अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१६

असीम अनुग्रहले गर्दा तिमीहरू स्वतन्त्र भएका छौ

असीम अनुग्रहले गर्दा तिमीहरू स्वतन्त्र भएका छौ

“तिमीहरू पापलाई आफूमाथि प्रभुत्व जमाउन नदेओ, किनकि तिमीहरूलाई थाह छ, तिमीहरू . . . असीम अनुग्रहको अधीनमा छौ।”—रोमी ६:१४.

गीत: २, ६१

१, २. यहोवाका साक्षीहरूको लागि रोमी ५:१२ किन महत्त्वपूर्ण छ?

मानिलिनुहोस्, यहोवाका साक्षीहरूलाई प्रायजसो थाह भएको र तिनीहरूले धेरैजसो प्रयोग गर्ने बाइबल पदहरूको एउटा सूची बनाउँदै हुनुहुन्छ। के त्यस सूचीको पहिलो स्थानतिर रोमी ५:१२ पर्छ? त्यस पदमा भएको कुरा तपाईंले कति चोटि अरूलाई बताइसक्नुभयो, सम्झनुहोस् त! त्यहाँ यस्तो लेखिएको छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।”

यो पद बाइबलले वास्तवमा के सिकाउँछ? किताबमा धेरै चोटि प्रयोग गरिएको छ। आफ्ना छोराछोरी वा अरूसित यस किताबबाट अध्ययन गर्दा विभिन्न सन्दर्भमा यो पद पढ्‌नुभएको होला। जस्तै: अध्याय ३ मा परमेश्वरले पृथ्वी सृष्टि गर्नुको उद्देश्य, अध्याय ५ मा फिरौतीको बलिदान र अध्याय ६ मा मरेकाहरूको अवस्थाबारे छलफल गर्दा। तर यहोवासित तपाईंको सम्बन्ध, तपाईंको व्यवहार अनि भविष्यको लागि तपाईंको आशाको सन्दर्भमा रोमी ५:१२ कत्तिको सम्झनुहुन्छ?

३. हामीले पापबारे कुन-कुन कुरा बुझ्नुपर्छ?

हामी त्रुटिपूर्ण अर्थात्‌ पापी मानिसहरू हौं भन्ने कुरा हामी सबैले मानिलिनै पर्छ। हामी दिनहुँ गल्ती गर्छौं। तैपनि हामीले यस्तो आश्वासन पाएका छौं: हामी माटो मात्र हौं भनी परमेश्वर जान्नुहुन्छ र उहाँ हामीलाई दया देखाउन इच्छुक  हुनुहुन्छ। (भज. १०३:१३, १४) येशूले नमुना प्रार्थनामा परमेश्वरलाई यो बिन्ती पनि गर्नुभयो: “हाम्रा पापहरू क्षमा गर्नुहोस्।” (लूका ११:२-४) त्यसैले परमेश्वरले क्षमा गरिसक्नुभएका पापहरूबारे घरीघरी सोचिरहनुपर्दैन। तर उहाँले कुन आधारमा हाम्रा पापहरू क्षमा गर्न सक्नुभयो, त्यसबारे विचार गर्नु राम्रो हो।

असीम अनुग्रहद्वारा क्षमा

४, ५. (क) रोमी ५:१२ को अर्थ बुझ्न हामीलाई केले मदत गर्छ? (ख) रोमी ३:२४ मा उल्लेख गरिएको “असीम अनुग्रह” के हो?

रोमी ५:१२ मा प्रेषित पावलका शब्दहरूको अघिपछिका अध्यायहरूमा महत्त्वपूर्ण जानकारी पाउँछौं, खासगरि अध्याय ६ मा। त्यो सन्दर्भ बुझ्यौं भने यहोवाले हामीलाई कुन आधारमा क्षमा गर्न सक्नुभयो भनेर बुझ्नेछौं। अध्याय ३ मा यस्तो लेखिएको छ: “सबैले पाप गरेका छन्‌ . . . तर परमेश्वरले आफ्नो असीम अनुग्रह देखाएर सित्तैंमा उपहारस्वरूप तिनीहरूलाई आफ्नो नजरमा असल ठहराउनुभयो। ख्रीष्ट येशूले तिर्नुभएको फिरौतीद्वारा मुक्त गरेर उहाँले तिनीहरूलाई यसरी असल ठहराउनुभयो।” (रोमी ३:२३, २४) यहाँ पावलले “असीम अनुग्रह” भनेर कुन कुरालाई बुझाउन खोज्दै थिए? एउटा पुस्तकअनुसार तिनले चलाएको ग्रीक शब्दले “केही माग नगरी वा कुनै प्रतिफलको आशा नराखी खुला मनले कृपा देखाउनु” भन्ने अर्थ बुझाउँछ। यो असीम अनुग्रह हामीले कमाउन सक्ने कुरा होइन न त हामी यो पाउन योग्य छौं।

शास्त्रविद्‌ जोन पार्खस्तले यस्तो टिप्पणी गरे: “परमेश्वर र ख्रीष्टको सन्दर्भमा कुरा गर्दा यस [ग्रीक शब्दले] अक्सर मानिसहरूको पापको क्षमा र उद्धारको लागि उहाँहरूले सित्तैंमा र ठूलो मनले देखाउनुभएको असीम कृपा वा दयालाई बुझाउँछ।” त्यसैले नयाँ संसार अनुवाद-मा प्रयोग गरिएको “असीम अनुग्रह” भन्ने अभिव्यक्ति उपयुक्त छ। तर परमेश्वरले कसरी यस्तो असीम अनुग्रह देखाउनुभयो? परमेश्वरसित तपाईंको सम्बन्ध र तपाईंको आशासित यो कसरी मुछिएको छ? आउनुहोस्, हेरौं।

६. परमेश्वरले देखाउनुभएको असीम अनुग्रहबाट क-कसले लाभ उठाउन सक्छन्‌?

“एकै जना मानिस” आदमद्वारा पाप र मृत्यु “संसारमा प्रवेश” भयो। त्यसैले “एक जना मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राजाले झैं राज गऱ्यो।” पावलले अझ यसो पनि भने: ‘एकै जना मानिस, येशू ख्रीष्टद्वारा परमेश्वरले असीम अनुग्रह देखाउनुभयो।’ (रोमी ५:१२, १५, १७) अनि त्यस असीम अनुग्रहले सारा मानिसजातिको भलाइ गरेको छ। “एक जना मानिसको [अर्थात्‌ येशूको] आज्ञाकारिताले गर्दा धेरै जना असल ठहरिनेछन्‌।” वास्तवमा, परमेश्वरले देखाउनुभएको असीम अनुग्रहले गर्दा नै ‘येशू ख्रीष्टमार्फत अनन्त जीवन’ सम्भव भएको छ।—रोमी ५:१९, २१.

७. परमेश्वरले प्रबन्ध गर्नुभएको फिरौतीको बलिदान किन असीम अनुग्रह हो?

फिरौतीको बलिदान दिन यहोवाले आफ्नो छोरालाई पृथ्वीमा पठाउनुपर्ने कुनै बाध्यता थिएन। साथै परमेश्वर र येशूले मानिसहरूको पाप क्षमा गर्न जे गर्नुभयो, त्रुटिपूर्ण मानिसहरू त्यसको योग्य थिएनन्‌। त्यसैले हाम्रो पाप क्षमा गर्न र अनन्त जीवनको आशा दिन परमेश्वरले फिरौतीको बलिदानको प्रबन्ध गर्नु साँच्चै असीम अनुग्रह हो। यस असीम अनुग्रहको वरदानलाई हामीले अत्यन्तै कदर गर्नुपर्छ। अनि त्यस्तो कदर देखाएको कुरा दिनहुँ आफ्नो जीवनमा देखाउनुपर्छ।

परमेश्वरको असीम अनुग्रहप्रति कृतज्ञ

८. कसै-कसैले पापबारे कस्तो गलत सोचाइ राख्छन्‌?

हामी आदमका त्रुटिपूर्ण सन्तान हौं। त्यसैले गल्ती गर्ने, खराब काम गर्ने अनि पाप गर्ने झुकाव हामीसित छ। तर परमेश्वरले देखाउनुभएको असीम अनुग्रहको नाजायज फाइदा उठाउनु गलत हो। हामीले यस्तो सोचाइ राख्नु गम्भीर गल्ती हुनेछ: ‘परमेश्वरले पाप ठान्नुहुने कुनै गलत काम गरें भने पनि कुनै चिन्ता लिनुपर्दैन। यहोवाले मलाई क्षमा दिइहाल्नुहुन्छ नि!’ दुःखको कुरा, केही प्रेषित जीवित छँदा कोही-कोही ख्रीष्टियनले त्यस्तो सोचाइ राखेका थिए। (यहूदा ४ पढ्‌नुहोस्) हामी त्यस्तो सोचाइ मुखबाट त कहिल्यै ननिकालौंला तर त्यस्तो गलत सोचाइ हाम्रो  मनमा कता-कता लुकेर बसेको हुन सक्छ। वा हाम्रो मनमा त्यस्तो सोचाइ घुसेर बिस्तारै बढ्‌दै जान सक्छ।

९, १०. पावल र अरू ख्रीष्टियनहरू कसरी पाप र मृत्युबाट स्वतन्त्र भए?

हामीले राख्नै नहुने सोचाइबारे पावलले यसरी जोड दिए: ‘परमेश्वरले बुझ्नुहुन्छ। मेरो गलत काम वा व्यवहारलाई परमेश्वरले वास्ता गर्नुहुन्न।’ यस्तो सोचाइ किन गलत हो? किनभने पावलले लेखेझैं ख्रीष्टियनहरू “पापमा मरिसकेका” छन्‌। (रोमी ६:१, २ पढ्‌नुहोस्) हुन त ती ख्रीष्टियनहरू पृथ्वीमा जीवितै थिए। तर कुन अर्थमा तिनीहरू “पापमा मरिसकेका” थिए भन्न मिल्थ्यो?

१० परमेश्वरले प्रबन्ध गर्नुभएको फिरौतीको बलिदानबाट पावल र त्यतिबेलाका अरू ख्रीष्टियनहरूले पनि लाभ उठाउन सक्थे। त्यसैले यहोवाले तिनीहरूको पाप क्षमा गर्नुभयो, तिनीहरूलाई पवित्र शक्तिले अभिषेक गर्नुभयो र आफ्ना छोराहरू भन्नुभयो। यसले गर्दा तिनीहरूले स्वर्ग जाने आशा पाए। विश्वासी रहेमा तिनीहरूले स्वर्गबाट ख्रीष्टसितै शासन गर्ने थिए। त्यतिबेला तिनीहरू पृथ्वीमा जीवित थिए र परमेश्वरको सेवा गरिरहेका थिए। तैपनि पावलले तिनीहरू “पापमा मरिसकेका” छन्‌ भन्न सक्थे। यो कुरा बुझाउन पावलले येशूको उदाहरण चलाए। येशू मानिसको रूपमा पृथ्वीमा मर्नुभयो र पछि स्वर्गमा अमर जीवन बिताउन ब्यूँताइनुभयो। त्यसपछि मृत्युले येशूमा प्रभुत्व जमाएन। अभिषिक्त ख्रीष्टियनहरूको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्थ्यो। तिनीहरूले ‘आफू पापको लागि मरिसकेको छु तर ख्रीष्ट येशूमार्फत परमेश्वरको लागि जीवित छु भनी सम्झन’ सक्थे। (रोमी ६:९, ११) तिनीहरूको जीवनको तौरतरिका परिवर्तन भइसकेको थियो। किनभने तिनीहरू त्यसउप्रान्त आफ्नो पापी इच्छाले भनेजस्तो गर्ने वा पापपूर्ण झुकावको वशमा पर्ने थिएनन्‌। तिनीहरू आफ्नो पुरानो जीवनको सन्दर्भमा मरिसकेका थिए।

११. हामी प्रमोदवनमा सधैंभरि बाँच्ने आशा पाएकाहरू कुन अर्थमा “पापमा मरिसकेका” छौं?

११ हामी नि? ख्रीष्टियन बन्नुअघि हामीले धेरै चोटि पाप गऱ्यौं। आफ्नो काम परमेश्वरको नजरमा गलत वा खराब थियो भनेर सायद हामीलाई थाह पनि थिएन होला। हामी “अशुद्धता र कुकर्म”-को दासजस्तै थियौं। भनौं भने, हामी “पापको दास” थियौं। (रोमी ६:१९, २०) पछि हामीले बाइबलको सत्य कुरा सिक्यौं, आफ्नो जीवनमा परिवर्तनहरू गऱ्यौं, परमेश्वरलाई जीवन समर्पण गऱ्यौं र बप्तिस्मा गऱ्यौं। त्यसपछि भने परमेश्वरको शिक्षा र स्तरअनुसार जीवन बिताउन “मनैदेखि आज्ञाकारी” हुने कोसिस गऱ्यौं। हुन त आफूलाई पापको दास ठानेका थिएनौं होला तैपनि हामी “पापबाट स्वतन्त्र” भयौं र “परमेश्वरको स्तरबमोजिमको असल कामको दास” बन्यौं। (रोमी ६:१७, १८) त्यसैले यस अर्थमा हामी पनि “पापमा मरिसकेका” छौं भन्न मिल्छ।

१२. हामी प्रत्येकसामु कस्तो छनौट छ?

१२ पावलका शब्दहरू तपाईंमा कसरी लागू हुन्छ, विचार गर्नुहोस्। तिनले यसो भने: “मरणशील शरीरको इच्छाको वशमा नपर्न तिमीहरू त्यसमाथि पापलाई राजाले झैं राज गरिरहन नदेओ।” (रोमी ६:१२) आफ्नो त्रुटिपूर्ण शरीरले चाहेअनुसार गऱ्यौं भने ‘पापलाई राजाले झैं राज गरिरहन दिएका’ हुन्छौं। पापलाई राजाले झैं राज गर्न ‘दिने या नदिने,’ त्यो हाम्रो हातमा छ। त्यसैले यो प्रश्न उठ्‌छ: हाम्रो मनको चाहना के हो? आफैलाई सोध्नुहोस्: ‘के म कहिलेकाहीं आफूलाई त्रुटिपूर्ण शरीर वा दिमागको वशमा पर्न दिन्छु र पछि गएर गलत काम गर्छु? अथवा के म पापमा मरिसकेको छु? के म ख्रीष्ट येशूमार्फत परमेश्वरको लागि जीवित छु?’ त्यसकारण कुराको निचोड यही हो: हाम्रा पापहरू क्षमा गरेर परमेश्वरले देखाउनुभएको असीम अनुग्रहप्रति साँच्चै कृतज्ञ छौं भने पापको वशमा नपर्न हामी सक्दो कोसिस गर्नेछौं।

तपाईं यस सङ्‌घर्षमा विजयी हुन सक्नुहुन्छ

१३. पापपूर्ण कुराहरू त्याग्न सम्भव छ भनेर हामी किन विश्वस्त हुन सक्छौं?

१३ यहोवाका जनहरूले उहाँलाई चिन्न, प्रेम गर्न र उहाँको सेवा गर्नअघि ‘जस्तो फल फलाउँथे,’ ती त्यागेका छन्‌। पहिला गरेका कतिपय कुराहरूदेखि तिनीहरूलाई “अहिले सरम लाग्छ,” जसको अन्तिम परिणाम मृत्यु हुन सक्थ्यो। (रोमी ६:२१) तर तिनीहरूले आफ्नो पुरानो जीवनशैली त्यागे। कोरिन्थको  मण्डलीका कोही-कोही पहिला मूर्तिपूजक, अवैध यौनसम्बन्ध राख्ने, समलिङ्‌गी, चोर, पियक्कड र त्यस्तै नराम्रा काम गर्नेहरू थिए। तर तिनीहरू “धोएर सफा” बनाइएका र “पवित्र” पारिएका छन्‌ भनेर पावलले आफ्नो पत्रमा लेखे। (१ कोरि. ६:९-११) रोमको मण्डलीका कतिपय सदस्यहरू पनि पहिला त्यस्तै थिए होलान्‌। त्यसैले पावलले परमेश्वरको प्रेरणा पाएर रोमीहरूलाई यस्तो लेखे: “न त तिमीहरू आफ्ना अङ्‌गहरूलाई खराबी गर्ने हतियारको रूपमा पापलाई सुम्प। तर मृत्युबाट ब्यूँतेका मानिसहरूको नाताले तिमीहरू आफूलाई परमेश्वरलाई सुम्प अनि आफ्ना अङ्‌गहरूलाई पनि उहाँको स्तरबमोजिम असल काम गर्ने हतियारको रूपमा परमेश्वरलाई सुम्प।” (रोमी ६:१३) तिनीहरू परमेश्वरको नजरमा सफा रहन सक्छन्‌ र उहाँको असीम अनुग्रहबाट लाभ उठाइरहन सक्छन्‌ भन्ने कुरामा पावललाई कुनै शङ्‌का थिएन।

१४, १५. “मनैदेखि आज्ञाकारी” हुनेबारे आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?

१४ आज पनि कुरा त्यस्तै हो। हाम्रा कोही-कोही दाजुभाइ दिदीबहिनी पहिला कोरिन्थको मण्डलीका सदस्यहरूजस्तै थिए। तर तिनीहरूले पनि परिवर्तन गरे। तिनीहरूले आफ्नो पापपूर्ण जीवन त्यागे अनि “धोएर सफा” भए। आफ्नो विगत जस्तोसुकै भए तापनि परमेश्वरको नजरमा तपाईं अहिले कस्तो हुनुहुन्छ? परमेश्वरले हामीलाई असीम अनुग्रह देखाउनुभएको छ, जसले गर्दा हामी आफ्ना पापहरूको क्षमा पाउन सक्छौं। त्यसैले के तपाईं अबदेखि “आफ्ना अङ्‌गहरूलाई खराबी गर्ने हतियारको रूपमा पापलाई” नसुम्पन कटिबद्ध हुनुहुन्छ? के तपाईं आफूलाई ‘मृत्युबाट ब्यूँतेका मानिसहरूको नाताले परमेश्वरलाई सुम्पनुहुनेछ?’

१५ त्यसैले कोरिन्थको मण्डलीका कसै-कसैले विगतमा गरेका गम्भीर पापहरू हामीले कुनै हालतमा गर्नु हुँदैन। हामीले परमेश्वरको असीम अनुग्रह स्विकारेका छौं र “पापलाई आफूमाथि प्रभुत्व जमाउन” दिएका छैनौं भने त्यस्ता पापहरू कदापि गर्नेछैनौं। कसै-कसैलाई कुनै-कुनै पाप त्यति गम्भीर नलाग्न सक्छ। तर के हामी त्यस्ता पापहरू पनि नगर्न “मनैदेखि आज्ञाकारी” हुन कटिबद्ध छौं?—रोमी ६:१४, १७.

१६. ख्रीष्टियन बन्नुको मतलब गम्भीर पापहरू नगर्नु मात्र होइन भनेर किन भन्न सक्छौं?

१६ प्रेषित पावललाई विचार गर्नुहोस्। तिनले १ कोरिन्थी ६:९-११ मा बताइएका गम्भीर पापहरू गरेका थिएनन्‌ भन्ने कुरामा हामी पक्का छौं। तैपनि तिनले आफू पापको दोषी छु भनी मानिलिए। तिनले यस्तो लेखे: “म भने असिद्ध र पापमा बेचिएको छु। म के गर्दैछु म आफैलाई थाह छैन। किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ तर मलाई जेदेखि घृणा लाग्छ, त्यही म गर्छु।” (रोमी ७:१४, १५) यसले के देखाउँछ भने पावलले पाप ठानेका कुराहरू अरू पनि थिए। अनि तिनी ती गलत कामहरूविरुद्ध सङ्‌घर्ष गर्दै थिए। (रोमी ७:२१-२३ पढ्‌नुहोस्) “मनैदेखि आज्ञाकारी” हुने कोसिस गर्दा हामीबारे पनि त्यसै भन्न सकियोस्।

१७. तपाईं किन इमानदार हुन चाहनुहुन्छ?

१७ उदाहरणको लागि, इमानदार हुने कुरालाई विचार गरौं। ख्रीष्टियनहरू सबै जना इमानदार हुनै पर्छ। (हितोपदेश १४:५; एफिसी ४:२५ पढ्‌नुहोस्) सैतान “झूटको बुबा” हो। हननिया र तिनकी पत्नीले झूट बोलेकोले आफ्नो ज्यान गुमाए। हामी त्यस्ता व्यक्तिहरूको अनुकरण गर्न चाहँदैनौं। त्यसैले हामी झूट बोल्दैनौं। (यूह. ८:४४; प्रेषि. ५:१-११) के इमानदार हुनु भनेको झूट नबोल्नु मात्रै हो? परमेश्वरको असीम अनुग्रहप्रति हामी साँच्चै कृतज्ञ छौं भने अन्य तरिकामा पनि इमानदार हुनेछौं।

१८, १९. इमानदार हुनु भनेको सरासर झूट नबोल्नु मात्र होइन, किन?

१८ झूट बोल्नु भनेको गलत कुरा बताउनु हो। तर यहोवा आफ्ना मानिसहरूले सरासर झूट मात्र होइन, अलि-अलि झूट बोलेको पनि चाहनुहुन्न। उहाँले पुरातन समयका इस्राएलीहरूलाई यसो भन्नुभयो: “तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु, तिमीहरूका परमेश्वर पवित्र छु।” त्यसपछि उहाँले पवित्र हुनुको अर्थ बुझाउन केही उदाहरण बताउनुभयो। यसै सन्दर्भमा उहाँले भन्नुभयो: “तिमीहरूले चोरी नगर्नू, छल नगर्नू, एक अर्कोसित झूट नबोल्नू।” (लेवी १९: २, ११) दुःखको कुरा, कहिल्यै अरूसित सीधै झूट नबोल्ने व्यक्तिले समेत अरूसित छल गर्न र अलि-अलि झूट बोल्न सक्छ।

के हामी झूट नबोल्न र छल नगर्न कटिबद्ध छौं? (अनुच्छेद १९ हेर्नुहोस्)

१९ उदाहरणको लागि, एक जना मानिसले आफ्नो हाकिम वा सहकर्मीहरूलाई भोलिपल्ट अस्पताल जानुपर्ने भएकोले काममा आउन नसक्ने वा छिटो जानुपर्ने कुरा बताउलान्‌। वास्तवमा तिनको अस्पताल जानुपर्ने काम एकछिन मेडिकल छिरेर औषधी किन्नु वा डाक्टरको फी बुझाउनु मात्र हो। तिनी काममा नजानुको मुख्य कारणचाहिं आफूले मिलाइसकेको यात्रा छिटो थाल्नु वा परिवारलाई कतै घुमाउन लैजानु हो। हुन त तिनी अस्पताल जानुपर्ने कुरा पूरै झूट होइन तर के तपाईंलाई तिनी साँच्चै इमानदार भए जस्तो लाग्छ? अथवा तिनले कतै छल गर्दै छन्‌ अर्थात्‌ अलि-अलि झूट बोल्दै छन्‌? यसरी मानिसहरूले जानाजानी अरूसित छल गरेका कतिपय अवस्थाहरूबारे तपाईंलाई थाह होला। तिनीहरू सजायबाट बच्न वा अरूको नाममा फाइदा उठाउन यसो गरेका हुन सक्छन्‌। यस्तो अवस्थामा तिनीहरूले सरासर झूट त बोलेनन्‌ होला तर के परमेश्वरले “छल नगर्नू” पनि भन्नुभएको छैन र? रोमी ६:१९ मा के भनिएको छ, त्यो पनि विचार गर्नुहोस्: “पवित्रताका लागि आफ्ना अङ्‌गहरूलाई दासको रूपमा असल कामलाई सुम्प।”

२०, २१. परमेश्वरको असीम अनुग्रहप्रति कृतज्ञ छौं भने हामी कस्ता कुराहरू पनि गर्नेछैनौं?

२० कोरिन्थको मण्डलीका कसै-कसैले विगतमा आफ्नो पति वा पत्नीबाहेक अरूसित अवैध यौनसम्बन्ध राखेका, पियक्कड भएका वा अन्य पापहरू गरेका थिए। परमेश्वरले देखाउनुभएको असीम अनुग्रहप्रति कृतज्ञ हुनु भनेको त्यस्ता गम्भीर पापहरू नगर्नु मात्र होइन। उहाँको असीम अनुग्रह स्विकार्नु भनेको अवैध यौनसम्बन्ध नराख्नु मात्र होइन, छाडा मनोरञ्जनमा रमाउने कुनै पनि झुकावविरुद्ध लड्‌नु पनि हो। आफ्ना अङ्‌गहरूलाई दासको रूपमा असल कामलाई सुम्प्यौं भने हामी पियक्कड हुनेछैनौं। तर त्यति मात्र होइन, मात्तिने हदसम्म रक्सी पिउनेछैनौं। यस्ता गलत कामहरू नगर्न हामीले निकै सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। तर यस सङ्‌घर्षमा हामी विजयी हुन सक्छौं!

२१ हाम्रो लक्ष्य घोर पापहरू नगर्ने र त्यति गम्भीर नदेखिने गलत कामहरू पनि नगर्ने हुनुपर्छ। हुन त पूर्ण अर्थमा हामी त्यसो गर्न सक्दैनौं तर पावलले जस्तै प्रयासचाहिं गर्नुपर्छ। तिनले सङ्‌गी भाइबहिनीलाई यस्तो आग्रह गरे: “मरणशील शरीरको इच्छाको वशमा नपर्न तिमीहरू त्यसमाथि पापलाई राजाले झैं राज गरिरहन नदेओ।” (रोमी ६:१२; ७:१८-२०) सबै प्रकारका पापविरुद्ध सङ्‌घर्ष गरिरह्यौं भने परमेश्वरले येशू ख्रीष्टमार्फत देखाउनुभएको असीम अनुग्रहप्रति साँच्चै कृतज्ञ भएको देखाइरहेका हुनेछौं।

२२. परमेश्वरको असीम अनुग्रहप्रति कृतज्ञ हुनेहरूले कस्तो इनाम पाउनेछन्‌?

२२ परमेश्वरको असीम अनुग्रहले गर्दा हाम्रा पापहरू क्षमा भएका छन्‌ र भविष्यमा पनि क्षमा हुनेछन्‌। कुनै-कुनै गल्तीलाई अरूले सानातिना पाप ठान्न सक्छन्‌। तर त्यस्ता सानातिना पाप गर्ने झुकावविरुद्ध पनि सङ्‌घर्ष गरेर उहाँको असीम अनुग्रहप्रति कृतज्ञता देखाइरहौं। त्यसो गऱ्यौं भने कस्तो इनाम पाउनेछौं? पावलले यसो भने: “अहिले तिमीहरू पापबाट स्वतन्त्र भएर परमेश्वरका दास भइसकेकोले तिमीहरूले त्यसको फलको रूपमा पवित्र जीवन पाइरहेका छौ र अन्तमा अनन्त जीवन पाउनेछौ।”—रोमी ६:२२.