अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जनवरी २०१६

बर्नेट, सिमोन, इस्टन र केलब

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ओसेनिया

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ओसेनिया

लगभग ३५ वर्षकी रेना अस्ट्रेलियामा हुर्केकी थिइन्‌। तिनको परिवार प्रचार गर्न निकै जोसिलो थियो। अहिले तिनी यसो भन्छिन्‌: “हामी प्रचारकहरूको आवश्यकता भएको विभिन्न ठाउँमा सेवा गर्न गयौं। आमाबुबाले हामीलाई निकै रमाइलो वातावरणमा हुर्काउनुभएको थियो। म पनि दुई छोराछोरीलाई त्यस्तै वातावरणमा हुर्काउने प्रयास गर्दै छु।”

 रेनाका श्रीमान्‌ शान पनि आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न चाहन्थे। चालीस वर्ष पुग्नै लागेका शान यसो भन्छन्‌: “हाम्रो दोस्रो सन्तान जन्मेपछिको कुरा हो, हामीले प्रहरीधरहरा-मा एउटा लेख पढ्यौं। त्यस लेखमा एउटा परिवार आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गरेको अनुभव थियो। उनीहरू आफ्नै डुङ्गा लिएर प्रशान्त महासागरको दक्षिण-पश्‍चिममा पर्ने टोंगा भन्ने टापुमा सेवा गर्न गएका रहेछन्‌। * यो लेख पढेपछि हामीले निकै प्रोत्साहन पायौं। त्यसैले अस्ट्रेलिया र न्यु जील्याण्डको शाखा कार्यालयलाई कुन-कुन ठाउँमा प्रचारकको आवश्यकता छ भनेर सोध्यौं। * खुसीको कुरा, हामीले पनि टोंगा टापुमै जाने निर्देशन पायौं।”

जेकब, रेना, इस्की र शान

शान, रेना र तिनीहरूका छोराछोरी जेकब इस्की लगभग एक वर्ष टोंगामा बसे। तर त्यहाँ घरी-घरी हूलदङ्गा र बन्द-हडताल भइरहने भएकोले तिनीहरू अस्ट्रेलिया फर्कनुपऱ्यो। त्यहाँबाट फर्के पनि प्रचारकार्यमा अझै जोडतोडले लाग्ने तिनीहरूको इच्छा मरेको थिएन। त्यसैले सन्‌ २०११ मा तिनीहरू प्रशान्त महासागरको नोरफोक टापु-मा सरे। त्यो सानो टापु अस्ट्रेलियाबाट लगभग १,५०० किलोमिटर पूर्वतिर पर्छ। त्यो टापुमा सर्दा कस्तो फाइदा भयो? अहिले १४ वर्षका जेकब यसो भन्छन्‌: “यहोवाले सधैं हाम्रो हेरविचार गर्नुभएको छ। त्यतिमात्र होइन, उहाँले गर्दा नै हामीले प्रचारबाट धेरै आनन्द उठाइरहेका छौं।”

परिवारै मिलेर गर्ने सेवा

शान, रेना र तिनीहरूका छोराछोरीले जस्तै अरू थुप्रै परिवारले पनि आवश्यकता धेरै भएको ठाउँमा सरेर राजीखुसीले सेवा गरेका छन्‌। तिनीहरू त्यसरी सर्नुको कारण के हो?

“त्यहाँका धेरैजसो मानिसहरू बाइबलको कुरा बुझ्न चाहन्थे। हामी उनीहरूलाई नियमित रूपमा बाइबल अध्ययन गराउन चाहन्थ्यौं।”—बर्नेट

लगभग ३५ वर्षका बर्नेट सिमोन-को इस्टन केलब नाम गरेका १२ र ९ वर्षका छोरा छन्‌। तिनीहरू पनि बर्कटाउन भन्ने ठाउँमा सरेका थिए। त्यो अस्ट्रेलिया-को क्वीन्सल्यान्ड-मा पर्ने एउटा दुर्गम ठाउँ हो। बर्नेट यसो भन्छन्‌: “त्यहाँ ३-४ वर्षमा एकपटक मात्र प्रचार गरिन्थ्यो। तर त्यहाँका धेरैजसो मानिसहरू बाइबलको कुरा बुझ्न चाहन्थे। हामी उनीहरूलाई नियमित रूपमा बाइबल अध्ययन गराउन चाहन्थ्यौं।”

जिम, ज्याक, मार्क र कारन

मार्क कारन-को उमेर ५० नाघिसकेको छ। तिनीहरू अहिले छोरी जेसिका अनि छोरा जिम ज्याक-सित नर्दन टेरिटोरी-को नालनबोई भन्ने दुर्गम ठाउँमा सेवा गर्दै छन्‌। त्यहाँ खानीमा काम गर्ने मानिसहरू बसोबास गर्छन्‌। त्यहाँ जानुअघि मार्क र कारनले अस्ट्रेलियाको सिड्नी नजिकैका केही मण्डलीमा सेवा गरिसकेका थिए। मार्क यसो भन्छन्‌: “म मानिसहरूलाई माया गर्छु। त्यसैले आवश्यकता धेरै भएको मण्डली वा इलाकामा गएर सेवा गर्न चाहन्थें।” तर कारन भने नयाँ ठाउँमा सर्न हिचकिचाइरहेकी थिइन्‌। तिनी भन्छिन्‌: “मलाई मार्क र अरू साथीभाइले प्रोत्साहन दिनुभयो। त्यसैले एक पटक गइहेर्छु भन्ने लाग्यो। त्यस्तो निर्णय गरेकोमा अहिले मलाई कुनै पछुतो छैन।”

बेन्जामिन, जेडी, ब्रीया र कार्लिन

सन्‌ २०११ मा बेन्जामिन कार्लिन अस्ट्रेलियाको क्वीन्सल्यान्डबाट टिमोर-लेस्टे भन्ने ठाउँमा सरे। यो ठाउँ इन्डोनिसियाको टिमोर टापुमा पर्छ। बेन्जामिन र कार्लिनले स्कुल जाने उमेर हुनै लागेका छोरी जेडी ब्रीया-लाई पनि साथमै लगे। बेन्जामिन भन्छन्‌: “कार्लिन र मैले यो ठाउँमा विशेष अग्रगामीको रूपमा सेवा गरिसकेका थियौं। यहाँ प्रचार गर्दा निकै रमाइलो हुन्थ्यो। साथै यहाँका दाजुभाइ दिदीबहिनीले हामीलाई त्यतिखेर निकै मदत गर्नुभयो। यस्तो ठाउँ छोड्नुपर्दा हाम्रो मन साह्रै रोएको थियो। हामी फेरि यो ठाउँमा फर्कन चाहन्थ्यौं। तर छोरीहरू जन्मेपछि केही समयको लागि यो योजना थाती राख्नुपऱ्यो तर हाम्रो लक्ष्य भने परिवर्तन भएको थिएन।” कार्लिन यसो भन्छिन्‌: “हामी आफ्ना छोरीहरू मिसनरी, बेथेल सेवक र विशेष अग्रगामीहरूसित घुलमिल भएको र तिनीहरूबाट आध्यात्मिक मदत पाएको चाहन्थ्यौं।”

सर्नका लागि गर्नुपर्ने तयारी

येशूले चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूमध्ये को यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि, त्यो बनाइसिद्धयाउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?” (लूका १४:२८) कसैले परिवारै मिलेर अर्को ठाउँमा सेवा गर्न जाने विचार गर्दै छन्‌ भने पनि यो सिद्धान्त लागू गरेर पहिल्यै योजना बनाउनु जरुरी छ। यसरी योजना बनाउँदा के-कस्ता कुरामा ध्यान दिनुपर्छ?

आध्यात्मिक तयारी: बेन्जामिन यसो भन्छन्‌: “हामी अरूको सेवा गर्न चाहन्छौं तर तिनीहरूको लागि बोझ बन्न चाहँदैनौं। त्यसैले नयाँ ठाउँमा सर्नुअघि हामीले यहोवासितको आफ्नो सम्बन्ध अझ बलियो बनायौं। मण्डलीमा विभिन्न जिम्मेवारी सम्हाल्ने र प्रचारमा धेरैभन्दा धेरै भाग लिने बानी बसाल्यौं।”

माथि उल्लेख गरिएका जेकब यसो भन्छन्‌: “नोरफोक टापुमा आउनुअघि आवश्यकता धेरै भएको ठाउँमा सेवा गरेका परिवारहरूको अनुभव प्रहरीधरहरा ब्यूँझनुहोस्!-मा खोजी-खोजी पढ्यौं। तिनीहरूले के-कस्ता चुनौती र समस्या सामना गर्नुपऱ्यो अनि यहोवाले कसरी तिनीहरूलाई मदत गर्नुभयो भन्ने विषयमा परिवारमा छलफल गऱ्यौं।” जेकबकी ११ वर्षीया बहिनी इस्की भन्छिन्‌: “मैले एक्लै र आमाबुबासित बसेर यहोवा परमेश्वरलाई धेरैचोटि प्रार्थना गरें।”

भावनात्मक तयारी: रेना भन्छिन्‌: “म पहिला बसेको ठाउँमा मेरा  सबै नातागोता, इष्टमित्रहरू थिए। त्यसैले मलाई निकै रमाइलो लाग्क्थ्यो। तर अहिले म आफूले छाडेर आएको कुरा सोचेर बस्दिनँ। बरु परिवारै सरेर यहोवाको सेवा गर्दा कस्तो आनन्द उठाउन सकें, त्यसमा मन लगाउँछु।”

संस्कृतिमा घुलमिल हुने तयारी: धेरैजसो परिवारले आफू नयाँ ठाउँमा जानुअघि नै त्यस ठाउँबारे राम्ररी बुझ्ने प्रयास गर्छन्‌। मार्क यसो भन्छन्‌: “हामीले नालनबोईको बारेमा भेटेजति जानकारी पढ्यौं। त्यहाँका दाजुभाइहरूले पनि स्थानीय पत्रपत्रिकाहरू पठाउनुभयो। त्यसको माध्यमबाट हामीले त्यस सहरमा बस्ने मानिसहरूको संस्कृति, रहनसहनबारे धेरै कुरा बुझ्न सक्यौं।”

नोरफोक टापुमा सरेका शान यसो भन्छन्‌: “मैले राम्रा गुणहरू खेती गर्न निकै मेहनत गरें। किनभने मलाई थाह छ, यदि म इमानदार, नम्र, सफा मनको र मेहनती भएँ भने संसारको जुनसुकै कुनामा गए पनि सजिलै घुलमिल हुन सक्छु।”

चुनौतीहरूको सामना

सफल हुन चाहन्छौं भने आफूले कहिल्यै आस नगरेको अवस्था आउँदा समेत हामी सकारात्मक हुनुपर्छ र त्यसको सामना गर्न तयार हुनुपर्छ। यसका केही उदाहरण विचार गरौं:

रेना भन्छिन्‌: “मैले फरक ढङ्गमा कामकुरो सम्हाल्न सिकें। जस्तै: नोरफोक टापुमा समुद्री मौसम खराब हुँदा खानेकुरा बोकेको जहाज आउँदैनक्थ्यो अनि यसले गर्दा खानेकुराको अभाव हुन्थ्यो र महँगी बढ्क्थ्यो। त्यसैले आफूसित जे छ, त्यही पकाउन र फारो गरेर छाक टार्न सिकें।” तिनका श्रीमान्‌ शान पनि यसो भन्छन्‌: “हामी हप्ताभरिको लागि बजेट छुट्टयाउज्थ्यौं र त्यहीअनुसार खर्च गर्थ्यौं।”

तिनीहरूका छोरा जेकबले चाहिं अर्कै प्रकारको चुनौतीको सामना गर्नुपऱ्यो। तिनले यसो भने: “हाम्रो नयाँ मण्डलीमा हामीबाहेक अरू सात जना मात्र हुनुहुन्थ्यो। त्यो पनि सबै पाको उमेरका। मेरो उमेरका कोही थिएनन्‌। तर प्रचारमा जान थालेपछि हामी छिट्टै साथी बन्यौं।”

एक्काइस वर्षका जिमले पनि यस्तै चुनौतीको सामना गर्नुपऱ्यो। तिनी भन्छन्‌: “नालनबोई वरपर मण्डलीहरू थिएन, सबैभन्दा नजिकको मण्डली भनेकै ७२५ किलोमिटर टाढा पर्थ्यो। त्यसैले सम्मेलन र अधिवेशन हुँदा हामी त्यसबाट पूरापूर लाभ उठाउने प्रयास गर्थ्यौं। अरू दाजुभाइ दिदीबहिनीसित सरसङ्गत गर्न हामी सम्मेलनमा छिट्टै पुग्ज्थ्यौं। हरेक वर्ष हुने सम्मेलनहरू हाम्रो लागि विशेष हुन्थे।”

 “यहाँ आएको एकदमै राम्रो भयो”

बाइबल यसो भन्छ: “परमप्रभुको आशिष्‌ले धन-सम्पत्ति ल्याउँछ।” (हितो. १०:२२) अहिले, आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्ने विश्वभरिका दाजुभाइ दिदीबहिनीले यो कुरा आफैले अनुभव गरेका छन्‌।

मार्क भन्छन्‌: “सबैभन्दा ठूलो आशिष्‌ हाम्रो छोराछोरीमा परेको राम्रो प्रभाव हो। प्रचारको कामलाई पहिलो स्थानमा राख्नेहरूलाई यहोवाले सम्हाल्नुहुन्छ भन्ने कुरामा हाम्रा हुर्किसकेका दुई छोराछोरी विश्वस्त भएका छन्‌। यस्तो विश्वास तपाईं पैसाले किन्न सक्नुहुन्न।”

शान भन्छन्‌: “श्रीमती र छोराछोरीसित म अझ घनिष्ठ हुन सकेको छु। बेला-बेलामा तिनीहरू आफूले यहोवाबाट पाएको आशिष्‌हरूबारे कुरा गर्छन्‌। त्यसरी कुरा गरेको सुन्दा निकै खुसी लाग्छ।” तिनका छोरा जेकब पनि यस कुरामा सहमत हुँदै भन्छन्‌: “यहाँ त कस्तो रमाइलो छ! हामी यहाँ आएको एकदमै राम्रो भयो।”

^ अनु. 3 डिसेम्बर १५, २००४ को प्रहरीधरहरा, पृष्ठ ८-११ मा भएको “टोंगा टापुमा परमेश्वरका मित्रहरू” भन्ने लेख पढ्नुहोस्।

^ अनु. 3 सन्‌ २०१२ मा अस्ट्रेलिया र न्यु जील्याण्ड शाखा कार्यालयलाई गाभेर अस्ट्रेलेजिया शाखा बनाइयो।