अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अगस्त २०१६

 जीवनी

अरूलाई दिंदा पाएको खुसी

अरूलाई दिंदा पाएको खुसी

बाह्र वर्ष छँदाको घटना मलाई अझै झलझली याद छ; आफूसँग अरूलाई दिनुपर्ने बहुमूल्य कुरा रहेछ भनेर मैले त्यतिबेला पहिलो चोटि महसुस गरें। अब म तपाईंहरूलाई त्यो घटना बताउँछु। एक जना दाइले मलाई सम्मेलनमा “प्रचार जान मनपर्छ” भनेर सोध्नुभएको थियो। हुन त त्योभन्दा पहिला म कहिल्यै प्रचार गएको थिइनँ, तैपनि मैले “हुन्छ” भनें। त्यसपछि उहाँसँगै प्रचार गर्ने इलाकामा गएँ। उहाँले मलाई परमेश्वरको राज्यबारे लेखिएको पर्चा दिंदै भन्नुभयो: “तिमीले यो साइडमा गर्नू, मचाहिं यता गर्छु।” डरले रातोपिरो हुँदै सबै घरमा प्रचार गरें; अचम्मको कुरा! त्यो पर्चा सकाउन मलाई धेरै समय नै लागेन। मैले जुन कुरा अरूलाई दिइरहेको थिएँ, त्यसमा धेरैलाई चासो थियो भन्ने कुरामा रत्तिभर शङ्‌का थिएन।

मेरो जन्म सन्‌ १९२३ मा इङ्‌गल्यान्डको केन्ट भन्ने ठाउँमा रहेको चेटाममा भएको थियो। त्यहाँ कसैको अनुहारमा खुसी थिएन; सबै जना जिन्दगीदेखि हरेस खाएको जस्तो देखिन्थ्यो। पहिलो विश्व युद्ध सकिएको भए पनि सुन्दर संसारको कुनै छनक थिएन। चर्चका पादरीहरू पनि आफ्नै फाइदा खोज्नमा व्यस्त थिए। त्यो देखेर मेरो आमाबुबा वाक्क-दिक्क हुनुभएको थियो। तर म लगभग नौ वर्षको छँदा मेरी आमा ‘अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्‌गठन’-को कार्यक्रममा जान थाल्नुभयो। त्यहाँ यहोवाका साक्षीहरूले आफ्ना “कक्षाहरू” अर्थात्‌ सभाहरू सञ्चालन गर्थे। त्यहाँका दिदीहरूले हामी बच्चाहरूलाई बाइबलका पाठहरू सिकाउनुभयो अनि परमेश्वरको वीणा (अङ्‌ग्रेजी) भन्ने किताब पनि दिनुभयो। मलाई त्यतिबेला आफूले सिकेको कुरा खुबै मन पऱ्यो।

अरूबाट सिक्दै

किशोरै भए पनि मलाई परमेश्वरको वचनबाट अरूलाई आशाको सन्देश बताउन निकै रमाइलो लाग्थ्यो। प्रायजसो घर-घरको प्रचारमा एक्लै जान्थें तर अरूसँग प्रचार जाँदा मैले धेरै लाभ उठाउन सकेको छु। यससम्बन्धी म तपाईंहरूलाई एउटा घटना बताउन चाहन्छु। एक जना दाइसँगै साइकल चलाएर इलाकातिर जाँदै थिएँ; बाटोमा पादरीलाई देखेपछि मैले “ऊ हेर्नुस् त, बाख्रा!” भनें। त्यो दाइले टक्क आफ्नो साइकल रोक्नुभयो र ‘एकछिन बसेर कुरा गरौं’ भन्नुभयो। उहाँले भन्नुभयो: “बाख्रा हो-होइन भनेर छुट्टयाउने अधिकार तिमीलाई कसले दियो? हेर भाइ, हाम्रो काम भनेको मान्छेहरूलाई सुसमाचार सुनाउनु हो! न्याय गर्ने काम त यहोवाको हो।” यसरी मैले सानै उमेरदेखि दिंदा आनन्दित हुनुपर्छ भन्ने विषयमा थुप्रै पाठ सिक्दै आएँ।—मत्ती २५:३१-३३; प्रेषि. २०:३५.

अर्को एक जना पाको दाइबाट पनि मैले निकै राम्रो पाठ सिकें। दिंदा पाइने आनन्द महसुस गर्ने हो भने कहिलेकाहीं हामी धीरजी  हुनुपर्छ भनेर उहाँबाट थाह पाएँ। उहाँकी श्रीमतीलाई यहोवाका साक्षीहरू भनेपछि फुटेको आँखाले पनि हेर्न मन पर्दैन थियो। तर एकदिन ती दाइले मलाई आफ्नो घरमा खाजा खान बोलाउनुभयो। अचानक उहाँकी श्रीमती बम्किन थाल्नुभयो; “किन प्रचार गएको” भनेर श्रीमान्‌लाई नानाथरी भन्न थाल्नुभयो अनि हामीतिर धमाधम चियाका पाकेटहरू फाल्न थाल्नुभयो। श्रीमतीलाई हपार्नुको साटो ती दाइले चियाका पाकेटहरू पहिलाकै ठाउँमा राख्नुभयो। यसरी धीरजी हुँदा उहाँले वर्षौंपछि त्यसको मीठो फल चाख्न पाउनुभयो; पछि उहाँकी श्रीमतीले पनि बप्तिस्मा गर्नुभयो।

अरूलाई भविष्यको आशाबारे बताउने मेरो इच्छा झन्‌-झनै बढ्‌दै गयो। त्यसैले मैले र आमाले सन्‌ १९४०, मार्चमा डोभर भन्ने ठाउँमा बप्तिस्मा गऱ्यौं। सन्‌ १९३९, सेप्टेम्बरमा म १६ वर्षको छँदा बेलायतले जर्मनीसित युद्ध गर्ने घोषणा गऱ्यो। सन्‌ १९४०, जूनताका मैले आफ्नै घरअगाडिबाट ट्रकका ट्रक घाइते सिपाहीहरू ओसारेको देखें। तिनीहरू डनकर्कको युद्धमा बच्न सफल भएका रहेछन्‌। ती सिपाहीहरूको आँखामा उज्ज्वल भविष्यको कुनै आशा थिएन। त्यसैले म तिनीहरूलाई परमेश्वरको राज्यबारे बताउन चाहन्थें। त्यसको ठीक एक वर्षपछि बेलायतमा धमाधम बम वर्षा हुन थाल्यो। हरेक रात बम खसाल्ने जर्मन सेनाहरू आकाशमा यताउती घुम्थे। बम सुइँ-सुइँ गर्दै खस्थ्यो; त्यो सुनेर सातोपुत्लो उड्‌थ्यो। बिहान उठेर हेर्दा त वरपरका घरहरू धुँवा र खरानी भइसकेका हुन्थे। यो घटनाले गर्दा परमेश्वरको राज्यसिवाय अरू केही आशा छैन भन्ने कुरामा म अझै पक्का भएँ।

दिने काममा समर्पित

सन्‌ १९४१ देखि मेरो जीवनमा खुसीको क्षण सुरु भयो। त्यसभन्दा अघि म युद्धमा प्रयोग गरिने जहाजहरू बनाउने बन्दरगाहमा सिकारु कामदारको रूपमा काम गर्दै थिएँ; पद पनि राम्रो थियो अनि कमाइ पनि मज्जाकै थियो। हामी यहोवाका साक्षीहरूले राष्ट्रहरूको युद्धमा भाग लिनु हुँदैन भनेर धेरै अघिदेखि नै बुझेका थियौं। तर सन्‌ १९४१ देखि हातहतियार बनाउने कारखानामा पनि काम गर्नु हुँदैन भनेर बुझ्यौं। (यूह. १८:३६) मैले काम गर्ने बन्दरगाहमा पनि युद्धमा प्रयोग गरिने पनडुब्बी जहाज बनाइने भएकोले जागिर छोडेर पूर्ण समय सेवा गर्ने निर्णय गरें। मैले सबैभन्दा पहिला कट्‌सवल्डको सुन्दर सहर साइरेनसेस्टरमा गएर प्रचार गर्ने जिम्मेवारी पाएँ।

अठार वर्ष पुगेपछि सैन्य सेवामा भाग नलिएकोले ९ महिना जेलमा बस्नुपऱ्यो। पहिलोचोटि जेलको ढोका ढ्‌याम्म थुनेको सुन्दा अनि एक्लै बस्नुपर्दा मलाई निकै डर लाग्यो। तर केही समयपछि नै सुरक्षा गार्ड र कैदीहरूले ‘किन जेलमा परेको’ भनेर सोध्न थाले; मैले तिनीहरूलाई खुसीसाथ आफ्नो विश्वासबारे बताउन सकें।

जेलबाट छुटेपछि मलाई लियोनार्ड स्मिथसित * मेरै जन्मथलो केन्टको विभिन्न ठाउँमा प्रचार गर्न खटाइयो। सन्‌ १९४४ को सुरुतिर विस्फोटक पदार्थहरू बोकेका हजारौं मानवरहित हवाईजहाज  बमहरू केन्ट सहरमा बर्सन थाले। हामी नाजीहरूले कब्जा जमाएको युरोप र लन्डनको हवाई मार्गको ठ्‌याक्कै बीचमा बस्थ्यौं। ती हवाई बमलाई ‘डुडलबग्स’ भनिन्थ्यो। त्यो युद्ध कहालीलाग्दो थियो। हवाईजहाजको इन्जिन बन्द भएको केही सेकेन्डमै ठूलो विस्फोटको आवाज आउँथ्यो। यस्तो आवाज सुन्दा-सुन्दा कतिखेर के हुन्छ भनेर सजिलै अनुमान लगाउन सक्ने भइसकेका थियौं। हामीले एउटा परिवारसँग बाइबल अध्ययन गर्थ्यौं। तिनीहरू जम्मा ५ जना थिए। अध्ययन गर्ने बेला केहीगरि घर भत्कियो भने पनि सुरक्षित होस् भनेर हामी फलामको टेबुलमुनि बस्थ्यौं। पछि, ती परिवारका सबै जना बप्तिस्मा गरेर साक्षी भए।

विदेशमा गएर सेवा गर्दाको अनुभव

अग्रगामी भएको सुरुतिर आयरल्याण्डमा अधिवेशनको विज्ञापन गर्दै

युद्धको अन्त भएपछि मैले दक्षिणी आयरल्याण्डमा गएर २ वर्ष अग्रगामी सेवा गरें। इङ्‌गल्यान्डभन्दा आयरल्याण्ड निकै फरक छ भन्ने कुराको हामीले हेक्का राखेनौं। हामीले घरघरमा गएर ‘हामी मिसनरी हौं’ भनेर डेरा माग्ज्थ्यौं अनि बाटोमा हिंड्‌ने मानिसहरूलाई पत्रिका दिन्थ्यौं। क्याथोलिकहरूको देशमा गएर यसरी सोध्ने हामी कत्ति मूर्ख! एक जना मान्छेले हामीलाई धम्क्याउँदै आक्रमण गर्दा मैले प्रहरीलाई उजुरी गरेको थिएँ। तिनले यसो भनेका थिए: “तिमी के चाहन्छौ?” हामीले पादरीहरूसित कत्ति धेरै शक्ति छ भन्ने कुराको कल्पनासमेत गरेका थिएनौं। कसैले हाम्रा साहित्यहरू स्वीकारेमा पादरीहरूले तिनीहरूको जागिर खोसिदिन्थे अनि हामीलाई पनि घरबाट जबरजस्ती निकाल्न लगाउँथे।

हामीले नयाँ ठाउँमा पुगेपछि के गर्नुपर्दो रहेछ भनेर चाँडै सिक्यौं। पहिला हामी बसिरहेको ठाउँबाट टाढा अर्कै पादरीको इलाकाका गएर मानिसहरूलाई प्रचार गर्दा राम्रो हुँदो रहेछ भनेर थाह पायौं। अनि अन्तमा हामीले नजिकै बस्ने सबै मानिसहरूलाई प्रचार गऱ्यौं। केल्केनीमा मानिसहरूको भीडले डर-धम्की देखाए पनि हामीले एक जना जवान व्यक्तिसित हप्ताको ३ पटक बाइबल अध्ययन गऱ्यौं। बाइबलका सत्य कुरा मानिसहरूलाई सिकाउन पाउँदा मेरो आनन्द निकै बढ्‌यो। त्यसैले मिसनरी तालिमको लागि गिलियड स्कुलको फाराम भर्ने निर्णय गरें।

सन्‌ १९४८-१९५३ सम्म मिसनरी घरको रूपमा प्रयोग गरिएको सिबिया डुङ्‌गा

न्यु योर्कमा पाँच महिनाको गिलियड कक्षाबाट स्नातक भएपछि हामी चार जनालाई क्यारेबियन समुद्रको सानो टापुमा खटाइयो। हामीले सन्‌ १९४८, नोभेम्बरमा न्यु योर्क सहरलाई अलबिदा गर्दै सिबिया नाम गरेको १८ मिटर लामो डुङ्‌गा चढ्‌यौं। योभन्दा पहिला मैले समुद्री यात्रा नगरेको हुनाले निकै उत्साहित थिएँ। हाम्रा साथी गस्ट माकी भने डुङ्‌गाका अनुभवी कप्तान थिए। तिनले हामीलाई समुद्री यात्रा गर्दा उपयोगी हुने केही व्यावहारिक कुराहरू सिकाए। कसरी डुङ्‌गा तल-माथि हुन्छ, कम्पासको निर्देशनलाई कसरी पछ्याउने, र हावाको वेगको कसरी सामना गर्ने इत्यादि। गस्टले हाम्रो डुङ्‌गालाई ३० दिनको कठिन यात्रा पार गराउँदै बहामासमा उतारे।

‘समुद्र किनारका देशहरूमा प्रचार गर्दै’

केही समय बहामासको स-सानो टापुमा प्रचार गरेपछि लिवर्ड र विनवर्ड टापुहरूतिर लाग्यौं। यी टापुहरू ८०० किलोमिटर टाढासम्म फैलिएका छन्‌। यो पोर्टो रिको नजिकै पर्ने भर्जिन टापुदेखि ट्रिनिडाडसम्म फैलिएको छ। हामीले पाँच वर्षसम्म विशेषगरि यहोवाका साक्षीहरू नभएका टापुहरूमा प्रचार गऱ्यौं। कहिलेकाहीं त हप्तौंसम्म पनि कुनै खबर आदानप्रदान गर्न सक्दैन थियौं। जेहोस्, ‘समुद्र किनारका देशहरूमा प्रचार गर्न’ पाउँदा हामी निकै खुसी थियौं।—यर्मि. ३१:१०.

सिबिया डुङ्‌गा चलाउने मिसनरी समूह (बायाँबाट दायाँ): रन पर्किन, डिक रिड, गस्ट माकी र स्टान्ली कार्टर

डुङ्‌गालाई किनारा लगाउँदा हामीलाई हेर्न मानिसहरूको भीड लाग्थ्यो। किनभने तिनीहरूले डुङ्‌गा र गोरो छाला भएका मानिसहरूलाई पहिला कहिल्यै देखेकै रहेनछन्‌। त्यस टापुका मानिसहरू मिजासिलो, धार्मिक झुकाव भएका व्यक्तिहरू थिए। तिनीहरूलाई बाइबलबारे धेरै कुरा थाह रहेछ। प्रायजसो तिनीहरूले हामीलाई ताजा माछा, एभोकाडो र बदाम दिन्थे। तर सुत्न, पकाउन अनि लुगा धुनका लागि चाहिं डुङ्‌गामै जेनतेन मिलाउँज्थ्यौं।

डुङ्‌गालाई किनारामा राखेर हामी दिनभरि नै मानिसहरूलाई भेट्‌न जान्थ्यौं। अनि तिनीहरूलाई बाइबल आधारित भाषण  सुन्न बोलाउँज्थ्यौं। साँझ परेपछि हामीले जहाजको हर्न बजाउँज्थ्यौं। मानिसहरू घर-घरबाट हातमा टुकी-बत्ती लिएर निस्केको दृश्य हेर्दा निकै रमाइलो लाग्थ्यो। तिनीहरूले हातमा बत्ती लिएर पहाडबाट ओर्लंदा ताराहरू झरिरहेकोजस्तै देखिन्थ्यो। कहिलेकाहीं १०० जनाजति भेला हुन्थे अनि साँझ अबेरसम्म बसेर प्रश्नहरू सोधिरहन्थे। तिनीहरू गीत गाउन पाउँदा निकै खुसी हुन्थे। त्यसैले हामीले केही राज्य गीतहरू टाइप गरेर तिनीहरूलाई दियौं। हामी चारै जनाले सक्दो राम्ररी गाउने प्रयास गऱ्यौं र तिनीहरूले पनि स्वरमा स्वर मिलाएर गाउँदा एकदमै राम्रो सुनियो। कत्ति खुसीको क्षण!

हाम्रा केही बाइबल विद्यार्थीहरू बाइबलको कुरा सिक्न एकदमै इच्छुक थिए। त्यसैले कोही-कोही त उनीहरूको अध्ययन सकेपछि हामी अर्को अध्ययनमा जाँदा पछि-पछि लागेर आउँथे र त्यो अध्ययनमा पनि बस्थे। कुनै-कुनै ठाउँमा केही हप्ता मात्र बिताउन पाउँज्थ्यौं। त्यसैले एकदमै चासो दिनेहरूलाई हामी फर्केर नआउन्जेल अरूको पनि अध्ययन गरिदिनू भन्थ्यौं। तिनीहरूमध्ये कोही-कोहीले आफ्नो जिम्मेवारी तनमनले पूरा गरेको देख्न पाउनु निकै खुसीको कुरा थियो।

त्यहाँका धेरैजसो टापु पानीका निला दहहरू, बलौटे समुद्री किनार अनि खजूरका रूखहरूले सजिएको भए पनि पर्यटकहरूको नजरबाट लुकेको थियो तर अहिले त्यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। विशेषगरि हामी रातको समय पारेर एउटा टापुबाट अर्को टापुमा जान्थ्यौं। हाम्रो डुङ्‌गा छेउछाउ डल्फिनहरू खेल्न आउँथे; तिनीहरूले उफ्री-उफ्री समुद्रमा डुबुल्की मारेको आवाज चारैतिर सुनिन्थ्यो। टहटह चम्किरहेको जुनको ज्योति शान्त समुद्रमाथि पर्दा त्यो ज्योतिले सुन्दर बाटो बनाएजस्तो देखिन्थ्यो।

टापुहरूमा प्रचार गरेर पाँच वर्ष बिताएपछि इन्जिन भएको डुङ्‌गासँग हाम्रो डुङ्‌गा साट्‌न पोर्टो रिकोको यात्रामा निस्क्यौं। त्यहाँ पुगेपछि मेरो भेट खुबै राम्री मिसनरी बहिनी म्याक्सिन बोइडसित भयो। मलाई तिनी साह्रै मन पऱ्यो। तिनी सानैदेखि प्रचारमा निकै जोसिलो रहेछिन्‌। पछि तिनले डोमिनिकन गणतन्त्रमा मिसनरीको रूपमा सेवा गरेकी रहेछिन्‌; सन्‌ १९५० मा क्याथोलिक सरकारले देश निकाला नगरेसम्म तिनले त्यहीं सेवा गरिन्‌। डुङ्‌गाको सदस्य भएकोले मैले पोर्टो रिकोमा एक महिना मात्र बस्ने अनुमति पाएँ। त्यसैकारण म चाँडै नै पहिलेका टापुहरूमा फर्कनुपर्थ्यो र केही वर्ष त्यतै बिताउनुपर्थ्यो। त्यसैले मैले आफैलाई यसो भनें: ‘रोनाल्ड, तिमी यो केटीलाई पाउन चाहन्छौं भने ढिला नगर।’ यसको तीन हप्तापछि नै प्रस्ताव राखें अनि छ हप्तापछि विवाह गऱ्यौं। त्यसपछि हामीलाई पोर्टो रिकोमै मिसनरीको रूपमा सेवा गर्ने जिम्मेवारी दिइयो। त्यसैले मैले नयाँ डुङ्‌गामा यात्रा गर्न पाइनँ।

सन्‌ १९५६ देखि हामीले क्षेत्रीय निरीक्षकको रूपमा विभिन्न मण्डली भ्रमण गऱ्यौं। मण्डलीका धेरैजसो दाजुभाइ दिदीबहिनी गरिब थिए तर तिनीहरूसित भेट्‌दा हामीलाई निकै रमाइलो लाग्थ्यो। उदाहरणका लागि, पोताला पास्तिलो भन्ने गाउँमा धेरै जना केटाकेटी भएका दुई साक्षी परिवार बस्थे; ती केटाकेटीहरूसित रमाइलो गर्न म बाँसुरी बजाउँथें। तिनीहरूमध्येकी एउटी सानी केटी हिल्डालाई हामीले ‘प्रचारमा आउन चाहन्छौ कि’ भनेर सोध्यौं। तर तिनले यसो भनिन्‌: “आउन त चाहन्छु तर सक्दिनँ किनभने मसित जुत्ता नै छैन।” हामीले तिनलाई एक जोर जुत्ता किनिदियौं अनि तिनले पनि हामीसितै प्रचारमा भाग लिइन्‌। वर्षौंपछि, सन्‌ १९७२ मा म्याक्सिन र म ब्रूक्लिन बेथेल घुम्न गएका थियौं। भर्खरै गिलियड स्कुलबाट स्नातक भएकी एक जना बहिनी हामीकहाँ आइन्‌; तिनी इक्वेडर जान लागेकी रहेछिन्‌। तिनले यसो भनिन्‌: “मलाई चिन्नु भएन होला, हगि? म पास्तिलोको त्यही सानी केटी! जुत्ता किन्दिनु भा’थ्यो नि।” ओहो! तिनी हिल्डा पो रहेछिन्‌! हामीले खुसीले आफ्नो आँसु थाम्नै सकेनौं।

सन्‌ १९६० मा हामीलाई पोर्टो रिको शाखा कार्यालयमा सेवा गर्न बोलाइयो। त्यो कार्यालय सान वानको सान्ट्रस भन्ने ठाउँको दुई तले भवनमा थियो। सुरुमा त्यहाँको धेरैजसो काम लेनार्ट जोन्सन र म मिलेर गर्थ्यौं। तिनी र तिनकी श्रीमती डोमिनिकन गणतन्त्रका पहिलो साक्षी थिए। तिनीहरू सन्‌ १९५७ मा पोर्टो रिको आएका थिए। पछि म्याक्सिनले पत्रिका ग्राहकसित सम्बन्धित काम गरिन्‌। तिनले एक हप्तामा हजारभन्दा धेरै ग्राहकको काम गर्नुपर्थ्यो। सबै मानिसले आध्यात्मिक आहार पाइरहेका छन्‌ भन्ने कुरा मनमा राखेकोले तिनी यस काममा निकै रमाउन सकिन्‌।

बेथेल सेवाबाट मैले निकै आनन्द उठाउन सकेको छु। किनभने बेथेल जीवनमा अरूलाई ‘दिने’ अर्थात्‌ अरूको सेवा गर्ने मौका थुप्रै हुन्छ। यसको अर्थ चुनौतीहरू नै हुँदैन भन्न खोजेको होइन। उदाहरणको लागि, सन्‌ १९६७ मा पोर्टो रिकोमा पहिलो अन्तरराष्ट्रिय सम्मेलन हुँदा साह्रै नमिठो अनुभव भोग्नुपऱ्यो। त्यतिबेला यहोवाका साक्षीहरूमाझ नेतृत्व लिइरहेका भाइ नेथन नोर पोर्टो रिकोमा आउनुभएको थियो। खै किन हो, उहाँले मलाई त्यहाँ आएका मिसनरीहरूलाई आवतजावत गर्न सवारी साधनको प्रबन्ध नमिलाएको गुनासो गर्नुभयो। तर मैले त आफूले गर्नुपर्ने जति सबै गरेको थिएँ। पछि उहाँले मलाई व्यवस्थित हुने विषयमा कडा सल्लाह दिनुभयो र मेरो कामले खुसी नभएको कुरा बताउनुभयो। मैले उहाँसित विवाद गर्न खोजिनँ, तर उहाँले कुरै नबुझी  व्यवहार गर्नुभयो भन्ने लाग्यो अनि केही समय निराशाको सिकार भएँ। जेहोस्, अर्को चोटि भाइ नेथन नोरलाई भेट्‌दा उहाँले म्याक्सिन र मलाई आफ्नो कोठामा बोलाउनुभयो र हाम्रो निम्ति उहाँ आफैले खाना पकाउनुभयो।

पोर्टो रिकोमा छँदा हामी परिवारलाई भेट्‌न थुप्रै पटक इङ्‌गल्यान्ड गयौं। आमा र मैले सत्य स्वीकारी सकेको भए पनि बुबाले स्वीकारी सक्नुभएको थिएन। तर बेथेल-वक्ताहरू भाषण दिन आउँदा आमाले उहाँहरूलाई हाम्रो घरमा बस्ने प्रबन्ध मिलाउनुहुन्थ्यो। यसरी मेरो बुबाले बेथेलबाट आएका ती निरीक्षकहरू वर्षौंअघि आफूलाई वाक्क-दिक्क बनाउने पादरीहरूभन्दा निकै फरक र नम्र देख्नुभयो। अन्ततः सन्‌ १९६२ मा मेरो बुबाले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्नुभयो।

विवाह भएको केही समयपछि पोर्टो रिकोमा म्याक्सिनसित अनि सन्‌ २००३ मा हाम्रो विवाहको ५० औं वार्षिकीको दिन

सन्‌ २०११ मा मेरी प्यारी पत्नी म्याक्सिनको निधन भयो। म तिनी पुनर्जीवित हुने दिनको प्रतीक्षामा छु। म्याक्सिन र मैले ५८ वर्ष पोर्टो रिकोमा बिताउँदा यहोवाका साक्षीहरू ६५० बाट वृद्धि भएर २६,००० पुगेको देख्न पायौं! सन्‌ २०१३ मा पोर्टो रिको शाखा अमेरिकाको शाखा कार्यालयमा गाभियो। अनि मलाई न्यु योर्कको वाल्किलमा सेवा गर्न भनियो। पोर्टो रिको टापुमा ६० वर्ष बिताएकोले मलाई आफू पनि त्यहींको रैथाने जस्तो लाग्थ्यो; भनौं भने, त्यहाँका रूखहरूमा पाइने, कोकी-कोकी गर्दै कराउने कोकी भ्यागुता जस्तै आफू पनि रैथाने भइसकें जस्तो लाग्थ्यो। तर त्यो ठाउँलाई बिदाइ गर्ने समय आइसकेको थियो।

“खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ”

म अझै पनि बेथेलमा सेवा गरेर आनन्द उठाउँदै छु। उमेर त मेरो ९० कटिसकेको छ तर मेरो कामचाहिं बेथेल परिवारका सदस्यहरूलाई आध्यात्मिक तवरमा प्रोत्साहन दिने हो। वाल्किल आइसकेपछि मैले ६०० जना जतिलाई प्रोत्साहन दिइसकेको छु। कति जना तिनीहरूको व्यक्तिगत वा पारिवारिक समस्याको समाधान कसरी गर्ने भनेर कुरा गर्न आउँछन्‌। अरू कतिपयले चाहिं बेथेल सेवामा कसरी सफल हुने भनेर सोध्छन्‌। नवविवाहित जोडीहरू पनि सल्लाह माग्न आउँछन्‌। कति जनालाई फेरि क्षेत्रमा खटाइएको छ। मसँग कुरा गर्न आउने सबैको कुरा सुन्छु अनि उपयुक्त छ भने यसो पनि भन्छु: “‘खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।’ त्यसैले आफ्नो काममा रमाउनुहोस्। जे गर्दै हुनुहुन्छ, यहोवाको लागि गर्दै हुनुहुन्छ।”—२ कोरि. ९:७.

अरू क्षेत्रमा जस्तै बेथेल सेवा गर्दा पनि आनन्दित भएर सेवा गरिरहन गाह्रो हुन सक्छ। त्यसैले आफूले गरिरहेको काम किन महत्त्वपूर्ण छ भन्ने कुरा मनमा राख्नु बेस हो। हामीले बेथेलमा गर्ने जुनसुकै काम पनि पवित्र सेवाको भाग हो। यो सेवाद्वारा हामीले संसारभरिका दाजुभाइ दिदीबहिनीका लागि आध्यात्मिक खाना प्रबन्ध गर्न “विश्वासी र बुद्धिमान्‌ दास”-लाई मदत गरिरहेका हुन्छौं। (मत्ती २४:४५) जहाँसुकै रहेर सेवा गरे पनि हामीले यहोवाको प्रशंसा गर्ने सुअवसर पाउँछौं। त्यसैले रमाउँदै उहाँले भनेझैं गरिरहौं, किनभने “खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”

^ अनु. 13 प्रहरीधरहरा, अप्रिल १५, २०१२ मा लियोनार्ड स्मिथको जीवनी प्रकाशित भएको थियो।