सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  अक्टोबर २०१६

 जीवनी

असल उदाहरणहरू अनुकरण गर्ने प्रयास गर्दै

असल उदाहरणहरू अनुकरण गर्ने प्रयास गर्दै

“अहिले म कति वर्ष पुगें, तपाईंलाई थाह छ?” मैले सोधें। इजाक मराले यस्तो जवाफ दिनुभयो: “हो, मलाई राम्ररी थाह छ।” उहाँले प्याटर्सन, न्यु योर्कबाट मलाई कोलोराडोमा फोन गर्नुभएको थियो। त्यो फोन आउनुको कारण के थियो, म बताउँछु।

मेरो जन्म अमेरिकाको क्यान्सस राज्यको विचिता सहरमा सन्‌ १९३६, डिसेम्बर १० मा भएको थियो। चार छोराछोरीमध्ये म जेठो थिएँ। मेरो बुबा विलियम र आमा जीन यहोवाका वफादार उपासक हुनुहुन्थ्यो। बुबा मण्डली सेवक हुनुहुन्थ्यो। मण्डलीमा नेतृत्व लिने व्यक्ति त्यतिबेला त्यही नामले चिनिन्थ्यो। मेरी आमाले हजुरआमा एम्मा वाग्नरबाट बाइबलका सत्य कुराहरू सिक्नुभएको थियो। हजुरआमाले थुप्रैलाई बाइबलको सत्य सिकाउनुभयो। तीमध्ये गट्‌रूड स्टिल पनि थिए, जसले धेरै वर्षसम्म पोर्टो रिकोमा मिसनरी सेवा गरिन्‌। * मैले अनुकरण गर्न सक्ने थुप्रै असल उदाहरणहरू थिए।

असल उदाहरणहरू सम्झँदै

सडकको कुनामा उभिएर बुबा बटुवाहरूलाई पत्रिकाहरू दिंदै

म पाँच वर्ष हुँदाको कुरा हो। एक चोटि शनिबारको दिन साँझमा म बटुवाहरूलाई बुबासँगै प्रहरीधरहरा र कन्सोलेसन (अहिले ब्यूँझनुहोस्! भनिन्छ) पत्रिकाहरू दिंदै थिएँ। त्यतिबेला अमेरिका दोस्रो विश्वयुद्धमा पूरै मुछिएको थियो। यस युद्धमा बुबाले तटस्थ अडान लिनुभएको थियो। यो कुरा थाह पाएका एक जना डाक्टर रक्सीले बेस्सरी मात्तिएर त्यहाँ आइपुग्यो अनि बुबालाई तथानाम गाली गर्न थाल्यो। उसले बुबालाई डरछेरुवा अनि सेनामा भर्ती हुन नमान्ने भगुवा भनेर गाली गर्न थाल्यो। बुबाको अगाडि ठिङ्‌ग उभिएर उसले बुबालाई भन्यो, “आँट छ भने मलाई हिर्का, तँ डरछेरुवा!” यो देखेर मलाई डर लाग्यो तर बुबाको साहस देखेर छक्क परें। त्यतिन्जेल त्यहाँ भीड जम्मा भइसकेको थियो। त्यहाँ जे भइरहेको थियो, त्यसलाई वास्तै नगरी बुबाले मानिसहरूलाई पत्रिकाहरू दिइरहनुभयो। त्यही बाटो हुँदै एक जना सिपाही पनि गइरहेका थिए। अनि त्यो मात्तिएको डाक्टरले सिपाहीलाई भन्यो: “त्यो नामर्दलाई ठीक पार्‌!” त्यो मानिस मात्तिएको कुरा थाह भएको हुँदा सिपाहीले उल्टै उसलाई भने: “तिमी खुरुक्क घर गएर सुत!” त्यसपछि तिनीहरू दुवै जना आ-आफ्नो बाटो लागे। यहोवाले मेरो बुबालाई त्यत्रो साहस दिनुभएकोमा अहिले पनि मेरो मन गद्‌गद हुन्छ। विचिता सहरमा बुबाको कपाल काट्‌ने दुई वटा पसल थियो अनि त्यो डाक्टर पनि उहाँकै पसलमा आउने गर्थ्यो।

सन्‌ १९४० को दशकमा आमाबाबुसित विचिताको अधिवेशन जाँदै

म आठ वर्षको हुँदा आमाबाबुले हाम्रो घर र पसलहरू बेच्नुभयो। त्यसपछि उहाँहरूले सजिलै यताउता लान मिल्ने गाडीजस्तै  घर बनाउनुभयो। अनि हामी प्रचारकहरूको आवश्यकता धेरै भएको कोलोराडो राज्यमा बसाइँ सऱ्यौं। हामी ग्राण्ड जङ्‌क्सननजिकै बस्यौं। त्यहाँ आमाबाबुले अग्रगामी सेवा गर्नुभयो अनि खेतीपाती गर्ने र गाईवस्तु पाल्ने पार्ट-टाइम काम पनि गर्नुभयो। यहोवाको आशिष्‌ अनि आमाबाबुको जोसिलो सेवाले गर्दा त्यो इलाकामा एउटा मण्डली स्थापना भयो। त्यसै ठाउँमा पहाडबाट बगेको एउटा खोलामा बुबाले सन्‌ १९४८, जून २० मा मेरो बप्तिस्मा गराउनुभयो। बाइबल सत्य स्वीकारेका अरूले पनि त्यतिबेला मसँगै बप्तिस्मा गरे। तीमध्ये बिली निकोल्स् र उनकी पत्नी पनि थिए। पछि तिनीहरू र तिनीहरूका छोरा-बुहारीले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरे।

परमेश्वरको राज्यसम्बन्धी गतिविधिमा पूर्णतया व्यस्त रहेका थुप्रैसित हाम्रो घनिष्ठ सम्बन्ध थियो अनि तिनीहरूसित उत्थानदायी आध्यात्मिक कुराकानी भइरहन्थ्यो। ती व्यक्तिहरूमध्ये हामीले स्टिल परिवारका डन र अर्लिन, डेभ र जुलिया, साइ र मार्थासित धेरै सङ्‌गत गऱ्यौं। उहाँहरूले मेरो जीवनमा निकै ठूलो प्रभाव पार्नुभयो। परमेश्वरको राज्यलाई पहिलो स्थान दिंदा जीवन अर्थपूर्ण र आनन्ददायी हुन्छ भनेर मैले उहाँहरूको उदाहरणबाट सिकें।

फेरि बसाइँ सर्दै

म १९ वर्षको हुँदा बड हेस्टीले मलाई ऊसँगै अमेरिकाको दक्षिणी भागमा अग्रगामी सेवा गर्ने निम्तो दिए। बडको परिवार र हाम्रो परिवार एकदम मिल्थ्यौं। क्षेत्रीय निरीक्षकले म र बडलाई लुइजियानाको रस्टनमा बसाइँ सर्ने सल्लाह दिनुभयो किनभने त्यस इलाकामा थुप्रै साक्षीहरू निष्क्रिय भएका थिए। मानिसहरू सभामा आऊन्‌ या नआऊन्‌ हामीलाई हरेक हप्ता सबै सभा सञ्चालन गर्न भनिएको थियो। हामीले सभा गर्नको लागि एउटा उपयुक्त ठाउँ भेट्टायौं र आवश्यक तयारी गऱ्यौं। हामीले सबै सभा सञ्चालन गऱ्यौं तर केही समयसम्म भने सभामा हामी दुई जना मात्र हुन्थ्यौं। हामी पालैपालो सभाको कार्यक्रम प्रस्तुत गर्थ्यौं अनि एउटाले प्रस्तुत गर्दा अर्कोले सबै जवाफ दिन्थ्यौं। यदि कुनै भागमा प्रदर्शन देखाउनुपर्ने भयो भने हामी दुवै जना मञ्चमा जान्थ्यौं। अनि सुन्ने व्यक्ति त कोही पनि हुँदैनथ्यो! बल्ल-बल्ल एक जना पाको उमेरकी साक्षी दिदी सभामा आउन थाल्नुभयो। समय बित्दै जाँदा, पहिला निष्क्रिय भएका केही बाइबल विद्यार्थीहरू सभामा आउन थाले। त्यसपछि त जोसिलो मण्डली बन्न धेरै समय लागेन।

एक दिन बड र मैले चर्च अफ क्राइस्टको एक जना पास्टर भेट्‌यौं। तिनले हामीलाई बाइबलका विभिन्न पदहरू देखाएर कुरा गरे तर ती पदहरूबारे मलाई थाहै थिएन। यो घटनाले गर्दा म झसङ्‌ग भएँ र आफूले विश्वास गरेका कुराहरूबारे अझै गहिरिएर सोच्न थालें। एक हप्तासम्म म रातभरि जाग्राम बसेर तिनले सोधेका प्रश्नहरूको जवाफ खोजें। यसरी खोजतलास गर्दा बाइबलका गहिरा कुराहरू राम्ररी बुझें र यसरी पत्ता लगाएका कुराहरूले मेरो चित्त बुझ्यो। त्यसपछि त मलाई अर्को पास्टरलाई भेटेर यी सबै कुरा कहिले बताऊँ जस्तो लाग्यो!

यो घटना भएको धेरै समय नबित्दै क्षेत्रीय निरीक्षकले हामीलाई आर्कान्सा राज्यको एल डोराडोको मण्डलीलाई सघाउन त्यहाँ बसाइँ  सर्न भन्नुभयो। त्यहाँ बस्दा सैन्य भर्ती इकाइसामु हाजिर हुन पटक-पटक कोलोराडो गइरहनुपर्थ्यो। त्यही कामको लागि म एक चोटि अरू अग्रगामी साथीहरूसित मेरो गाडीमा यात्रा गर्दै थिएँ। त्यतिबेला टेक्ससमा हाम्रो दुर्घटना भयो र मेरो गाडी कामै नलाग्ने गरी बिग्रियो। हामीले एक जना भाइलाई बोलायौं। उहाँले हामीलाई आफ्नो घरमा र पछि मण्डलीको सभामा लैजानुभयो। त्यस सभामा हाम्रो दुर्घटनाबारे घोषणा गरियो। त्यसपछि भाइहरूले हामीप्रति दया देखाउँदै आर्थिक सहयोग गरे। एक जना भाइले मेरो गाडी २५ डलरमा बेचिदिनुभयो।

हाम्रो परिवारको एक जना घनिष्ठ मित्र, इ. एफ. म्याकार्ट्‌नी विचितामा अग्रगामी सेवा गर्दै हुनुहुन्थ्यो। त्यस दुर्घटनापछि हामी जसोतसो विचितासम्म यात्रा गर्न सक्यौं। म्याकार्ट्‌नीका दुई जना जुम्ल्याहा छोराहरू, फ्रांक र फ्रान्सिस मेरा मिल्ने साथीहरू थिए र अहिलेसम्म पनि हो। उनीहरूको एउटा पुरानो गाडी थियो। उनीहरूले मलाई त्यो गाडी २५ डलरमा बेचे। कस्तो अचम्म! मसित जम्मा २५ डलर मात्रै थियो। परमेश्वरको राज्यलाई पहिलो स्थान दिंदा यहोवाले मेरो आवश्यकता पूरा गर्नुभएको मैले पहिलो चोटि अनुभव गरें। त्यही समयमा म्याकार्ट्‌नी परिवारले बेथेल क्रेन नाम गरेकी बहिनीसित मेरो चिनापर्ची गराइदिनुभयो, जो यहोवाको सेवालाई पहिलो स्थान दिन्थिन्‌। उनकी आमा रूथ जोसिलो साक्षी हुनुहुन्थ्यो। उहाँले ९० वर्ष पुगुन्जेलसम्म पनि क्यान्ससको वेलिङ्‌टनमा अग्रगामी सेवा गरिरहनुभयो। यसरी भेटेको एक वर्ष पनि नबित्दै १९५८ मा मैले बेथेलसित विवाह गरें। त्यसपछि एल डोराडोमा सँगै अग्रगामी सेवा गऱ्यौं।

विशेष सुअवसरहरू

हुर्कंदै जाँदा हाम्रो सामु भएका असल उदाहरणहरूलाई सम्झँदै हामीले यहोवाको सङ्‌गठनले दिने जुनसुकै काम स्वीकार्ने निर्णय गऱ्यौं। हामीलाई आर्कान्साको वल्नट रिजमा विशेष अग्रगामीको रूपमा सेवा गर्न खटाइयो। त्यसपछि १९६२ मा हामीले ३७ औं गिलियड कक्षामा उपस्थित हुने निम्तो पाउँदा हामी असाध्यै खुसी भयौं। खुसीको कुरा, डन स्टिल पनि त्यही कक्षामा थियो। गिलियडबाट स्नातक भएपछि हामीलाई केन्याको नैरोबी खटाइयो। न्यु योर्क छोड्‌दा मुटुमाथि ढुङ्‌गा राख्नुपरेझैं साह्रै गाह्रो भयो। तर नैरोबीको एयरपोर्टमा हाम्रा दाजुभाइ दिदीबहिनीलाई भेट्‌दा त्यो बिछोडको पीडा हर्षमा बदलियो!

मेरी र क्रीस कानियासित नैरोबीमा प्रचारकार्यमा भाग लिंदै

केन्या पुगेपछि हामीलाई त्यहाँको बसाइ अनि प्रचारकार्यमा घुलमिल हुन धेरै समय लागेन अनि एकदमै रमाउन थाल्यौं। हाम्रा बाइबल विद्यार्थीहरूमध्ये राम्रो प्रगति गरेको पहिलो दम्पती क्रीस र मेरी कानिया थिए। तिनीहरू अझै पनि वफादार भई केन्यामा पूर्ण-समय सेवा गरिरहेका छन्‌। केन्या पुगेपछिको दोस्रो वर्ष हामीलाई युगाण्डाको काम्पालामा पहिलो मिसनरीको रूपमा सेवा गर्न भनियो। त्यहाँ पनि असाध्यै रमाइलो थियो किनभने बाइबल अध्ययन गर्न चाहने व्यक्तिहरू थुप्रै थिए। पछि गएर तिनीहरू यहोवाका साक्षी बने। तर अफ्रिकामा साढे तीन वर्ष बिताइसकेपछि बच्चा हुर्काउन हामी अमेरिका फर्क्यौं। न्यु योर्क छोडेको दिनभन्दा अफ्रिका छोडेको दिन हामीलाई झनै गाह्रो भयो। यसपालि पनि आफ्नो मुटु दह्रो बनाएर फर्कियौं। अफ्रिकाका मानिसहरूसित हाम्रो माया बसिसकेको थियो अनि फेरि कुनै दिन अफ्रिका फर्कने आशामा त्यहाँबाट बिदा भयौं।

नयाँ जिम्मेवारी

कोलोराडोको पश्‍चिमी पहाडी इलाकामा मेरो आमाबाबु बस्नुहुन्थ्यो। हामी पनि त्यही इलाकामा बस्न थाल्यौं। केही समयपछि हाम्री जेठी छोरी किम्बर्ली जन्मिइन्‌। त्यसको १७ महिनापछि कान्छी छोरी स्टेफानी जन्मिइन्‌। हामीले आमाबाबुको यो नयाँ जिम्मेवारीलाई असाध्यै गम्भीरतापूर्वक लियौं। अनि हाम्रा छोरीहरूको मनमा बाइबल सत्य ठप्प बसाल्न लागिपऱ्यौं। हामीले जे-जस्ता असल उदाहरणहरू अनुकरण गर्ने मौका पाएका थियौं, छोरीहरूको लागि आफूले पनि त्यस्तै राम्रो उदाहरण बसाल्न चाहन्थ्यौं। छोराछोरीलाई राम्ररी हुर्काउन आमाबाबुको राम्रो उदाहरण अत्यावश्यक छ तर त्यसो भन्दैमा उनीहरू ठूलो भएपछि यहोवाको सेवा गर्नेछन्‌ भन्ने कुनै ग्यारेन्टी छैन भनेर सोच्दा आङ सिरिङ्‌ङ हुन्थ्यो। किनभने  मेरो भाइ र बहिनीले सत्यको बाटो त्यागे। आशा छ, कुनै दिन तिनीहरू फर्कनेछन्‌ र तिनीहरूसामु भएका असल उदाहरणहरूको फेरि अनुकरण गर्न थाल्नेछन्‌।

छोरीहरूको लालनपालन गर्दा असाध्यै रमाइलो भयो र हामीले परिवार मिलेर कामकुरा गर्ने प्रयास गऱ्यौं। हामी कोलोराडोको आस्पेननजिकै बस्थ्यौं। आस्पेन स्की (हिउँमा खेलिने एक प्रकारको खेल) खेल्नको लागि प्रख्यात ठाउँ भएकोले हामी सबैले स्की खेल्न सिक्यौं। यसो गर्दा कहिलेकाहीं सँगै स्की खेल्न सक्थ्यौं। स्की खेल्न केबुलकार चढेर माथि टुप्पोसम्म पुगुन्जेल पनि छोरीहरूसित कुराकानी गर्ने समय पाउँज्थ्यौं। हामी छोरीहरूलाई लिएर वनभोज जान्थ्यौं अनि राती आगो बालेर वरिपरि बस्दा रमाइलो गफगाफ गर्थ्यौं। सानै भए पनि उनीहरू हामीलाई यस्ता प्रश्नहरू सोध्थे: “म ठूली भएपछि के गर्ने?” अनि “मैले कस्तो केटासित बिहे गर्ने?” हामीले छोरीहरूको मन-मस्तिष्कमा परमेश्वरको कुरा ठप्प बसाल्न प्रयास गऱ्यौं। तिनीहरूसित पूर्ण-समय सेवा गर्ने लक्ष्यबारे सधैं कुरा गर्थ्यौं अनि त्यस्तै लक्ष्य भएको केटासित मात्र विवाह गर्नु बुद्धिमानी हो भनेर सम्झाइरहन्थ्यौं। सानै छँदा विवाह गर्नु राम्रो होइन भनेर बुझाउन पनि कोसिस गऱ्यौं। त्यसैले हामी यसो भन्ने गर्थ्यौं, “२३ वर्ष पुगेपछि मात्र बिहे गर्नू!”

हाम्रा आमाबाबुले सपरिवार मिलेर सभा जान अनि प्रचारकार्यमा नियमित भाग लिन निकै प्रयास गर्नुभएको थियो। हामीले पनि छोरीहरूसित त्यसै गर्ने प्रयास गऱ्यौं। पूर्ण-समय सेवा गरिरहेका दाजुभाइ दिदीबहिनीलाई हाम्रो घरमा बस्ने प्रबन्ध पनि मिलाउँज्थ्यौं। अनि आफूले गरेको मिसनरी सेवाबारे सधैं राम्रा-राम्रा कुराहरू छोरीहरूलाई सुनाउँज्थ्यौं। अनि कुनै दिन चारै जना अफ्रिका जान पाए कत्ति रमाइलो हुन्थ्यो भन्ने गर्थ्यौं। हाम्री छोरीहरू पनि साँच्चै जान चाहन्थे।

हामी सधैं नियमित रूपमा पारिवारिक अध्ययन गर्थ्यौं। अनि स्कुलमा आइपर्न सक्ने परिस्थितिबारे अध्ययनको बेला अभिनय पनि गर्थ्यौं। हामीले छोरीहरूलाई साक्षीको भूमिका गर्न र प्रश्नहरूको जवाफ दिन लगाउँज्थ्यौं। यसरी सिक्दा उनीहरू रमाउँथे अनि उनीहरूको आत्म-विश्वास पनि बढ्‌थ्यो। हुर्कंदै जाँदा उनीहरूले कहिलेकाहीं पारिवारिक अध्ययन गर्नु परेकोमा गनगन गर्थे। उनीहरूको गनगन सुनेर एक चोटि मलाई पनि वाक्कै लाग्यो र मैले उनीहरूलाई ‘त्यसोभए आ-आफ्नो कोठामा गए हुन्छ, हामी अध्ययन गर्नेछैनौं’ भनिदिएँ। यो सुनेर छोरीहरू वाल्ल परे अनि रूँदै ‘हामी अध्ययन गर्न चाहन्छौं’ भन्न थाले। तब हामीलाई पक्का भयो, सानै भए तापनि हामीले उनीहरूको मनमा आध्यात्मिक कुराप्रति कृतज्ञता बढाइरहेका रहेछौं। उनीहरू बाइबल अध्ययन गर्न रमाउन थाले अनि उनीहरूलाई आफ्नो विचार नलुकाई स्पष्टसित व्यक्त गर्ने मौका दिन्थ्यौं। हुन त कहिलेकाहीं उनीहरूले बाइबलका कुनै-कुनै कुरा चित्त नबुझेको बताउँदा हामीलाई दुःख लाग्थ्यो। तर हामीले उनीहरूको मनको कुरा बुझ्न सक्यौं। त्यस विषयमा यहोवाको सोचाइ कस्तो छ भनी राम्ररी कुराकानी गरेपछि भने उनीहरूलाई चित्त बुझ्थ्यो।

परिवर्तनहरू हुँदा छाँटकाँट गर्दै

छोरीहरूलाई हुर्काउने काम हामीले सोचेभन्दा छिटो बित्यो। परमेश्वरको सङ्‌गठनको डोऱ्याइ र मदत लिंदै हामीले छोरीहरूलाई यहोवालाई प्रेम गर्न सिकाउन सक्दो प्रयास गऱ्यौं। हाम्रा दुवै छोरीले स्कुलको पढाइपछि अग्रगामी सेवा गर्न थाल्दा हामी असाध्यै खुसी भयौं। उनीहरूले आफ्नो खर्च बेहोर्न चाहिने सीपहरू पनि सिके। उनीहरू अरू दुई जना साक्षी केटीहरूसित टेनिसीको क्लिभल्याण्ड सरे। हामीलाई साह्रै न्यास्रो लाग्यो तर उनीहरू पूर्ण-समय सेवामा लागेकोले खुसी थियौं। त्यसपछि बेथेल र मैले फेरि अग्रगामी सेवा सुरु गऱ्यौं अनि हाम्रो लागि थप सुअवसरका ढोकाहरू खुले। हामीले कार्यवाहक क्षेत्रीय निरीक्षकको रूपमा र अधिवेशनसम्बन्धी काम पनि गऱ्यौं।

टेनिसी सर्नुअघि हाम्रा छोरीहरू लन्डन सहर र त्यहाँको शाखा कार्यालय घुम्न गएका थिए। त्यहाँ जाँदा १९ वर्ष पुगेकी हाम्री छोरी स्टेफानीले लन्डन बेथेलमा सेवा गर्ने जवान केटो पल नर्टनलाई भेटिन्‌। पछि अर्को यात्रामा किम्बर्लीले पलको साथी ब्रायन लुवेलिनलाई भेटिन्‌। पछि पल र स्टेफानीले विवाह गरे, तर स्टेफानी २३ पुगेपछि मात्र! अर्को साल ब्रायन र किम्बर्लीले विवाह गरे—त्यतिबेला किम्बर्ली २५ वर्ष पुगेकी थिइन्‌। त्यसैले २३ वर्ष पुगेपछि मात्र बिहे गर्नू भन्ने सल्लाह दुवैले माने। उनीहरूले विवाह गर्न रोजेका केटाहरूलाई हामीले खुसीसाथ स्वीकाऱ्यौं।

सन्‌ २००२ मा मलावी शाखा कार्यालयमा पल, स्टेफानी, किम्बर्ली र ब्रायनसित

‘राज्यलाई पहिलो स्थान दिइरहो’ भन्ने येशूको सल्लाह पालन गर्न हामी र हाम्रा आमाबाबुले बसालेको उदाहरण हाम्रा छोरीहरूले देखेका थिए। (मत्ती ६:३३) त्यसैले आर्थिक सङ्‌कट आइपर्दासमेत उनीहरूले राज्यलाई पहिलो स्थान दिन सके भनेर हामीलाई बेलाबेलामा सुनाउने गर्छन्‌। अप्रिल १९९८ मा पल र स्टेफानीले १०५ औं गिलियड कक्षामा उपस्थित हुने मौका पाए। त्यसपछि उनीहरूलाई अफ्रिकाको मलावीमा खटाइयो। त्यही समयताका ब्रायन र किम्बर्लीलाई लन्डन बेथेलमा काम गर्न बोलाइयो। पछि उनीहरू पनि मलावी बेथेलमा सरुवा भए। हामी असाध्यै खुसी भयौं किनभने युवायुवतीहरूले जीवन बिताउने यो भन्दा सर्वोत्तम तरिका अरू छैन।

 अर्को विशेष निम्तो

मैले सुरुमा बताएको घटना जनवरी २००१ को कुरा हो। त्यतिबेला अनुवाद सेवा विभागका निरीक्षक भाइ मराले मलाई फोन गर्नुभएको थियो। उहाँले संसारभरिका अनुवादकहरूलाई अङ्‌ग्रेजी भाषासम्बन्धी तालिम दिनको लागि आयोजना गरिएको कोर्सबारे बताउनुभयो। म ६४ वर्ष पुगिसकेको भए पनि मलाई शिक्षकको रूपमा तालिम लिन बोलाइयो। बेथेल र मैले यसबारे कुरा गऱ्यौं। हाम्रा आमाहरूको उमेर निकै ढल्किसकेको थियो, त्यसैले उहाँहरूसित पनि सल्लाह गऱ्यौं। हामी नहुँदा गाह्रो हुने भए तापनि हामीले त्यो निम्तो स्वीकारेको उहाँहरू चाहनुहुन्थ्यो। त्यसपछि मैले भाइ मरालाई फोन गरेर यो विशेष निम्तो स्वीकार्न हामी तयार भएको कुरा बतायौं।

पछि मेरी आमालाई क्यान्सर रोग लागेको पत्ता लाग्यो। त्यसैले उहाँको स्याहार गर्न र मेरी बहिनी लिन्डालाई सघाउन हामी बस्नेछौं भनेर आमालाई बताएँ। तर आमाले यसो भन्नुभयो, “हुँदैन, तिमीहरू गएनौ भने मलाई झनै नमिठो लाग्नेछ।” लिन्डाले पनि त्यस्तै महसुस गरिन्‌। उहाँहरू र अरू साथीहरूले देखाएको आत्मत्यागी मनोभाव र सहयोग हामी कहिल्यै बिर्सन सक्दैनौं! प्याटर्सनमा रहेको वाचटावर शैक्षिक केन्द्र जान घरबाट हिंडेको भोलिपल्ट लिन्डाले आमाको मृत्यु भएको खबर गरिन्‌। आमाले चाहनुभएअनुसारै यो नयाँ जिम्मेवारी पूरा गर्न हामी तनमनले लाग्यौं।

तालिम लिएपछि हामीलाई सुरुमा मलावी शाखा कार्यालय खटाइयो। यो सुन्दा हामी असाध्यै खुसी भयौं! किनभने हाम्रा छोरी-ज्वाइँहरू त्यहाँ सेवा गर्दै थिए। कस्तो सुखद पुनर्मिलन! त्यसपछि हामीले जिम्बावे र जाम्बियामा अङ्‌ग्रेजी भाषासम्बन्धी तालिम दियौं। साढे तीन वर्षसम्म यो कोर्स पढाइसकेपछि हामीलाई मलावी फर्कन भनियो। ख्रीष्टियन तटस्थता कायम गरेकोमा खेदो भोगेका साक्षीहरूको अनुभव सङ्‌कलन गरेर रिपोर्ट तयार पार्न हामीलाई फेरि मलावी बोलाइयो। *

नातिनीहरूसित प्रचारकार्यमा भाग लिंदै

फेरि एक चोटि मुटुमाथि ढुङ्‌गा राखेर हामी सन्‌ २००५ मा कोलोराडोको बासाल्ट फर्क्यौं। अहिले पनि हामी यहीं अग्रगामी सेवा गर्दै छौं। सन्‌ २००६ मा ब्रायन र किम्बर्ली आफ्ना दुइटी छोरीहरू म्याकेन्जी र एलिजाबेथलाई हुर्काउन हाम्रो घरनजिकै बस्न आए। पल र स्टेफानी अझै मलावीमा सेवा गर्दै छन्‌। पल मलावीको शाखा समितिका सदस्य हुन्‌। अहिले म ८० वर्ष पुग्नै लागें। मैले सँभालेका जिम्मेवारीहरू पहिला मसँगै काम गरेका जवान भाइहरूले सँभालिरहेको देख्दा मलाई औधी खुसी लाग्छ। हुर्कंदै गर्दा हामीले राम्रा उदाहरणहरू अनुकरण गर्न पायौं। अनि हामीले पनि आफ्ना छोरीहरू र नातिनीहरूका लागि राम्रो उदाहरण बन्ने प्रयास गऱ्यौं। हाम्रो आनन्दको मुख्य कारण यही हो!

^ अनु. 5 स्टिल परिवारका सदस्यहरूको मिसनरी सेवाबारे अझ धेरै कुरा थाह पाउन प्रहरीधरहरा (अङ्‌ग्रेजी) मे १, १९५६, पृष्ठ २६९-२७२ र मार्च १५, १९७१, पृष्ठ १८६-१९० हेर्नुहोस्।

^ अनु. 30 उदाहरणको लागि, अप्रिल १५, २०१५, प्रहरीधरहरा पृष्ठ १४-१८ मा त्रोफिम सोम्बाको जीवनी हेर्नुहोस्।