अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अप्रिल २०१६

परमेश्वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ

परमेश्वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ

“तिनीहरूको देखासिकी गर्नेहरू होओ, जसले विश्वास [वफादार रहेर] अनि धैर्य गरेर परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल गर्छन्‌।”—हिब्रू ६:१२.

गीत: ८६, ५४

१, २. यिप्तह र तिनकी छोरीले कस्तो गाह्रो अवस्थाको सामना गर्नुपऱ्यो?

पर्खाइको घडी सकिएको छ। आफ्नो बुबा लडाइँ जितेर सकुशल फर्केको देखेर यी केटीको खुट्टा भुइँमै छैन। उनी नाच्दै-गाउँदै बुबालाई भेट्‌न जान्छिन्‌। तर छोरीसँगसँगै खुसी हुनुको साटो ती बुबाले युद्धले मैलिएको आफ्नो लुगा च्यात्छन्‌ र रुँदै यसो भन्छन्‌: “हाय मेरी छोरी ! तिमीले मेरो मनै भाँचिदियौ।” त्यसपछि तिनले छोरीलाई यस्तो कुरा भन्छन्‌, जसले ती छोरीको सबै सपना चकनाचुर पार्ने थियो अनि अरू मान्छेले जस्तै सामान्य जीवन बिताउने उनको आकाङ्‌क्षा पनि अधूरै रहने थियो। तैपनि कुनै आनाकानी नगरी उनले बुबालाई यहोवासित गरेको वाचा पूरा गर्न हौसला दिन्छिन्‌। कस्तो राम्रो प्रतिक्रिया! उनको विश्वास कत्ति बलियो छ भन्ने कुरा यसबाट देखिन्छ नि, होइन र? हो, यहोवाले जे गर्न भन्नुहुन्छ, त्यसैअनुसार गर्दा आफ्नै भलाइ हुन्छ भनेर उनी भरोसा गर्थिन्‌। (न्याय. ११:३४-३७) छोरीको यस्तो निर्णयलाई यहोवाले अनुमोदन दिनुहुन्छ भन्ने कुरा थाह भएकोले बुबाको मन पनि गर्वले फुलेको छ।

गाह्रो अवस्था आइपर्दा समेत यिप्तह अनि परमेश्वरको भय मान्ने तिनकी छोरीले यहोवाको कामकुरा सम्हाल्ने तरिकामा भरोसा गरे। मानिसले चढाउने कुनै  पनि बलिदानभन्दा यहोवाको अनुमोदन पाउनु कता हो कता महत्त्वपूर्ण छ भनेर तिनीहरू विश्वस्त थिए।

३. यिप्तह र तिनकी छोरीको उदाहरणले हामीलाई के गर्न मदत दिन्छ?

यहोवाप्रति वफादार रहन सधैं सजिलो हुँदैन भन्ने कुरा हामीलाई थाह छ। वास्तवमा भन्ने हो भने, वफादार रहन अर्थात्‌ सधैंभरि यहोवामाथि विश्वास गरिरहन ‘अझ परिश्रम गरेर लड्‌नुपर्छ।’ (यहू. ३) यिप्तह र तिनकी छोरीको उदाहरणले हामीलाई यसो गर्न मदत गर्नेछ। त्यसैले तिनीहरूले के-कस्ता चुनौतीहरू सफलतासाथ पार गरे, हामीले त्यो बुझ्नु आवश्यक छ। त्यसोभए आउनुहोस्, ‘तिनीहरू परमेश्वरप्रति कसरी वफादार रहे,’ त्यस विषयमा विचार गरौं।

खराब प्रभावको बाबजुद वफादार

४, ५. (क) प्रतिज्ञा गरिएको देशमा पस्नुअघि यहोवाले इस्राएलीहरूलाई कस्तो आज्ञा दिनुभएको थियो? (ख) भजन १०६ अनुसार परमेश्वरको विद्रोह गर्दा इस्राएलीहरूले कस्तो नतिजा भोग्नुपऱ्यो?

यहोवाप्रति अवफादार हुँदा कस्तो नराम्रो नतिजा भोग्नुपर्ने हुन्छ, त्यसबारे यिप्तह र तिनकी छोरीले हरेक दिन नै सम्झौटोहरू पाएका हुन सक्छन्‌। करिब ३०० वर्षअघि तिनीहरूको पुर्खालाई झूटो देवीदेवताको उपासना गर्ने सबैलाई प्रतिज्ञा गरिएको देशबाट धपाउन आज्ञा दिइएको थियो। (व्यव. ७:१-४) तर तिनीहरूले त्यो आज्ञा पालन गरेनन्‌। फलस्वरूप, धेरैजसो इस्राएली कनानीहरूजस्तै खराब मार्गमा हिंडे। तिनीहरू झूटा देवताहरूको उपासना गर्ने पासोमा परे र अनैतिक काम गर्नतिर लागे।भजन १०६:३४-३९ पढ्‌नुहोस्।

यस्तो विद्रोह गरेको कारण तिनीहरूले यहोवाको अनुमोदन गुमाउनुपऱ्यो; यहोवाले तिनीहरूलाई सुरक्षा दिन छोड्‌नुभयो। (न्याय. २:१-३, ११-१५; भज. १०६:४०-४३) त्यस्तो गाह्रो समयमा परमेश्वरको भय मान्ने परिवारलाई उहाँप्रति वफादार रहन कत्ति गाह्रो भयो होला, सोच्नुहोस् त! तैपनि त्यतिबेला थुप्रै मानिस परमेश्वरप्रति वफादार रहे भनी बाइबल बताउँछ; यिप्तह र तिनकी छोरी मात्र होइन, एल्काना, हन्ना र शमूएल पनि परमेश्वरको अनुमोदन पाउन लागिपरे।—१ शमू. १:२०-२८; २:२६.

६. अहिलेको संसार कस्तो छ? हामीले कस्तो कदम चाल्नुपर्छ?

अहिले हामी बाँचिरहेको समयका मानिसहरू पनि कनानीहरूजस्तै छन्‌। तिनीहरू यौन-अनैतिकता, हिंसा अनि भौतिक चिजबिजलाई बढावा दिन्छन्‌। त्यसैले इस्राएलीहरूलाई जस्तै यहोवाले हामीलाई पनि त्यस्ता मानिसहरूको प्रभावमा नपर्न स्पष्ट चेतावनी दिनुभएको छ। के हामी इस्राएलीहरूको गल्तीबाट केही पाठ सिक्छौं? (१ कोरि. १०:६-११) हामीले आफूमा कनानीहरूको सोचाइको छनक मात्र पायौं भने पनि त्यसलाई हटाउन भरपूर कोसिस गर्नुपर्छ। (रोमी १२:२) यस्तो कदम चालेर के हामी वफादार रहेको देखाउँछौं?

निराशाको बाबजुद वफादार

७. (क) यिप्तहले आफ्नै मानिसहरूबाट कस्तो दुःख भोग्नुपऱ्यो? (ख) तर तिनले के गरे?

यिप्तहको समयमा इस्राएलीहरू अनाज्ञाकारी हुँदा तिनीहरू पलिश्तीहरू र अम्मोनीहरूको दासत्वमा परे। (न्याय. १०:७, ८) यिप्तहले शत्रु राष्ट्रबाट मात्र होइन तर आफ्नै दाजुभाइ अनि आफ्नै देशका नाइकेहरूबाट समेत अन्यायपूर्ण व्यवहार सहनुपऱ्यो। डाह अनि घृणाको कारण तिनका सौतेनी भाइहरूले तिनलाई धपाए अनि जेष्ठ अधिकारबाट पनि वञ्चित गरे। (न्याय. ११:१-३) तर यिप्तहले तिनीहरूलाई खराबीको साटो खराबी गरेनन्‌; इस्राएल राष्ट्रका बूढापाकाहरूले मदतको लागि गुहार्दा तिनले एउटा कानले सुनेर अर्को कानले उडाएनन्‌, बरु मदतको हात बढाए। (न्याय. ११:४-११) यिप्तहले यस्तो राम्रो मनोवृत्ति देखाउन सक्नुको कारण के थियो?

८, ९. (क) मोशाको व्यवस्थामा दिइएका कस्ता सिद्धान्तहरूले यिप्तहलाई मदत गरेको हुन सक्छ? (ख) यिप्तहका लागि कुन कुरा महत्त्वपूर्ण थियो?

यिप्तह वीर योद्धा मात्र थिएनन्‌, तिनी परमेश्वरले  आफ्ना मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ, त्यस विषयमा गहिरिएर अध्ययन गर्ने असल विद्यार्थी पनि थिए। इस्राएलीहरूको इतिहासलाई राम्ररी केलाएकोले तिनले परमेश्वरको नजरमा कुन कुरा असल हो अनि कुन कुरा खराब हो, राम्ररी बुझ्न सके। (न्याय. ११:१२-२७) तिनले आफ्नो सोचाइ र मनलाई मोशाको व्यवस्थामा पाइने ईश्वरीय सिद्धान्तअनुसार ढालेका थिए। मनमा रिस पालेको यहोवालाई मन पर्दैन, बरु आफ्ना मानिसहरूले एकअर्कालाई प्रेम गरेको चाहनुहुन्छ भन्ने कुरा तिनले बुझेका थिए। अनि खाँचोमा परेकाहरूलाई बेवास्ता गर्नुहुँदैन, यहाँसम्म कि आफूलाई “घृणा गर्ने मानिस”-लाई समेत मदत गर्नुपर्छ भनेर तिनले व्यवस्थाबाट सिकेका थिए।प्रस्थान २३:५; लेवी १९:१७, १८ पढ्‌नुहोस्।

आफूसित ‘दुस्मनी राख्ने’ दाइहरूलाई समेत कृपा देखाउने वफादार यूसुफको उदाहरणले गर्दा पनि यिप्तहले राम्रो व्यवहार देखाउन सकेको हुनुपर्छ। (उत्प. ३७:४; ४५:४, ५) त्यस्ता राम्रा उदाहरणहरू मनन गरेकोले यिप्तहले यहोवालाई खुसी पार्ने मार्ग छनौट गर्न सके। आफ्ना भाइहरूको व्यवहारले गर्दा यिप्तहलाई गहिरो चोट परेको भए तापनि यहोवा र उहाँका मानिसहरूको सेवा गर्नदेखि तिनी पछि हटेनन्‌। (न्याय. ११:९) यिप्तहले आपसी मनमुटावलाई भन्दा यहोवाको नामको खातिर लड्‌ने विषयलाई महत्त्वपूर्ण ठाने। तिनी यहोवाप्रति वफादार रहन दृढ थिए; यसले गर्दा तिनले अनि अरूले पनि राम्रो नतिजा चाख्न सके।—हिब्रू ११:३२, ३३.

१०. हामी बाइबल सिद्धान्तअनुसार चलेको कसरी देखाउन सक्छौं?

१० कत्ति राम्रो उदाहरण! के त्यसोभए हामी पनि यिप्तहले बसालेको नमुना पछ्याउछौं त? हामीलाई पनि ख्रीष्टियन दाजुभाइ वा दिदीबहिनीले चित्त दुखाएको वा नराम्रो व्यवहार गरेको हुन सक्छ। त्यतिबेला हामीले सभा जानै छोड्‌ने, यहोवाको सेवा नै नगर्ने र सभामा पूरापूर भाग नलिने गर्नु हुँदैन। यिप्तहको उदाहरण अनुकरण गर्दै हामी परमेश्वरले तोक्नुभएका स्तरहरू मनन गरेर नकारात्मक भावनाहरू हटाउन र भलाइ गरिरहन सक्छौं।—रोमी १२:२०, २१; कल. ३:१३.

स्वैच्छिक बलिदान चढाउँदा हाम्रो विश्वास झल्किन्छ

११, १२. यिप्तहले कस्तो भाकल गरे? त्यो कस्तो किसिमको बलिदान थियो?

११ इस्राएलीहरूलाई अम्मोनीहरूको हातबाट छुटाउन परमेश्वरको मदत चाहिन्छ भनेर यिप्तहले महसुस गरे। यहोवाले तिनलाई विजयी तुल्याउनुभयो भने लडाइँबाट फर्किंदा आफ्नो घरबाट जो पहिला निस्कन्छ, उसलाई “होमबलि”-को रूपमा चढाउँछु भनेर तिनले वाचा गरे। (न्याय. ११:३०, ३१) तिनले चढाउने होमबलिले वास्तवमा कुन कुरालाई बुझाउँछ?

१२ मानिसको बलि चढाउनु यहोवाको नजरमा एकदमै घिनलाग्दो कुरा हो। त्यसैले यिप्तहले मान्छेको बलि चढाउने कुरा गरिरहेका थिएनन्‌ भनेर स्पष्ट छ। (व्यव. १८:९, १०) मोशाको व्यवस्थाअनुसार होमबलि चढाउँदा त्यसको पूरै अंश यहोवालाई अर्पण गर्नुपर्थ्यो। त्यसकारण यिप्तहले आफूले अर्पण गर्ने मानिसलाई पूर्ण रूपमा उहाँको सेवा गर्न अर्पण गर्छु भन्न खोजिरहेका थिए। त्यसको मतलब त्यस अर्पित व्यक्तिले यहोवाको बासस्थानमा रहेर आजीवन सेवा गर्नुपर्थ्यो। यहोवाले यिप्तहको सर्त स्वीकार्नुभयो; शत्रुहरूलाई मार्न अनि अधीनमा पार्न मदत गरेर यहोवाले तिनलाई विजयी तुल्याउनुभयो। (न्याय. ११:३२, ३३) तर “होमबलि”-को रूपमा चढाइने ती व्यक्ति को हुनेथिए?

१३, १४. न्यायकर्त्ता ११:३५ मा लेखिएको यिप्तहको शब्दबाट तिनको विश्वास कस्तो छ भन्ने देखिन्छ?

१३ यस लेखको सुरुमा चर्चा गरिएको दृश्य सम्झनुहोस्। यिप्तह लडाइँबाट फर्कंदा तिनलाई सबैभन्दा पहिला भेट्‌न तिनकी एक मात्र प्यारी छोरी बाहिर निस्किन्छिन्‌। कत्ति ठूलो परीक्षा! के अब यिप्तहले आफ्नो वचन पूरा गर्लान्‌? अनि आफ्नी छोरीलाई आजीवन परमेश्वरको बासस्थानमा सेवा गर्न अर्पण गर्लान्‌?

 १४ यतिबेला, परमेश्वरको व्यवस्थामा पाइने सिद्धान्तहरूले यिप्तहलाई सही निर्णय गर्न मदत गऱ्यो। सायद तिनले प्रस्थान २३:१९ मा दिइएका शब्दहरू विचार गरेको हुनुपर्छ, जहाँ यहोवाका सेवकहरूलाई सबैभन्दा उत्तम कुरा चढाउन निर्देशन दिइएको छ। साथै, कुनै व्यक्तिले भाकल गर्छ भने त्यो पूरा गर्नै पर्छ भनेर पनि व्यवस्थामा लेखिएको थियो। जस्तै: “कुनै मानिसले परमप्रभुको निम्ति भाकल गऱ्यो . . . भने, त्यसले आफ्नो वचन भङ्‌ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नै पर्छ” भनेर व्यवस्थामा बताइएको थियो। (गन्ती ३०:२) वफादार स्त्री हन्ना, जो यिप्तहकै समयतिरको हुनुपर्छ, उनले जस्तै यिप्तहले पनि आफ्नो भाकल पूरा गरे। आफ्नो अनि छोरीको भविष्य कस्तो हुन्छ भनेर थाह भए पनि तिनी यस्तो कदम चाल्न पछि हटेनन्‌। यिप्तहको सन्तानको नाममा ती छोरी मात्र थिइन्‌; तिनको वंश धान्ने अनि इस्राएलमा तिनको नाम कायम गर्ने अनि सारा सम्पत्तिको हकदार तिनी मात्रै थिइन्‌। (न्याय. ११:३४) तैपनि न्यायकर्त्ता ११:३५ मा यिप्तहले यसो भनेको पाउँछौं: “मैले परमप्रभुमा एउटा भाकल गरेको छु, औ म त्यो टार्न सक्तिनँ।” वफादार रहन ठूलो मोल चुकाउनुपरे तापनि तिनले परमेश्वरको अनुमोदन र आशिष्‌ पाए। के तपाईं पनि यिप्तहजस्तै वफादार रहनुहुन्छ?

१५. हामीमध्ये धेरैजसोले कस्तो भाकल गरेका छौं? हामी वफादार रहेको कसरी देखाउन सक्छौं?

१५ यहोवालाई आफ्नो जीवन समर्पण गर्दा कुनै कन्जुस्याइँ नगरी तनमनको सेवा चढाउनेछौं भनेर हामीले भाकल गरेका थियौं। त्यो वाचा पूरा गर्न आत्मत्यागी मनोभाव देखाउनुपर्छ भनेर हामीले बुझेका छौं। तर आफूलाई मन नपर्ने काम गर्न अह्राइँदा भने हाम्रो स्वेच्छाको जाँच हुन्छ। त्यस्तो बेला आत्मत्यागी मनोभाव देखायौं र आफूलाई असजिलो लाग्दा समेत परमेश्वरको सेवा गऱ्यौं भने हामी वफादार भइरहेका हुनेछौं। हामीले गरेको त्याग जतिसुकै ठूलो अनि पीडादायी भए पनि त्यसले ल्याउने आशिष्‌ हामीले सोचेको भन्दा कता हो कता अपार हुनेछ। (मला. ३:१०) यिप्तहकी छोरीले चाहिं कस्तो प्रतिक्रिया देखाइन्‌?

हामी यिप्तह र तिनकी छोरीको विश्वास कसरी अनुकरण गर्न सक्छौं? (अनुच्छेद १६, १७ हेर्नुहोस्)

१६. आफ्नो बुबाले गरेको भाकलबारे सुनेपछि यिप्तहकी छोरीले कस्तो प्रतिक्रिया देखाइन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

१६ आफ्नो बुबाले गरेको भाकलअनुसार गर्न यिप्तहकी  छोरीलाई सजिलो थिएन। यिप्तहले गरेको भाकल हन्नाले गरेको भाकलभन्दा फरक थियो। हन्नाले आफ्नो छोरा शमूएललाई परमेश्वरको बासस्थानमा नाजिरीको रूपमा सेवा गर्न अर्पण गर्ने भाकल गरेकी थिइन्‌। (१ शमू. १:११) नाजिरीले विवाह गर्न र परिवार बसाल्न सक्थ्यो। तर यिप्तहकी छोरीले आफूलाई “होमबलि”-को रूपमा पूर्णतया यहोवामा समर्पण गर्नुपर्थ्यो; मतलब तिनले त्यस्ता इच्छा-आकाङ्‌क्षा सबै त्याग्नुपर्थ्यो। (न्याय. ११:३७-४०, NRV) इस्राएलको वीर सेनापति अनि नाइकेकी छोरी भएकीले तिनले त्यहाँको सबैभन्दा उच्च घरानाको व्यक्तिसँग विवाह गर्न सक्थिन्‌। तर अब तिनले बासस्थानमा दास जस्तो भएर सेवा गर्नुपर्ने थियो। यी युवतीले कस्तो प्रतिक्रिया देखाउने थिइन्‌? यहोवाको सेवालाई प्राथमिकता दिएको कुरा तिनको यो भनाइमा देखिन्छ: “बुबा, तपाईंले परमप्रभुमा भाकल गर्नुभएको छ। तपाईंले जो गम्भीर भाकल गर्नुभएको छ, त्यहीअनुसार मलाई गर्नुहोस्।” (न्याय. ११:३६) साँचो उपासना गर्नको लागि तिनले विवाह गर्ने अनि छोराछोरी जन्माउने आफ्नो इच्छा त्यागिन्‌। हामी तिनको आत्मत्यागी मनोभाव कसरी अनुकरण गर्न सक्छौं?

१७. (क) यिप्तह र तिनकी छोरीको विश्वास हामी कसरी अनुकरण गर्न सक्छौं? (ख) आत्मत्यागी मनोभाव देखाउन तपाईंलाई हिब्रू ६:१०-१२ ले कसरी मदत गर्छ?

१७ हजारौं जवान ख्रीष्टियन पुरुष अनि स्त्रीले तनमनले यहोवाको सेवा गर्न विवाह नगर्ने वा छोराछोरी नजन्माउने निर्णय गरेका छन्‌ अथवा केही समयको लागि त्यस्तो इच्छालाई थाती राखेका छन्‌। उमेर ढल्किसकेकाहरूले पनि निर्माणकार्यमा भाग लिन वा राज्य प्रचारकहरूका लागि स्कुलमा भाग लिन अनि आवश्यकता धेरै भएको ठाउँमा गएर यहोवाको सेवा गर्न आफ्नो छोराछोरी अनि नातिनातिनासँग बिताउने समयलाई कटौती गरेका छन्‌। अरू कतिपयले चाहिं स्मरणार्थ उत्सवको अभियानमा पूरापूर भाग लिन व्यक्तिगत कामकुरालाई पछि सारेका छन्‌। आफ्ना सेवकहरूले यसरी तनमनको सेवा चढाउँदा यहोवाको मन खुसीले गद्‌गद हुन्छ। अनि तिनीहरूले गरेको काम र देखाएको प्रेम उहाँ कहिल्यै बिर्सनुहुन्न। (हिब्रू ६:१०-१२ पढ्‌नुहोस्) के तपाईं अझ धेरै यहोवाको सेवा गर्न अरू त्यागहरू गर्न सक्नुहुन्छ?

हामीले सिक्नुपर्ने पाठ

१८, १९. यिप्तह र तिनकी छोरीको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? हामी तिनीहरूको कसरी अनुकरण गर्न सक्छौं?

१८ थुप्रै चुनौतीहरूको सामना गर्नुपरे तापनि यिप्तहले पाइला-पाइलामा यहोवाको इच्छालाई प्राथमिकता दिए। तिनी आफू वरपरका मानिसहरूको प्रभावमा परेनन्‌। अरूले निराश तुल्याउँदा समेत तिनको वफादारी ढलपल भएन। तिनले अनि तिनकी छोरीले देखाएको आत्मत्यागी मनोभावको कारण यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुभयो; उहाँले तिनीहरूलाई साँचो उपासनालाई बढावा दिन प्रयोग गर्नुभयो। अरूले परमेश्वरको स्तरलाई बेवास्ता गर्दा समेत यिप्तह र तिनकी छोरी यहोवासित टाँसिरहे।

१९ “विश्वास [वफादार रहेर] अनि धैर्य गरेर परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल” गर्नेहरूको “देखासिकी” गर्न बाइबलमा हामीलाई आग्रह गरिएको छ। (हिब्रू ६:१२) त्यसैले आउनुहोस्, वफादार रहँदा यहोवाको अनुमोदन पाइन्छ भन्ने कुरा मनमा राख्दै यिप्तह र तिनकी छोरीको अनुकरण गरौं।