अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१६

के तपाईं ‘बुद्धिलाई जोगाइराख्नुहुन्छ?’

के तपाईं ‘बुद्धिलाई जोगाइराख्नुहुन्छ?’

एकादेशमा एउटा गाउँ थियो। त्यहाँ एक जना गरिब केटो बस्थ्यो। ऊ त्यति टाठो छैन भनेर गाउँका मानिसहरू उसलाई गिज्याउँथे। त्यस गाउँमा बाहिरबाट मानिसहरू आउँदा केही गाउँलेहरूले उसको खिसी उडाउँथे। गाउँलेहरू दुइटा सिक्का लिएर आउँथे—एउटा चाँदीको ठूलो सिक्का, अर्कोचाहिं सुनको सानो सिक्का। यो सानो सुनको सिक्काको मोल चाँदीको सिक्काको भन्दा दुई गुना थियो। तिनीहरू यसो भन्थे, “तिमीलाई कुनचाहिं चाहिन्छ, लेऊ।” त्यो केटो भने चाँदीको सिक्का लिएर भाग्थ्यो।

एक चोटिको कुरा, त्यस गाउँमा आएका एक जना मानिसले त्यस केटोलाई सोध्यो, “तिमीलाई थाह छ, यो चाँदीको सिक्काभन्दा सुनको सिक्काको मोल दुई गुना बढी छ?” त्यो सानो केटोले हाँस्दै भन्यो, “अँ, थाह छ।” त्यस मानिसले फेरि सोध्यो, “त्यसो भए चाँदीको सिक्का किन लिएको त? सुनको लियौ भने तिमीसित डबल पैसा हुन्छ!” तर त्यस केटोले भन्यो, “सुनको सिक्का लिएँ भने मानिसहरूले मसित सिक्काको खेल खेल्नेछैनन्‌। तपाईंलाई थाह छ, मैले अहिलेसम्म कति वटा चाँदीको सिक्का जम्मा गरिसकें?” त्यस केटोले देखाएको गुण वयस्कहरूलाई नभई हुँदैन। त्यो हो, बुद्धि।

बाइबल यसो भन्छ: “बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्टिबाट जान नदे, तब तँ आफ्नो मार्गमा सुरक्षित भई हिंड्‌नेछस्, र तेरा खुट्टा लरबरिनेछैन।” (हितो. ३:२१, २३, NRV) “बुद्धि” के हो र बुद्धि कसरी चलाउने भनेर थाह पायौं भने यसले हाम्रो सुरक्षा गर्छ। बुद्धि चलाउँदा हाम्रा “खुट्टा” लरबरिनेछैन अर्थात्‌ हामी आध्यात्मिक तवरमा ठेस नखाई अघि बढिरहन सक्छौं।

बुद्धि के हो?

बुद्धि भनेको ज्ञान र समझ होइन। ज्ञान भएको व्यक्तिसित विभिन्न जानकारी, तथ्यहरू हुन्छ। समझ भएको व्यक्तिले आफूलाई थाह भएका कुराहरूबीच कस्तो सम्बन्ध छ भनेर बुझेको हुन्छ। बुद्धि भएको व्यक्तिले भने ज्ञान र समझ दुवै प्रयोग गरेर व्यावहारिक कदम चाल्छ।

उदाहरणको लागि, कसैले बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने किताब एकदमै थोरै समयमा पढेर बुझ्लान्‌। बाइबल अध्ययन गर्दा तिनले सही जवाफ पनि देलान्‌। मण्डलीका सभाहरूमा उपस्थित भएर राम्रो टिप्पणीसमेत गर्लान्‌। यसो गर्दा तिनले आध्यात्मिक प्रगति गरेजस्तो देखिएला तर तिनले साँच्चै बुद्धि हासिल गरे भन्न सकिन्छ र? त्यसो नहुन पनि सक्छ। तिनको दिमाग छिटो चल्छ होला। तर आफूले सिकेको ज्ञान र समझ ठीकसित प्रयोग गरेर तिनले सत्यलाई व्यवहारमा उतार्छन्‌ भने मात्र तिनलाई बुद्धिमान्‌ भन्न मिल्छ। तिनले राम्ररी सोचविचार गरी निर्णय गर्छन्‌ र परिणाम राम्रो हुन्छ भने तिनले बुद्धि चलाएको प्रस्ट देखिन्छ।

मत्ती ७:२४-२७ मा येशूले घर बनाउने दुई जना मानिसको दृष्टान्त बताउनुभयो। तीमध्ये एक जनालाई “बुद्धिमान्‌” भनिएको छ। भविष्यमा हुन सक्ने अवस्थालाई विचार गर्दै तिनले चट्टानमाथि घर बनाए। तिनले पछिसम्मको कुरा विचार गरेर व्यावहारिक कदम चाले। तिनले बालुवामाथि घर बनाउँदा सस्तो र छिटो हुन्छ भन्ने तर्क गरेनन्‌। बुद्धिमान्‌ भई तिनले पछिसम्मको कुरा विचार गरे। त्यसैले घनघोर पानी परेर बतास चल्दा तिनको घर ढलेन। अब प्रश्न उठ्‌छ, बुद्धिजस्तो अनमोल गुण हामी कसरी हासिल गर्न र त्यसलाई जोगाइराख्न सक्छौं?

हामी कसरी बुद्धि हासिल गर्न सक्छौं?

पहिलो कुरा, मीका ६:९ के भन्छ, याद गर्नुहोस्: “[परमेश्वरको] नाउँको भय मान्नु सिद्ध ज्ञान [“बुद्धि,” NW] हो।” यहोवाको नामको भय मान्नु भनेको उहाँको आदर गर्नु हो। यसको अर्थ उहाँको नाममा के-के कुरा मुछिएको छ र उहाँका स्तर कस्ता छन्‌ भन्ने बुझेर उहाँप्रति उचित भय राख्नु हो। कुनै व्यक्तिको  सोच्ने तरिका राम्ररी बुझ्यौं भने मात्र तिनको आदर गर्न हामीलाई सजिलो हुन्छ। तब तिनको राम्रो तौरतरिकालाई अनुकरण गर्दै तिनीमाथि भरोसा राख्न र तिनीबाट सिक्न सक्छौं। आफूले चालेको कदमले पछि गएर यहोवासितको सम्बन्धमा कस्तो असर पार्छ भनेर सोच्यौं अनि उहाँको स्तरअनुसार निर्णय गऱ्यौं भने मात्र हामीले बुद्धि हासिल गरिरहेका हुन्छौं।

दोस्रो कुरा, हितोपदेश १८:१ (NW) यसो भन्छ: “अलग्गै बस्ने मानिसले आफ्नै स्वार्थ मात्र खोज्छ र व्यावहारिक बुद्धिका कुराहरूलाई कुनै वास्ता गर्दैन।” होसियार भएनौं भने हामी यहोवा र उहाँका मानिसहरूबाट टाढिन सक्छौं। त्यसैले अरूबाट अलग नहुन हामीले परमेश्वरको नामको भय मान्ने र उहाँको स्तरको आदर गर्ने मानिसहरूसित समय बिताउनुपर्छ। सम्भव भएसम्म राज्यभवनमा नियमित रूपमा हाम्रा दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्नुपर्छ। सभामा बस्दा ध्यान दिएर सुन्नुपर्छ अनि आफूले सुनेको कुरा दिमागमा राख्ने मात्र होइन, मनसम्म पुग्न दिनुपर्छ।

साथै, मन खोलेर यहोवालाई प्रार्थना गऱ्यौं भने हामी उहाँसित नजिक हुनेछौं। (हितो. ३:५, ६) बाइबल र परमेश्वरको सङ्‌गठनले तयार पारेका प्रकाशनहरू पढ्‌दा त्यसमा भएको कुरा हाम्रो दिमाग र मनसम्म पुग्नुपर्छ। आफूले पढेको कुरा मनसम्म पुग्यो भने आफूले चाल्ने कदमले पछि कस्तो परिणाम ल्याउनेछ भनेर बुझ्नेछौं र त्यसैअनुसार गर्न सक्नेछौं। मण्डलीका परिपक्व दाजुभाइले दिने सल्लाह पनि मनैदेखि स्वीकार्नुपर्छ। (हितो. १९:२०) त्यसो गऱ्यौं भने “बुद्धिका कुराहरूलाई” बेवास्ता गर्नेछैनौं, बरु गहन बुद्धि हासिल गरिरहेका हुनेछौं।

 बुद्धिले हाम्रो परिवारलाई कसरी मदत गर्नेछ?

बुद्धिले परिवारको सुरक्षा गर्न सक्छ। उदाहरणको लागि, बाइबलले पत्नीहरूलाई आफ्ना पतिहरूको “गहिरो आदर” गर्न आग्रह गर्छ। (एफि. ५:३३) पतिले कसरी आफ्नी पत्नीको गहिरो आदर पाउन सक्छन्‌? जबरजस्ती गरेर वा कठोर भएर आफ्नी पत्नीबाट आदर पाउन खोज्छ भने त्यस्तो आदर लामो समयसम्म टिक्दैन। पतिसित झगडा नहोस् भनेर पत्नीले तिनी सँगै भएको बेला केही हदसम्म आदर देखाउलिन्‌। तर के आफ्नो पति सँगै नभएको बेला पनि तिनलाई आदर देखाऊँ जस्तो लाग्नेछ? लाग्नेछैन होला। पछिसम्म राम्रो सम्बन्ध बनाइराख्न के गर्नुपर्छ भनेर पतिले विचार पुऱ्याउनुपर्छ। पतिले पवित्र शक्तिको फलका विभिन्न पक्षहरूजस्तै दयामाया देखाए भने तिनले आफ्नी पत्नीबाट गहिरो आदर कमाउनेछन्‌। आफ्नो पति आदरको योग्य होस् या नहोस्, ख्रीष्टियन पत्नीले तिनको आदर गर्नै पर्छ।—गला. ५:२२, २३.

पतिले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ भनेर पनि बाइबलमा बताइएको छ। (एफि. ५:२८, ३३) कहिलेकाहीं, पतिलाई नराम्रो लाग्ला र आफूलाई माया नगर्ला भनेर पतिलाई थाह दिनै पर्ने कुनै कुरा गोप्य राखूँ जस्तो पत्नीलाई लाग्न सक्छ। तर वास्तवमा के त्यसो गर्नु बुद्धिमानी हो? पत्नीले लुकाइराखेको कुरा पतिले थाह पाए भने के हुनेछ? के तिनले आफ्नी पत्नीलाई अझ धेरै माया गर्लान्‌? तिनलाई त्यसो गर्न गाह्रो लाग्न सक्छ। त्यसैले नराम्रा कुराहरू त्यसरी लुकाउनुको साटो पतिलाई उपयुक्त समयमा शान्तपूर्वक बताउनुपर्छ। त्यसो गरिन्‌ भने पतिले उनको इमानदारीको कदर गर्नुका साथै अझ धेरै माया गर्नेछन्‌।

अहिले छोराछोरीलाई कसरी अनुशासन दिनुहुन्छ, त्यसले पछि उनीहरूसित कुराकानी गर्न सजिलो या गाह्रो बनाउन सक्छ

छोराछोरीले आमाबाबुको आज्ञा मान्नुपर्छ अनि आमाबाबुले छोराछोरीलाई यहोवाको तौरतरिकाबमोजिम अनुशासन दिनुपर्छ। (एफि. ६:१, ४) के यसको मतलब आमाबाबुले आफ्ना छोराछोरीको लागि ‘यसो गर, त्यसो नगर’ भन्ने लामो सूची बनाउनुपर्छ भनेको हो? छोराछोरीले घरमा कस्ता-कस्ता नियम पालन गर्नुपर्छ अनि गल्ती गरेको खण्डमा कस्तो सजाय भोग्नुपर्छ भनेर थाह पाएर मात्र पुग्दैन। छोराछोरीले कुनै नियम किन पालन गर्नुपर्छ भनेर पनि बुद्धिमान्‌ आमाबाबुले आफ्ना छोराछोरीलाई बुझाउनुपर्छ।

मानौं, छोरा वा छोरीले आफ्नो आमा वा बुबासित अनादरपूर्वक कुरा गर्छ। यस्तो बेला छोराछोरीलाई बेस्सरी गाली गऱ्यौं वा रिसको झोंकमा सजाय दियौं भने तिनलाई आफ्नो बेइज्जत भएजस्तो लाग्न सक्छ। अथवा तिनी केही नबोली चुपचाप बस्न सक्छन्‌। तर तिनले मनमा रिस पालिरहेको हुन सक्छ र आफ्ना आमाबाबुबाट टाढिन सक्छन्‌।

बुद्धिमानी भई कदम चाल्ने आमाबाबुले अहिले छोराछोरीलाई कसरी अनुशासन दिनुपर्छ, त्यसबारे सोच्नेछन्‌। त्यति मात्र होइन, भविष्यमा त्यसले छोराछोरीमाथि पार्न सक्ने असरबारे पनि विचार गर्नेछन्‌। छोराछोरीको कुनै व्यवहार चित्त बुझेन भन्दैमा झनक्क रिसाएर आमाबाबुले सोचविचारै नगरी बोल्नु हुँदैन। बरु आफ्नो छोरा वा छोरी एक्लै भएको बेला शान्तपूर्वक अनि मायालु ढङ्‌गमा तिनलाई बुझाउन सकिन्छ कि? अनि आमाबाबुको आज्ञा पालन गर्दा तिनकै फाइदा हुन्छ अनि यसो गरेको यहोवा पनि चाहनुहुन्छ भनेर बुझाउनुभए कसो होला? यसरी छोराछोरीले आफ्ना आमाबाबुलाई आदर गर्नु भनेको यहोवालाई नै आदर गर्नु हो भनेर बुझ्नेछन्‌। (एफि. ६:२, ३) यस्तो व्यवहारले छोराछोरीको मन छुन्छ। आमाबाबुले साँच्चै चासो राख्छ भन्ने महसुस गर्नेछन्‌ अनि आमाबाबुप्रति तिनीहरूको आदर पनि बढ्‌नेछ। यस्तो सुमधुर सम्बन्ध कायम भयो भने पछि गहन विषयहरूमा पनि आमाबाबुसित कुरा गर्न छोराछोरी हिचकिचाउनेछैनन्‌।

केही आमाबाबुलाई आफ्ना छोराछोरीको चित्त दुख्ला भन्ने डर लाग्न सक्छ। त्यसैले उनीहरू आफ्ना छोराछोरीलाई सच्याउँदैनन्‌। तर बच्चालाई कहिल्यै सच्याएन भने तिनी ठूलो भएपछि के हुनेछ? के तिनले यहोवाको डर राख्नेछन्‌? के तिनले परमेश्वरको स्तरअनुसार चल्नु बुद्धिमानी हो भनेर बुझ्नेछन्‌? के तिनी आफ्ना दिमाग र मन दुवैले यहोवाको कुरा सुन्न इच्छुक हुनेछन्‌? वा तिनी परमेश्वरको कुरा सुन्नदेखि टाढिनेछन्‌?—हितो. १३:१; २९:२१.

एक जना सिपालु मूर्तिकारले कस्तो मूर्ति बनाउने भनेर पहिल्यै सोचविचार गर्छ। तिनले जथाभाबी मूर्ति कुँदेर राम्रो मूर्ति बनिहाल्छ भन्ने आस गर्दैनन्‌। बुद्धि हासिल गरेका आमाबाबुले यहोवाको नामको डर मान्छन्‌। अनि उहाँको स्तर के हो भनी सिक्न र त्यसलाई व्यवहारमा उतार्न घण्टौं बिताउँछन्‌। यसरी यहोवा र उहाँको सङ्‌गठनबाट अलग नहुने आमाबाबुले बुद्धि हासिल गर्छन्‌ अनि आफ्नो परिवारलाई बलियो बनाउन त्यसको प्रयोग गर्छन्‌।

हामीले दिनहुँ निर्णयहरू गर्नुपर्ने हुन्छ। अहिले गरेका निर्णयहरूको असर वर्षौंपछिसम्म पनि रहिरहन सक्छ। आवेगमा आएर हतारपतार निर्णय गर्नुभन्दा एकछिन रोकेर सोच्नुभए कसो होला? आफ्नो निर्णयले पछिसम्म पार्न सक्ने असरबारे विचार गर्नुहोस्। यहोवाको डोऱ्याइ खोज्नुहोस्। अनि उहाँले दिनुहुने बुद्धि व्यवहारमा उतार्नुहोस्। यसो गऱ्यौं भने बुद्धिलाई जोगाइराख्नेछौं र जीवन पाउनेछौं।—हितो. ३:२१, २२.