजुभाइ दिदीबहिनी सबै खुसी भए।

जिल्ला निरीक्षकको रूपमा खटाइँदा मैले अझ धेरै छाँटकाँट गर्नुपर्ने भयो। त्यतिखेर हामी अक्सर खुला ठाउँहरूमा नयाँ विश्व समाजको आनन्द (अङ्‌ग्रेजी) भन्ने चलचित्र देखाउँज्थ्यौं। यसरी चलचित्र देखाउँदा कहिलेकाहीं किराहरूले हैरान पार्थे। प्रोजेक्टरको बत्तीमा किराहरू आएर टाँसिन्थे। त्यसपछि त्यो प्रोजेक्टर सफा गर्न धेरै गाह्रो हुन्थ्यो! हुन त चलचित्र देखाउने प्रबन्ध मिलाउनु सजिलो थिएन तर मानिसहरूको चासो देख्दा सन्तुष्टि मिल्थ्यो। किनभने तिनीहरूले यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय भाइचाराबारे बुझ्ने मौका पाउँथे।

हामीलाई सम्मेलन गर्न नदिन क्याथोलिक पादरीहरूले केही स्थानीय अख्तियारवालालाई दबाब दिन्थे। अथवा तिनीहरूको चर्चनजिकै भाषण दिंदा हाम्रो कार्यक्रम  नसुनियोस् भनेर चर्चको घण्टी बेस्सरी बजाइदिन्थे। तैपनि हाम्रो काम रोकिएन। अहिले ती इलाकाहरूमा यहोवाका उपासकहरू थुप्रै छन्‌।

थप असाइनमेन्टसँगसँगै थप छाँटकाँट

सन्‌ १९५९ मा पाएको एउटा चिठीबाट मलाई शाखा कार्यालयमा सेवा गर्न खटाइएको कुरा थाह पाएँ। यसले गर्दा मैले अझ धेरै कुरा सिक्ने मौका पाएँ। समय बित्दै जाँदा मलाई अरू देशहरूमा प्रान्तीय निरीक्षकको रूपमा भ्रमण गर्ने काम पनि दिइयो। यसरी भ्रमण गर्ने क्रममा थाइल्याण्डमा मिसनरी सेवा गरिरहेकी जानेट डुमोन्डसित चिनापर्ची भयो। हामीले केही समय पत्राचार गरेपछि विवाह गऱ्यौं। हामीले विवाह गरेको ५१ वर्ष भइसक्यो र सँगै यहोवाको सेवा गर्न पाएकोमा खुसी छौं।

जानेटसँग फिलिपिन्सको एउटा टापुमा

अहिलेसम्ममा ३३ वटा देशमा गएर यहोवाका जनहरूलाई भेट्‌ने सुअवसर पाएको छु। सुरु-सुरुतिरका असाइनमेन्टहरूले गर्दा समयको दौडान थरीथरीका मानिसहरूसित मिलेर काम गर्न सकें। त्यसको लागि म साँच्चै कृतज्ञ छु! विभिन्न देशको भ्रमण गर्दा मेरो दृष्टिकोण अझ फराकिलो भएको छ र यहोवाले सबै जातिलाई प्रेम गर्नुहुन्छ भनेर बुझ्न मदत गरेको छ।—प्रेषि. १०:३४, ३५.

प्रचारकार्यमा नियमित तवरमा भाग लिन हामी सक्दो प्रयास गर्छौं

अहिले पनि छाँटकाँट गर्दै

फिलिपिन्सका दाजुभाइ दिदीबहिनीसँगै सेवा गर्न पाउनु कस्तो खुसीको कुरा! मैले सेवा गर्न थालेको समयतिर भन्दा यहाँ प्रकाशकहरूको सङ्‌ख्यामा दस गुणा वृद्धि भइसक्यो। जानेट र म अहिले पनि क्वेजन सहरस्थित फिलिपिन्स शाखा कार्यालयमा सेवा गर्दै छौं। हुन त मैले विदेशी भूमिमा ६० वर्षभन्दा लामो समय बिताइसकें। तैपनि यहोवाले सुम्पनुहुने जिम्मेवारी पूरा गर्न अहिले पनि छाँटकाँट गर्न तयार हुनुपर्छ। हालै हाम्रो सङ्‌गठनमा भएका छाँटकाँटहरूबाट परमेश्वरको र हाम्रा दाजुभाइ दिदीबहिनीको सेवा गर्न अझ लचकदार हुनुपर्ने रहेछ भनेर बुझें।

साक्षीहरूको सङ्‌ख्यामा भइरहेको वृद्धि देख्दा हामी रमाउँछौं

यहोवा जे चाहनुहुन्छ, त्यसैअनुसार गर्न हामीले सक्दो प्रयास गरेका छौं। यसो गर्दा हामीले अत्यन्तै सन्तोषजनक जीवन बिताउन सकेका छौं! हामीले आवश्यक छाँटकाँट गर्न र दाजुभाइ दिदीबहिनीको राम्ररी सेवा गर्न पनि कोसिस गरेका छौं। यहोवाले चाहुन्जेलसम्म “सबै किसिमका मानिसहरूका लागि सबै कुरा” बन्ने हाम्रो दृढ सङ्‌कल्प छ!

हामी अहिले पनि क्वेजन सहरस्थित शाखा कार्यालयमा सेवा गर्दै छौं