सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  जून २०१७

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

येशूले यरूशलेमको मन्दिरमा पशुपन्छी बेच्ने व्यापारीहरूलाई “डाँकुहरू” भन्नु किन उपयुक्त थियो?

मत्तीको किताबमा यस्तो लेखिएको छ: “येशू मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: ‘“मेरो घर प्रार्थनाको घर कहलाइनेछ” भनेर धर्मशास्त्रमा लेखिएको छ। तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदैछौ।’”—मत्ती २१:१२, १३.

यहूदीहरूको ऐतिहासिक रेकर्डअनुसार व्यापारीहरूले चर्को मूल्यमा पशुपन्छी बेचेर भेटी चढाउन आउने भक्तजनलाई लुटिरहेका थिए। उदाहरणको लागि, यहूदीहरूको धार्मिक लेखोट मिस्नाहअनुसार (केरिटट १:७) प्रथम शताब्दीमा एक जोडी परेवाको मूल्य सुनको एक दिनारसम्म पुगेको थियो। सुनको एक दिनार कमाउन केही सीप नभएको कामदारलाई २५ दिन लाग्थ्यो। व्यवस्थाअनुसार गरिबहरूले बलिदानको रूपमा परेवा अनि ढुकुर चढाउन सक्थे। तर त्यसको मूल्य पनि यति चर्को भइसकेको थियो कि त्यो कुरा गरिबहरूको पहुँचदेखि टाढा थियो। (लेवी १:१४; ५:७; १२:६-८) यस्तो ठगी देखेर यहूदी समुदायका प्रमुख शिमियोन बेन गमलिएल असाध्यै रिसाए अनि यहूदीहरूले अनिवार्य रूपमा चढाउनुपर्ने भेटीको सङ्‌ख्या घटाए। त्यसलगत्तै एक जोडी परेवाको मूल्य एकै चोटि सय गुणा घट्‌यो।

यी तथ्यहरू विचार गर्दा येशूले यरूशलेमको मन्दिरमा पशुपन्छी बेच्ने ती ठग अनि लोभी व्यापारीहरूलाई “डाँकुहरू” भन्नु उपयुक्त थियो।