अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अप्रिल २०१६

 जीवनी

साँचो अर्थमा दिदीबहिनी बनेका ननहरू

साँचो अर्थमा दिदीबहिनी बनेका ननहरू

“मसँग बोल्दै-नबोल्नू,” भन्दै मेरी बहिनी अरासेली चिच्याइन्‌। “तपाईंको धर्मबारे मलाई केही सुन्नुछैन। मेरो कानै पाकिसक्यो। तपाईंको अनुहारै हेर्न मन लाग्दैन।” अहिले ९१ वर्ष पुगिसकें, तैपनि ती शब्दहरू सुन्दा मेरो मन कत्ति घोचेको थियो, मलाई अझै याद छ। तर उपदेशक ७:८ मा भने जस्तै, “कुनै कामको सुरुभन्दा त्यसको अन्त असल हुन्छ।” हाम्रो सन्दर्भमा त्यो कुरा सही साबित भयो।—फेलिसा

फेलिसा: मेरो परिवार धर्मकर्ममा निकै चासो राख्नुहुन्थ्यो। वास्तवमा, हाम्रो आफन्तहरूमध्ये १३ जना त क्याथोलिक चर्चको पुजारी वा सदस्य नै हुनुहुन्थ्यो। पोप जोन पल द्वितीयले त क्याथोलिक स्कुलमा पढाउने हाम्रो मामा पर्ने एक जना पादरीलाई मृत्युपछि सन्त समेत घोषणा गर्नुभएको थियो। हाम्रो परिवारको आर्थिक अवस्था राम्रो थिएन। मेरो बुबा धातुको काम गर्नुहुन्थ्यो; आमाचाहिं खेतमा काम गर्नुहुन्थ्यो। आठ जना छोराछोरीमध्ये म जेठी थिएँ।

म १२ वर्षकी छँदा स्पेनी गृहयुद्ध सुरु भयो। युद्धपछि तानाशाही सरकारले बुबालाई जेलमा हाले। बुबाको स्वतन्त्र विचारधारा त्यो सरकारलाई मन परेको थिएन। बुबा जेलमा परेपछि आमालाई परिवारको पालनपोषण गर्न निकै गाह्रो भयो। त्यसैले आमाको एक जना साथीले मेरो तीन जना बहिनी—अरासेली, लोरी र रामोनीलाई स्पेनको बिलबाओ भन्ने ठाउँमा भएको मठमा (ननहरू बस्ने ठाउँ) पठाउने सल्लाह दिनुभयो। जेहोस् त्यहाँ उनीहरू भोकभोकै बस्नुपर्ने थिएन।

अरासेली: त्यतिबेला हामी १४, १२ र १० वर्षका मात्र थियौं। परिवारबाट टाढिंदा निकै गाह्रो भयो। बिलबाओमा हामीले सरसफाइको काम गऱ्यौं। दुई वर्षपछि त्यहाँका ननहरूले हामीलाई जारागोजा भन्ने ठाउँमा भएको ठूलो मठमा सारिदिनुभयो। त्यहाँ वृद्धहरूको हेरविचार गरिन्थ्यो। हामीले चाहिं भान्छा सफा गर्नुपर्थ्यो। सानै उमेरको भएकोले त्यो काम गर्न साह्रै गाह्रो हुन्थ्यो।

फेलिसा: बहिनीहरू जारागोजामा गएपछि आमा र स्थानीय पुजारीको काम गर्ने मामाले मलाई पनि त्यही मठमा काम गर्न पठाउने निर्णय गर्नुभयो। मलाई मन पराउने केटाबाट छुटाउन  उहाँहरूले त्यस्तो निर्णय गर्नुभएको थियो। धर्मकर्ममा चासो भएकोले केही समयको लागि मठमा बस्ने कुरा मलाई राम्रै लाग्यो। म हरेक दिन मास (रोटी र दाखमद्य खाएर येशूको मृत्युको सम्झना गर्ने पर्व) जान्थें। अनि अफ्रिकामा भएको आफन्त दाइजस्तै मिसनरी हुने कुरा समेत सोचिसकेकी थिएँ।

बाँया: स्पेनको जारागोजा भन्ने ठाउँको मठ; दायाँ: नाकार-कोलुङ्‌गा भाषाको बाइबल

अर्को देशमा गएर परमेश्वरको सेवा गर्ने चाहनाअनुसारै गर्न ननहरूले मलाई कुनै प्रोत्साहन दिएनन्‌। मठमा बस्दा मलाई पिँजडामा थुनेजस्तै लाग्क्थ्यो। त्यसैले एक वर्षपछि मामाको हेरविचार गर्न म घर फर्कें। घरायसी काम गर्नुका साथै म हरेक साँझ उहाँसँगै रोजरी माला जप्थें। चर्चको फूलहरू सजाउन अनि “सन्त” र कन्याको मूर्तिहरू सजाउन पनि मलाई खुब मनपर्थ्यो।

अरासेली: समयको दौडान मठमा हाम्रो जीवन परिवर्तन भयो। नन हुन पहिलो शपथ लिइसकेपछि त्यहाँका ननहरूले हामी दिदीबहिनीलाई अलग गर्ने निर्णय गरे। रामोनी जारागोजामै बसिन्‌, लोरीलाई भ्यालेसिया पठाइयो र मलाई चाहिं म्याड्रिडमा। म्याड्रिडमा मैले दोस्रो पटक शपथ ग्रहण गरें। त्यहाँको मठमा विद्यार्थीहरूको लागि, वृद्धहरूको लागि र आगन्तुकहरूका लागि बस्ने प्रबन्ध थियो। त्यसैले काम पनि मारामार हुन्थ्यो। मैले त्यहाँको अस्पतालमा काम गरें।

साँच्चै भन्ने हो भने, नन भएर जीवन बिताउँदा आनन्दित हुन सकिन्छ भन्ठानेकी थिएँ। बाइबल पढिन्छ र त्यसमा भएका कुराहरू बुझाइन्छ होला भनेर आशा गरेकी थिएँ। तर कसैले पनि परमेश्वर वा येशूको विषयमा कुरा गरेनन्‌; बाइबल पनि चलाएनन्‌। मैले सिकेको भनेको हल्काफुल्का ल्याटिन भाषा हो; मैले “सन्तहरूको” जीवनी पढें; मरियमको उपासना गरें। त्योबाहेक अरू काम गर्न त आफ्नो दस नङ्‌ग्रा खियाउनुपर्थ्यो।

मलाई चिन्ताले गाँज्न थाल्यो; त्यसैले त्यहाँको मदरसित (प्रमुख नन) कुरा गरें। मेरो परिवारलाई मेरो खाँचो परेको बेला मचाहिं अरूको गोजी भर्न खटिनु त्यति व्यावहारिक लागेन भनेर मैले उहाँलाई बताएँ। त्यसपछि त मेरो विचार बदल्न र मठबाट जान नदिन उहाँले मलाई कोठामा थुन्नुभयो।

मैले मठ छोडेर जान्छ कि जाँदैन भनेर हेर्न ननहरूले मलाई तीनचोटि कोठाबाट बाहिर निकाले। मेरो विचारमा केही परिवर्तन नआएको देखेर उहाँहरूले मलाई यस्तो लेख्न भन्नुभयो: “म मठ छोड्‌दैछु, किनभने म परमेश्वरको भन्दा सैतानको सेवा गर्न रुचाउँछु।” यो सुनेर त म छाँगाबाट खसेझैं भएँ। हो, मलाई मठमा एकछिन पनि बस्न मन थिएन, तर त्यस्तो कुरा सपनामा पनि लेख्न सक्दिनँथें। अन्तमा, मैले एक जना पादरीसँग (पाप स्वीकारोक्तिको सुनुवाइ गर्ने पादरी) कुरा गरें। के-के भयो सबै बताएँ। उहाँले म पहिला बसेको जारागोजाको मठमा सार्ने प्रबन्ध मिलाउनुभयो। त्यहाँ केही महिना बसेपछि बाहिर जाने अनुमति पाएँ। त्यसको केही समयपछि लोरी र रामोनीले पनि मठ छोडे।

 “निषेधित” किताबले हामीलाई छुटायो

फेलिसा

फेलिसा: केही समयपछि मैले विवाह गरें र कान्ताब्रिया भन्ने ठाउँमा सरें। म अझै पनि मास जान्थें। एकदिन आइतबारको सभामा पादरीले अचम्मको घोषणा गर्नुभयो। उहाँले अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्‌ग्रेजी) भन्ने किताब देखाएर रिसाउँदै यसो भन्नुभयो: “यो किताब हेर्नुहोस्! यदि कसैले यो किताब पाउनुभयो भने कि त सिधै मलाई दिनुस् कि त फालिदिनुस्।”

मसँग त्यो किताब थिएन; त्यसैले तुरुन्तै एउटा पाए हुन्थ्यो जस्तो लाग्यो। त्यसको केही दिनपछि दुई जना साक्षीले मेरो ढोका ढकढक्याए र त्यही “निषेधित” किताब दिए। मैले त्यही रात पूरै किताब पढें र ती बहिनीहरू फेरि आउँदा बाइबल अध्ययन गर्न राजी भएँ।

“निषेधित” किताब

चाँडै नै सत्यले मेरो मन छोयो। विगतको मेरो धार्मिक आस्था यहोवाप्रतिको प्रेम र सेवाप्रतिको जोसमा परिणत भयो। सन्‌ १९७३ मा मैले बप्तिस्मा गरें। हुन त, मेरो परिवारलाई सत्य सुनाउने मौका थोरै मात्र थियो तर मैले सकेजति गरें। सुरुमा बताएजस्तै परिवारका सदस्यहरूले मलाई निकै विरोध गरे, विशेषगरि मेरी बहिनी अरासेलीले।

अरासेली: मठमा भोगेको नराम्रो अनुभवहरूले गर्दा मेरो मनै मरेको थियो। तैपनि हरेक आइतबार मास जान्थें अनि हरेक दिन रोजरी माला जप्थें। बाइबलको कुरा बुझ्ने मेरो तीव्र चाहना अझै सेलाएको थिएन। त्यसैले मैले परमेश्वरसित मदत मागें। तर मेरी दिदी फेलिसाले आफ्नो नयाँ विश्वासबारे बताउँदा तिनको जोस देखेर तिनी त कट्टर भइछन्‌जस्तो लाग्यो। त्यसैले तिनको कुरा फिटिक्कै मन परेन।

अरासेली

केही वर्षपछि कामको लागि म म्याड्रिड फर्कें र मेरो विवाह पनि भयो। बिस्तारै-बिस्तारै म शङ्‌कालु हुन थालें। मासमा नियमित रूपमा उपस्थित हुनेहरूले समेत सुसमाचारका किताबहरूबाट सिकेको कुरा लागू नगरेको मैले याद गरें। त्यसैले चर्च जानै छोडें। “सन्त,” दोष स्वीकार्नु वा नरकको आगोजस्ता कुराहरूमा पनि विश्वास लाग्न छोड्‌यो। भएभरको मूर्तिहरू फालिदिएँ। मैले सही गरें कि गलत मलाई थाहा थिएन। म एकदमै निराश भएँ तर परमेश्वरलाई प्रार्थना गर्न भने छोडिनँ। मैले उहाँलाई यसो भन्थें: “म तपाईंलाई चिन्न चाहन्छु। मलाई मदत गर्नुस्!” मलाई याद छ, यहोवाका साक्षीहरू दुई-तीनचोटि मेरो घरमा आएका थिए तर मैले कहिल्यै ढोका खोलिनँ। धर्महरूप्रति मेरो आस्था हटिसकेको थियो।

 सन्‌ १९८० को सुरुतिर फ्रान्समा बस्ने बहिनी लोरी र स्पेनमा बस्ने बहिनी रामोनीले पनि साक्षीहरूसित बाइबल अध्ययन सुरु गरे। फेलिसा दिदीजस्तै उनीहरू पनि बहकिएछन्‌ जस्तो लाग्यो। पछि मैले आन्जालीनस नामकी छिमेकीलाई भेटें। हामी घनिष्ठ साथी भयौं। उनी पनि यहोवाका साक्षी थिइन्‌। आन्जालीनस र उनको श्रीमान्‌ले मलाई बेला-बेलामा बाइबल अध्ययन गर्न भन्नुहुन्थ्यो। म शङ्‌कालु स्वभावको भए तापनि बाइबलको ज्ञान सिक्न कत्ति तिर्खाएको छु भनेर उहाँहरूले बुझ्नुभयो। पछि मैले भनें: “ल ठीक छ! म बाइबल अध्ययन त गरूँला तर मैले आफ्नै बाइबल चलाउन पाउनुपर्छ नि है!” मैले त्यतिबेला नाकार-कोलुङ्‌गा भाषाको बाइबलबारे कुरा गर्दै थिएँ।

अन्तमा बाइबलले हामीलाई एक बनायो

फेलिसा: सन्‌ १९७३ मा मैले बप्तिस्मा गर्दा स्पेनको कान्ताब्रिया प्रान्तको सान्तान्दर सहरमा ७० जना साक्षीहरू मात्र थिए। त्यहाँको इलाका निकै ठूलो भएकोले सबै ठाउँमा प्रचार गर्न हामी सुरुमा बसबाट अनि त्यसपछि कारबाट यात्रा गर्थ्यौं। एक-एक गर्दै हामीले त्यहाँका सयौं गाउँहरूमा प्रचार गऱ्यौं।

वर्षौंको दौडान मैले थुप्रै बाइबल अध्ययन सञ्चालन गर्ने सुअवसर पाएकी छु। तिनीहरूमध्ये ११ जनाले त बप्तिस्मा पनि गरिसके। तिनीहरू धेरैजसो क्याथोलिक पृष्ठभूमिका थिए। पहिला म आफै पनि कट्टर विश्वासी भएकीले तिनीहरूसित धीरजी र विवेकी हुँदै व्यवहार गर्न सिकें। आफूले एकदमै विश्वास गरेका कुरा हटाउन समय लाग्छ अनि सत्य यही हो भनेर चिन्न बाइबल र यहोवाको पवित्र शक्तिले तिनीहरूको हृदय छुनु जरुरी छ भनेर मैले बुझेकी थिएँ। (हिब्रू ४:१२) मेरो श्रीमान्‌ बाइभेनेदो प्रहरी हुनुहुन्थ्यो। उहाँले १९७९ मा बप्तिस्मा गर्नुभयो। मेरी आमाले पनि आफू बित्नुभन्दा केही समयअघि बाइबल अध्ययन गर्नुभयो।

अरासेली: साक्षीहरूसित बाइबल अध्ययन गर्दा सुरुमा त म शङ्‌कालु नै थिएँ। तर हप्ताहरू बित्दै जाँदा ममा भएको तितोपना हराउँदै गएको पाएँ। साक्षीहरूले आफूले सिकाएअनुसारै गरेको देखेर म एकदमै प्रभावित भएँ। शङ्‌काको ठाउँमा बिस्तारै भरोसा पलायो; म पहिलाभन्दा अझ आनन्दित हुँदै गएँ। छिमेकीहरूले त यस्तो समेत भने: “अरासेली, अहिले जुन बाटो रोजेकी छ्यौ, त्यसमै लागिरहनू है!”

मैले यसरी प्रार्थना गरेको अझै याद छ: “हे यहोवा, तपाईंलाई मुरी-मुरी धन्यवाद! तपाईंले मेरो साथ कहिल्यै छोड्‌नुभएन। तपाईंले मेरो हरेक इच्छा पूरा गरिदिनुभयो; बाइबलको सही ज्ञान लिने चाहना पनि पूरा गरिदिनुभयो।” फेलिसा दिदीलाई पहिला नराम्रो वचन लगाएकोमा पनि माफी मागें। पहिला-पहिलाजस्तो बहस गर्नुको साटो अहिले हामी बाइबलसम्बन्धी रोचक छलफल गर्छौं। सन्‌ १९८९ मा ६१ वर्षको उमेरमा मैले बप्तिस्मा गरें।

फेलिसा: अहिले म ९१ वर्ष पुगें। मेरो श्रीमान्‌ बितिसक्नुभयो। अनि पहिलाजस्तो बलियो पनि छैन। तैपनि म हरेक दिन बाइबल पढ्‌छु, स्वास्थ्यले दिएसम्म सभा जान्छु र सकेजति प्रचारमा भाग लिंदा रमाउँछु।

अरासेली: सायद पहिला नन भएकीले होला पादरी र ननहरूलाई प्रचार गर्न मनपर्छ। उनीहरूलाई थुप्रै प्रकाशनहरू दिएकी छु र कोहीसँग त रोचक कुराकानी पनि भएको छ। मलाई अझै याद छ, दुई-तीन पटक भेटिसकेपछि एक जना पादरीले यसो भन्नुभएको थियो: “अरासेली, तिम्रो कुरा सोह्रै आना सही हो। तर यो उमेरमा म के नै गर्न सक्छु र? समाजले अनि परिवारले के भन्लान्‌?” मैले जवाफ दिएँ: “परमेश्वरले चाहिं के भन्नुहोला त?” दुःखी हुँदै तिनले टाउको हल्लाए। तर सत्यको खोजी गरिरहने हिम्मत तिनले देखाउन सकेनन्‌।

मेरो जीवनको सबैभन्दा खुसीको क्षण मलाई अझै याद छ। श्रीमान्‌ले ‘म पनि सँगै सभा जान्छु’ भनेको क्षण खुसीले खुट्टा भुइँमा थिएन। त्यतिबेला ८० वर्ष नाघिसक्नुभएको भए पनि उहाँले त्यसपछि कहिल्यै सभा छुटाउनुभएन। उहाँले बाइबल अध्ययन गर्नुभयो र बप्तिस्मा अप्राप्त प्रकाशक हुनुभयो। उहाँसँगै प्रचारमा बिताएका पलहरू अहिले पनि झलझली याद आउँछ। तर दुःखको कुरा, बप्तिस्मा गर्नुभन्दा दुई महिनाअघि नै उहाँको मृत्यु भयो।

फेलिसा: अहिले मैले जीवनको सबैभन्दा खुसीको क्षण अनुभव गर्न पाएकी छु। सुरुमा मेरो विरोध गर्ने तीनै जना बहिनी अहिले साक्षी भएको देख्दा मेरो मन खुसीले गद्‌गद हुन्छ। यसरी एकअर्कासित नजिक हुन पाएकोमा, मायालु परमेश्वर यहोवाबारे कुरा गर्न पाएकोमा र उहाँको वचनबारे छलफल गर्न पाएकोमा हामी निकै आनन्दित छौं। यहोवालाई चिनेकोले हामी चारै जना दिदीबहिनी अहिले एक हुन सकेका छौं। *

^ अनु. 29 अरासेली, फेलिसा र रामोनी क्रमशः ८७, ९१ र ८३ वर्ष पुगिसके। तैपनि जोसिलो भई यहोवाको सेवा गर्दै छन्‌। सन्‌ १९९० मा लोरीको मृत्यु भयो। उनी अन्तसम्मै विश्वासी रहिन्‌।