अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१६

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

 एउटा पुरातन विवरणअनुसार एक जना मानिसले बाली लगाएको खेतमा अर्को मानिस आएर सामा छऱ्यो भनिएको छ। के त्यो विवरण सही हो?

सम्राट्‌ जस्टिनियनको १४६८ मा छापिएको डाइजेस्ट। यसबाहेक पुरातन समयका कानुनी मुद्दाहरूबारे अरू थुप्रै रेकर्ड उपलब्ध छन्‌

मत्ती १३:२४-२६ मा येशूले यो दृष्टान्त सुनाउनुभयो: “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छऱ्यो। मानिसहरू सुतिरहेको बेला उसको शत्रु आयो र गहुँको बीच-बीचमा सामा छरेर गयो। जब बाला निस्केर गेडा लाग्यो, तब सामा पनि देखा पऱ्यो।” यो दृष्टान्त सत्य हो या होइन भन्नेबारे थुप्रै लेखकहरूले प्रश्न उठाएका छन्‌। तर यो वास्तविक घटना हो भनेर रोमका कानुनी दस्ताबेजहरूले देखाउँछ।

एउटा बाइबल शब्दकोशअनुसार “बदला लिन अर्काको खेतमा सामा छर्नु . . . रोमी कानुनअनुसार अपराध थियो। यस मामिलामा नियम तोकिएको हुनुले यस्ता घटनाहरू बेलाबेलामा हुने गर्थ्यो भन्ने देखिन्छ।” कानुनविद्‌ एलेस्टर केरअनुसार इस्वी संवत्‌ ५३३ मा रोमी सम्राट्‌ जस्टिनियनले रोमी नियमकानुनको सारांश र इस्वी संवत्‌ १००-२५० बीचका न्यायाधीशहरूको उद्धरण संकलन गरेर एउटा पुस्तक (डाइजेस्ट) प्रकाशित गरे। तिनको किताबमा (डाइजेस्ट, ९.२.२७.१४) उल्लेख गरिएका न्यायाधीश उल्पियनले दोस्रो शताब्दीका रोमी नेता सेल्ससले हेरेको एउटा मुद्दाबारे लेखेका छन्‌। मुद्दाको विषय थियो: एक जना मानिसले अर्काको खेतमा सामा छरिदियो। त्यसले गर्दा बाली बिग्रियो। त्यसैले जग्गाधनी वा मोहीले कानुनले दिएको अधिकार प्रयोग गरेर शत्रुसित क्षतिपूर्ति माग्न सक्छ भनेर डाइजेस्ट-मा बताइएको छ।

रोमी साम्राज्यमा मानिसहरूले अरूसित बदला लिन कहिलेकाहीं यस्ता द्वेषपूर्ण काम गर्थे भन्ने प्रमाणहरू उपलब्ध छन्‌। त्यसैले येशूले दृष्टान्तमा बताउनुभएको अवस्था काल्पनिक होइन भन्न सक्छौं।

प्रथम शताब्दीमा रोमले यहूदियाका अख्तियारवालाहरूलाई कत्तिको स्वतन्त्रता दिएको थियो?

त्यसबेला यहूदियामाथि रोमले शासन गर्थ्यो। रोमले यहूदियामा एक जना राज्यपाल र तिनको अधीनमा एउटा टुकडी खटाएको हुन्थ्यो। राज्यपालको मुख्य काम रोमको लागि कर उठाउनु र आफ्नो प्रान्तमा शान्ति, सुव्यवस्था कायम गर्नुथियो। रोमले गैरकानुनी गतिविधिलाई दबाउन खोज्थ्यो अनि समाजको सुव्यवस्थालाई खलबल्याउने व्यक्तिलाई सजाय दिन्थ्यो। यीबाहेक अन्य दैनिक गतिविधिको सुपरिवेक्षण गर्ने जिम्मा भने रोमले स्थानीय निकायलाई सुम्पेको थियो।

यहूदी न्यायपरिषद्‌मा सुनुवाइ भइरहेको दृश्य

त्यतिबेलाको न्यायपरिषद्‌ यहूदीहरूको सर्वोच्च अदालतसरह थियो र त्यसले नै यहूदी नियमकानुनसम्बन्धी सम्पूर्ण मामिला हेर्थ्यो। यहूदियाका विभिन्न इलाकामा स्थानीय अदालतहरू थिए। प्रायजसो निजामती र फौजदारी मुद्दाहरू ती स्थानीय अदालतहरूले नै फैसला गर्थे। यसमा रोमी शासकहरूले कुनै हस्तक्षेप गर्दैनथे। तर यहूदी अदालतहरूले एउटा फैसला भने गर्न सक्दैनथे। त्यो हो, अपराधीहरूलाई मृत्युदण्ड दिने। यो अधिकारचाहिं रोमीहरूले अक्सर अरूलाई दिंदैनथ्यो। तर यहूदी न्यायपरिषद्‌का सदस्यहरूले स्तिफनसको पुर्पक्ष र तिनलाई ढुङ्‌गाले हानेर मार्दा भने यो अधिकार आफ्नै हातमा लिए।—प्रेषि. ६:८-१५; ७:५४-६०.

हो, यहूदी न्यायपरिषद्‌ले धेरै अधिकार पाएको थियो। तर शास्त्रविद्‌ एमेल सुरर्र यस्तो टिप्पणी गर्छन्‌, “आफूले दिएको अधिकार रोम सरकारले कुनै पनि बेला खोस्न सक्थ्यो र स्थानीय निकायसित कुनै सरसल्लाह नगरी आफै निर्णय गर्न सक्थ्यो। यदि कोही रोमी सरकार विरुद्ध खडा भएको शङ्‌का लागेमा रोमी सरकार आफैले फैसला सुनाउँथ्यो।” यसको एउटा उदाहरण सेनापति क्लौडियस लायसिअसको निगरानीमा भएको मुद्दालाई लिन सक्छौं। तिनले प्रेषित पावललाई हिरासतमा लिए, जो रोमी नागरिक थिए।—प्रेषि. २३:२६-३०.