सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  जनवरी २०१७

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

राज्य प्रचारकहरूको आवश्यकता धेरै भएका ठाउँहरूमा थुप्रै जोसिला दाजुभाइ दिदीबहिनीले सेवा गरिरहेका छन्‌। तीमध्ये अविवाहित दिदीबहिनीको सङ्‌ख्या पनि धेरै छ। तिनीहरूमध्ये थुप्रैले विदेशमा सेवा गरिरहेको वर्षौं भइसक्यो। तिनीहरूले कसरी विदेशमा गएर सेवा गर्न सके? त्यहाँ तिनीहरूले कस्ता कुराहरू सिके? तिनीहरूको जीवन कस्तो भयो? तिनीहरूमध्ये केही अनुभवी दिदीबहिनीसित हामीले अन्तरवार्ता लियौं। यदि तपाईं अविवाहित दिदी वा बहिनी हुनुहुन्छ र रमाइलो प्रचारकार्यमा भाग लिने तपाईंको उत्कट इच्छा छ भने तिनीहरूको कुरा सुनेर पक्कै लाभ उठाउनुहुनेछ। हो, तिनीहरूको उदाहरणबाट परमेश्वरका सबै सेवकले लाभ उठाउन सक्छन्‌।

शङ्‌का हटाउँदै

अनिता

के तपाईंलाई एक जना अविवाहित अग्रगामी विदेशमा गएर सेवा गर्न सक्छ जस्तो लाग्छ? अहिले ७५ वर्ष पुगेकी अनिता-लाई आफूसित कुनै खास क्षमता छैन जस्तो लाग्थ्यो। तिनी इङ्‌गल्यान्डमा हुर्केकी थिइन्‌ र तिनले १८ वर्षको उमेरमा अग्रगामी सेवा गर्न थालिन्‌। तिनी भन्छिन्‌, “अरूलाई यहोवाबारे सिकाउन मन पर्थ्यो। तर विदेशमा गएर सेवा गर्छु जस्तो कहिल्यै लागेको थिएन। मैले विदेशी भाषा कहिल्यै सिकिनँ अनि सिक्न सक्छु जस्तो पनि लाग्दैन थियो। त्यसैले गिलियड स्कुलको निम्तो पाउँदा तीनछक परें। मजस्तो साधारण मान्छेले त्यस्तो निम्तो पाउँदा अचम्म लाग्यो। तर मैले सोचें, ‘यहोवालाई मैले सक्छु जस्तो लाग्छ भने म कोसिस गर्छु।’ यो ५० वर्षभन्दा अघिको कुरा हो। त्यसबेलादेखि मिसनरीको रूपमा जापान-मा सेवा गर्दै छु।” अनिता अझ यसो भन्छिन्‌, “कहिलेकाहीं म एकदमै उत्साहित हुँदै जवान बहिनीहरूलाई यसो भन्ने गर्छु, ‘आफ्नो झोलासोला बोक र यो रमाइलो यात्रामा मसँगै आऊ!’ थुप्रैले यस्तो कदम चालेको देख्दा मलाई खुसी लाग्छ।”

साहस बटुल्दै

यी थुप्रै दिदीबहिनी विदेशमा गएर सेवा गर्न हिचकिचाएका थिए। तर तिनीहरूले कसरी साहस बटुले?

मोरिन

अहिले ६४ वर्ष पुगेकी मोरिन यसो भन्छिन्‌, “हुर्कंदै जाँदा म उद्देश्यपूर्ण जीवन बिताउन चाहन्थें, अरूलाई मदत गर्ने मेरो इच्छा थियो।” तिनी २० वर्ष पुगेपछि क्यानाडाको क्युबेकमा सरिन्‌। त्यहाँ अग्रगामीहरूको धेरै खाँचो थियो। तिनी भन्छिन्‌, “मैले गिलियड स्कुलको निम्तो पाएँ। तर आफ्ना साथीहरू छोडेर नौलो ठाउँमा जान डर लागेको थियो। अनि बुबा बिरामी हुनुभएकोले आमालाई एक्लै छोडेर जाने मन पनि थिएन। किनभने म गएपछि आमा एक्लैले बुबाको हेरचाह गर्नुपर्ने हुन्छ। यस्ता चिन्ताहरूले गर्दा मैले धेरै रात आँसु बगाउँदै यहोवालाई व्यग्र प्रार्थना गरें। आफूलाई चिन्ता लागिरहेका यी कुराहरू आमाबुबालाई बताएँ। उहाँहरूले मलाई गिलियडको निम्तो स्विकार्न भन्नुभयो। त्यति मात्र होइन, मण्डलीले आमाबुबालाई  मायालु मदत दिएको पनि देखें। यहोवाले यसरी माया गर्नुभएको देख्दा उहाँले मेरो पनि पक्कै ख्याल राख्नुहुनेछ भनेर ढुक्क भएँ। त्यसपछि भने म जान तयार भएँ!” सन्‌ १९७९ मा मोरिनले मिसनरी सेवा सुरु गरिन्‌। तिनले पश्‍चिम अफ्रिका-मा ३० वर्षभन्दा लामो समय मिसनरी सेवा गरिन्‌। अहिले क्यानाडामा आमाको हेरचाह गर्दै तिनी अझै पनि विशेष अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌। विदेशमा सेवा गरेका दिनहरू सम्झँदै तिनी यसो भन्छिन्‌, “यहोवाले मलाई जे चाहिएको थियो, त्यो सधैं ठीक समयमा दिनुभयो।”

वेन्डी

अहिले ६५ वर्ष पुगेकी वेन्डी-ले किशोर अवस्थामा अस्ट्रेलियामा अग्रगामी सेवा गर्न थालिन्‌। तिनी यसो भन्छिन्‌, “म एकदमै लजालु स्वभावकी थिएँ र नचिनेका मानिसहरूसित कुरा गर्न गाह्रो लाग्थ्यो। तर अग्रगामी सेवा गर्दै जाँदा विभिन्न किसिमका मानिसहरूसित कुरा गर्न सिकें। यसले गर्दा मेरो आत्मविश्वास बढ्‌यो। त्यसपछि भने मानिसहरूसित कुरा गर्न डर लागेन। अग्रगामी सेवा गर्दा मैले यहोवामा भर पर्न सिकें। त्यसपछि विदेशमा गएर सेवा गर्ने आँट आयो। एक जना अविवाहित दिदीले मलाई उहाँसँगै तीन महिनाको लागि जापानमा सेवा गर्न निम्तो दिनुभयो। उहाँले त्यहाँ ३० वर्षभन्दा लामो समय मिसनरी सेवा गर्नुभएको थियो। उहाँसँगै प्रचारकार्यमा लाग्दा विदेशमा गएर सेवा गर्ने मेरो इच्छा झनै बढ्‌यो।” वेन्डी सन्‌ १९८६ मा भान्वाटु सरिन्‌। यो टापु अस्ट्रेलियाबाट लगभग १,७७० किलोमिटर पूर्वतिर पर्छ।

वेन्डी अहिले पनि भान्वाटुमा छिन्‌ र एउटा अनुवाद कार्यालयमा सेवा गर्दै छिन्‌। तिनी भन्छिन्‌, “मलाई सबैभन्दा खुसी लाग्ने कुराचाहिं टाढा-टाढाका इलाकाहरूमा स-साना समूह र मण्डलीहरू बनिरहेको देख्न पाउनु हो। यी टापुहरूमा भइरहेको यहोवाको काममा आफ्नोतर्फबाट सानो योगदान दिन पाउनु मेरो लागि ठूलो सुअवसर हो। म यो खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ।”

कुमिको (बीचको)

अहिले ६५ वर्ष पुगेकी कुमिको केही वर्षअघि जापानमा नियमित अग्रगामी सेवा गर्दै थिइन्‌। त्यतिबेला तिनको अग्रगामी साथीले नेपाल-मा सेवा गर्न जाऔं भनिन्‌। कुमिको भन्छिन्‌, “उनी मलाई नेपाल जाऔं भनेर भनिरहन्थिन्‌ तर मैले मानिनँ। नयाँ भाषा सिक्नुपर्ने हुन्छ अनि नयाँ ठाउँमा घुलमिल हुनुपर्छ भन्ने कुराको चिन्ता लाग्थ्यो। अनि नयाँ ठाउँमा सर्नको लागि पैसा कसरी जम्मा गर्ने होला भन्ने चिन्ता पनि थियो। यस्तो चिन्ता मनमा खेलिरहेको बेला मेरो मोटरसाइकल दुर्घटना भयो र अस्पताल भर्ना हुनुपऱ्यो। त्यतिबेला मैले सोचें, ‘भोलि मलाई के होला, कसलाई के थाह? गम्भीर रोग लाग्यो भने विदेशमा गएर अग्रगामी सेवा गर्ने मौका गुम्ने पो हो कि? एक वर्षको लागि भए पनि विदेशमा गएर सेवा गर्न सक्छु कि?’ कदम चाल्न मदत गर्नुहोस् भनेर मैले यहोवालाई व्यग्र प्रार्थना गरें।” अस्पतालबाट घर फर्केपछि कुमिको नेपाल गइन्‌। पछि तिनी र तिनको अग्रगामी साथी त्यहाँ सरे।

 नेपालमा झन्डै १० वर्ष सेवा गरेको समयलाई सम्झँदै कुमिको यसो भन्छिन्‌, “लाल समुद्र दुई फ्याक भएर बाटो खुलेजस्तै मलाई चिन्ता लागिरहेका कुराहरू सबै समाधान भए। आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न पाएकोमा म एकदमै खुसी छु। प्रायजसो कुनै घरमा गएर एउटा परिवारलाई बाइबलको कुरा सुनाउँदा पाँच/छ जना छिमेकी आएर सुन्छन्‌। स-साना केटाकेटीले समेत हामीलाई आदर देखाउँदै पर्चा माग्छन्‌। बाइबलको सन्देशमा चासो दिने यस्तो इलाकामा प्रचार गर्न पाउनु साँच्चै आनन्दको कुरा हो!”

चुनौतीहरूको सामना गर्दै

हामीले अन्तरवार्ता लिएका यी साहसी अविवाहित दिदीबहिनीले चुनौतीहरू आइपर्दा कसरी त्यसको सामना गरे?

डाएन

क्यानाडाकी डाएन यसो भन्छिन्‌, “परिवारबाट टाढा हुँदा सुरु-सुरुमा मलाई धेरै गाह्रो भयो।” अहिले तिनी ६२ वर्ष पुगिन्‌। तिनले २० वर्षसम्म आइभोरी कोस्ट-मा (हाल कोट डे’भ्वा) मिसनरी सेवा गरिन्‌। तिनी यसो भन्छिन्‌, “मलाई खटाइएको इलाकाका मानिसहरूलाई माया गर्न सकूँ भनेर यहोवालाई प्रार्थना गरें। गिलियड स्कुलका प्रशिक्षक भाइ ज्याक रेडफोर्डले आफूलाई खटाइएको इलाकाका मानिसहरूको अवस्था र तिनीहरूको चरम गरिबी देख्दा गाह्रो लाग्ला, विचलित पनि होऔंला भन्नुभयो। तर उहाँले यस्तो सुझाव दिनुभयो, ‘गरिबीलाई ध्यान नदिनुहोस्। तिनीहरूको अनुहार र आँखा हेर्नुहोस्। बाइबलको सन्देश सुन्दा तिनीहरूको अनुहार कस्तो हुन्छ, त्यसमा ध्यान दिनुहोस्।’ मैले त्यसै गरें। त्यसो गर्दा मलाई एकदमै सजिलो भयो! परमेश्वरको राज्यको सान्त्वनादायी सुसमाचार सुन्दा मानिसहरूको आँखा चम्केको मैले देखें।” विदेशमा घुलमिल हुन डाएनलाई अरू कुन कुराले मदत गऱ्यो? “म आफ्ना बाइबल विद्यार्थीहरूसित घनिष्ठ भएँ। तिनीहरू यहोवाको वफादार सेवक बनेको देख्दा मैले अपार आनन्द पाएँ। आफूले सेवा गरिरहेको इलाका नै आफ्नो घरजस्तो लाग्यो। येशूले प्रतिज्ञा गर्नुभएजस्तै मैले आध्यात्मिक आमाबुबा, दाजुभाइ र दिदीबहिनी पाएँ।”—मर्कू. १०:२९, ३०.

आन अहिले एसिया-को एउटा देशमा सेवा गर्दै छिन्‌, जहाँ हाम्रो काम प्रतिबन्धित छ। तिनी अहिले ४६ वर्ष पुगिन्‌। तिनी भन्छिन्‌, “विगतमा मैले विभिन्न देशहरूमा सेवा गरें। त्यतिबेला बेग्लै पृष्ठभूमि र व्यक्तित्व भएका दिदीबहिनीसित बसें। कहिलेकाहीं हामीबीच मतभिन्नताहरू भयो र त्यसले गर्दा एकअर्काको चित्त पनि दुख्यो। यस्तो मतभिन्नता हुनुको कारण बुझ्न एउटै घरमा बस्ने साथीहरूसित घनिष्ठ हुने कोसिस गरें किनभने तिनीहरूको पृष्ठभूमि पनि बेग्लै थियो। साथै तिनीहरूप्रति अझ मायालु र व्यावहारिक हुन पनि प्रयास गरें। यसरी प्रयास गर्दा परिणाम राम्रो भयो। मैले धेरै जनासित गहिरो मित्रता गाँस्न सकें। यसले गर्दा म आफ्नो असाइनमेन्टमा लागिरहन सकें।”

उटे

सन्‌ १९९३ मा जर्मनीकी उटे-लाई मडागास्कर-मा मिसनरी  सेवा गर्न खटाइयो। अहिले तिनी ५३ वर्ष पुगिन्‌। तिनी भन्छिन्‌, “सुरुमा मलाई त्यहाँको भाषा सिक्न गाह्रो भयो। त्यहाँ असाध्यै गर्मी हुन्थ्यो। अनि मलेरिया, अमिबा र जुकाले पनि सताउँथ्यो। तर मलाई धेरै जनाले मदत गर्नुभयो। त्यहाँका दिदीबहिनी, उहाँहरूका छोराछोरी र मेरा बाइबल विद्यार्थीहरूले निकै धैर्य गर्दै मलाई भाषा सिकाउनुभयो। बिरामी परेको बेला मिसनरी साथीले मेरो राम्रो हेरचाह गर्नुभयो। सबैभन्दा त यहोवाले मदत गर्नुभयो। मैले नियमित रूपमा यहोवालाई आफ्नो चिन्ता प्रार्थनामा पोखाएँ। त्यसपछि आफ्नो प्रार्थनाको जवाफ पाउन पर्खिरहन्थें—कहिलेकाहीं केही दिन पर्खें भने कहिलेकाहीं त महिनौंसम्म। यहोवाले सबै समस्या समाधान गरिदिनुभयो।” उटे अहिले पनि मडागास्करमा सेवा गर्दै छिन्‌। तिनले त्यहाँ सेवा गरेको २३ वर्ष भइसक्यो।

प्रचुर मात्रामा आशिष्‌

आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने भाइबहिनीहरूले जस्तै विदेशमा सेवा गरिरहेका अविवाहित दिदीबहिनीले प्रचुर मात्रामा आशिष्‌ पाएको कुरा व्यक्त गर्ने गर्छन्‌। तिनीहरूले के-कस्ता आशिष्‌ पाए?

हाइडी

जर्मनीकी हाइडी-को उमेर अहिले ७३ वर्ष पुग्यो। तिनी सन्‌ १९६८ देखि आइभोरी कोस्ट-मा (हाल कोट डे’भ्वा) मिसनरी सेवा गर्दै छिन्‌। तिनी भन्छिन्‌, “मेरा आध्यात्मिक छोराछोरी ‘सत्यको बाटोमा हिंडिरहेको’ देख्दा मलाई असाध्यै खुसी लाग्छ। मेरा केही विद्यार्थीहरू अहिले अग्रगामी र एल्डरको रूपमा सेवा गर्दै छन्‌। तिनीहरूमध्ये धेरैजसोले माया गरेर मलाई आमा वा हजुरआमा भनेर बोलाउँछन्‌। तिनीहरूमध्ये एक जना एल्डर, उनकी पत्नी र छोराछोरीले मलाई आफ्नै परिवार ठान्छन्‌। यसरी यहोवाले मलाई छोरा, बुहारी र तीन जना नातिनातिना दिनुभएको छ।”—३ यूह. ४.

कारेन (बीचको)

क्यानाडाकी कारेन-को उमेर अहिले ७२ वर्ष पुग्यो। तिनले पश्‍चिम अफ्रिका-मा २० वर्षभन्दा लामो समय सेवा गरिन्‌। तिनी भन्छिन्‌, “मिसनरी सेवाले मलाई अझ आत्मत्यागी, मायालु र धीरजी हुन सिकायो। त्यसको साथै विभिन्न देशबाट आएका भाइबहिनीसित काम गर्दा आफ्नो दृष्टिकोण फराकिलो बनाउन सकें। एउटै काम विभिन्न तरिकामा गर्न सकिन्छ भनेर मैले सिकें। साथै विभिन्न देशका साथीहरू बनाउन पाउनु कत्ति ठूलो आशिष्‌को कुरा! हुन त हाम्रो जीवन र असाइनमेन्ट परिवर्तन भएको छ तर हाम्रो मित्रता भने पहिलेजस्तै बलियो छ।”

इङ्‌गल्यान्डकी मार्गरेट अहिले ७९ वर्ष पुगिन्‌। तिनले लाओस-मा मिसनरीको रूपमा सेवा गरेकी थिइन्‌। तिनी भन्छिन्‌, “विदेशमा सेवा गर्दा यहोवाले कसरी विभिन्न जातजातिका र पृष्ठभूमिका मानिसहरूलाई आफ्नो सङ्‌गठनमा ल्याउँदै हुनुहुन्छ भनेर आफ्नै आँखाले देखें। यसले गर्दा मेरो विश्वास निकै बलियो भयो। साथै यहोवाले नै आफ्नो सङ्‌गठन डोऱ्याइरहनुभएको छ र उहाँका उद्देश्यहरू पक्कै पूरा हुनेछन्‌ भन्ने कुरामा पूर्णतया विश्वस्त भएकी छु।”

विदेशमा सेवा गरिरहेका अविवाहित दिदीबहिनीले परमेश्वरको सेवामा साँच्चै उत्कृष्ट उदाहरण बसालेका छन्‌। तिनीहरू प्रशंसाको योग्य छन्‌। (न्याय. ११:४०) अनि यस्ता दिदीबहिनीको सङ्‌ख्या बढिरहेको छ। (भज. ६८:११) के तपाईं आफ्नो अवस्था छाँटकाँट गर्न सक्नुहुन्छ? यस लेखमा अन्तरवार्ता लिइएका दिदीबहिनीको पदचिन्ह पछ्याउन सक्नुहुन्छ? त्यसो गर्नुभयो भने तपाईंले यहोवा ‘कस्तो भलो हुनुहुन्छ’ भनेर आफैले अनुभव गर्नुहुनेछ।—भज. ३४:८.